एमाले आज

अध्यक्ष ओली भोेटेकोशी र त्रिशुलीको विनाशकारी बाढीले पुर्याएको क्षतिको स्थलगत जानकारी लिन नुवाकोट प्रस्थान 

सेयर गर्नुहोस्

१९ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत निरीक्षण गरी जानकारी लिन आज नुवाकोट प्रस्थान गर्नुभयो । 
नुवाकोट र रसुवाका बाढी पीडितहरुका लागि तत्कालका लागि अत्यावश्यक खाद्यान्नसहितको राहत प्याकेट नुवाकोट र रसुवाका पार्टी नेताहरुलाई हस्तान्तरण गरी अध्यक्ष ओली पार्टीको केन्द्रीय कार्यालय, च्यासलबाट नुवाकोट प्रस्थान गर्नुभएको हो । 
अध्यक्ष ओलीका साथमा उहाँकी श्रीमती राधिका शाक्य, नेकपा (एमाले) का सचिव एवं बाढी पीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’का संयोजक महेश बस्नेत, पार्टीका नेता प्रदीप ज्ञवाली, नुवाकोटमा संयोजक तोकिनुभएका जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ लगायत नेताकार्यकर्ता हुनुहुन्छ । 
नुवाकोट प्रस्थान गर्नुअघि पार्टीको केन्द्रीय कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले आफ्नै  सामर्थ्यमा राहत सङ्कलन गरी पीडितहरुलाई वितरण गरिरहेको बताउनुभयो । 
पार्टीले रु. १ करोड २० लाखको कोष खडा गर्ने घोषणा गरेको र उक्त रकम सरकारको कोषमा प्रदान गर्ने विषयमा उठाइएका जिज्ञाशाबारे प्रस्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो– अहिले सरकारको कोषमा राहत चाहिएको होइन, राहत पीडितलाई चाहिएको हो, हामी अहिले पीडितकहाँ राहत पुर्याउँछौं, उद्धार तथा राहतको काम सकिएपछि पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा अवस्था हेरेर निर्णय गर्नेछौं ।  
अध्यक्ष ओलीले भोटेकोशीमा आएको बाढी जलवायु परिवर्तनको परिणाम भएको बताउँदै सरकारले अविलम्ब अर्थपूर्ण अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह गर्नुपर्ने धारणा राख्नुभयो । 
उहाँले भन्नुभयो– यो जलवायु परिवर्तनको परिणाम हो । सरकारले संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय साझा मञ्चमा क्षतिपूर्तिको कुरा गर्नुपर्छ । 
अध्यक्ष ओलीले नेपालले वातावरणीय विषयमा अविलम्ब सगरमाथा सम्वादको आयोजना गर्नुपर्ने र विश्व समुदायलाई हिमाल र समुद्र वातावरण र इकोसिष्टमका स्रोतहरु हुन् भन्ने मनन गराई हिमाल बचाउन सहमत गराउनुपर्ने बताउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 
वातावरणीय क्षति गराउने विकसित तथा उच्च कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– हामीले वातावरण बिगारेका छैनौं, तर क्षति हामीले बेहोर्नुपरेको छ । त्यसैले वातावरणीय सङ्कट सिर्जना गर्न भूमिका खेल्ने देशहरूले यसको जिम्मेवारी लिनुपर्छ ।
भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको बढ्दो जोखिमको गम्भीर सङ्केतका रूपमा व्याख्या गर्दै यस्ता विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, जलवायु न्याय र आर्थिक सहयोग अपरिहार्य रहेको धारणा उहाँले व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’ को गठन, यसको खर्च र स्रोतका बारेमा प्रश्न गर्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । ग्रीन आर्मीलाई नेपाली सेनाले तालिम दिएको भन्ने समाचार र भनाइ आइरहेको सन्दर्भमा उहाँले नेपाली नागरिकको विश्वासको केन्द्रका रुपमा रहेको नेपाली सेना स्वच्छ रहनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–नेपाली सेना राजनीतिमा मुछिने र मुछ्ने कुरा राम्रो होइन । 
कार्यक्रममा पार्टीका सचिव तथा ‘बाढी पीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’का संयोजक महेश बस्नेतले राहत र उद्धारमा पार्टीका स्वयंसेवकको परिचालनका बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार, रसुवा, नुवाकोट र धादिङमा पार्टीका ५०० सय कार्यकर्ता परिचालित छन् । उनीहरुले ४० भन्दा बढी घर सफाई गरेका छन् । यस क्रममा नुवाकोटमा साढे तीनलाख रुपियाँ फेला पारेर पीडितलाई हस्तान्तरण गरेका छन् ।
नेकपा (एमाले)ले आज नुवाकोट र रसुवाका लागि ४०० प्याकेट राहत सामग्री पठाएको छ । त्यसमध्ये दुई सय रसुवा र दुईसय नुवाकोटका लागि भएको उहाँले बताउनुभयो । बाढी पीडितहरुको पुनर्स्थापनाको काम शुरु हुँदा पार्टीले स्थापना गरेको कोषको रकम सहयोग गरिने सचिव बस्नेतले स्पष्ट गर्नुभयो । 


 

 

हामीसँग जोडिनुहोस्