२२ भदौ २०८३),काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि नेकपा (एमाले)का विभिन्न जनसंगठन तथा स्वयंसेवकहरू उद्धार, राहत र पुनःस्थापनाको काममा शुरुकै दिनदेखि सक्रिय छन् ।
आइतबार धादिङमा अखिल नेपाल महिला संघ (अनेमसंघ) बाग्मती प्रदेश कमिटीले बाढी प्रभावित धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदी बजारको सरसफाइमा श्रमदान गरेको छ । अनेमसंघले गलौदी बजारका बाढी प्रभावित सात निजी घरमा सरसफाइ गरेको हो ।
बाढीबाट प्रभावित परिवारको घर तथा आसपासको क्षेत्रमा जमेको फोहोर हटाउने र सरसफाइ गर्ने कार्यमा अनेमसंघका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।
श्रमदान कार्यक्रमको नेतृत्व अनेमसंघ केन्द्रीय सचिव तथा बाग्मती इन्चार्ज शारदा कुमालले गर्नुभएको थियो । कार्यक्रमको संयोजन अनेमसंघ बाग्मती प्रदेश अध्यक्ष सुमित्रा काफ्ले र व्यवस्थापन जिल्ला संयोजक अम्बिका रुपाखेतीले गर्नुभएको थियो ।
सरसफाइ अभियानमा अनेमसंघ केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका गरी ७३ जना नेताकार्यकर्ताको सहभागिता रहेको थियो । चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक लगायत जिल्लाबाट समेत नेताकार्यकर्ता धादिङ पुगेर श्रमदानमा सहभागी भएका थिए ।
बाढीपीडितको दुःखमा साथ दिन टाढाटाढाबाट समेत स्वयंसेवकहरू उपस्थित भएको भन्दै नेकपा (एमाले) बाग्मती प्रदेश उपसचिव तथा बाढीपीडित राहत तथा उद्धार सहयोग समिति धादिङ र चितवनका संयोजनकर्ता रमेश आचार्यले सहभागी स्वयंसेवकप्रति आभार व्यक्त गर्नुभएको छ ।
विपद्का बेला प्रभावित नागरिकको घर आँगनमै पुगेर गरिएको श्रमदानले पीडित परिवारलाई राहत पुग्नुका साथै सहयोगको भावना थप बलियो बनाउने आचार्यको भनाई छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका सयौँ परिवार विस्थापित भएका छन् भने ठूलो सङ्ख्यामा नागरिक अझै बेपत्ता छन् । बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकको शव फेला पर्ने क्रम जारी रहेको छ । विपद्का कारण व्यक्तिका घर तथा आवास, सरकारी तथा सार्वजनिक भवन, सडक, पुल, विद्युत संरचना र जलविद्युत आयोजनासमेतमा ठूलो क्षति पुगेको छ । कतिपय बस्ती तथा महत्वपूर्ण पूर्वाधार बाढीले बगाउँदा स्थानीयको जनजीवन थप प्रभावित भएको छ ।
विपद्को यस्तो कठिन अवस्थामा एमालेले आफ्ना स्थानीय कमिटी, जनसंगठन तथा स्वयंसेवकलाई परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
तत्काल उद्धार आवश्यक भएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, जोखिममा रहेका बस्तीमा राहत सामग्री पुर्याउने तथा विस्थापित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने काममा स्वयंसेवकहरू खटिएका छन् ।
विशेषगरी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु तथा आदिवासी जनजाति महासंघले रसुवा जिल्लामा स्वयंसेवक परिचालन गरी उद्धार तथा राहतका काम गरिरहेका छन् । रसुवामा विनोद श्रेष्ठको संयोजनमा स्वयंसेवक परिचालन गरिएको छ ।
त्यस्तै, नुवाकोटमा भोलेन्टियर्स फोर्स र खेलकुद महासंघ परिचालन भएका छन् । नुवाकोटमा रूपनारायण श्रेष्ठको संयोजनमा प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि सञ्चालन भइरहेको छ ।
धादिङ र चितवनमा पूर्वसैनिक तथा प्रहरी संगठन, अखिल नेपाल महिला संघ र रिटर्नी फेडेरेसनमार्फत स्वयंसेवक परिचालन गरिएको छ । धादिङ–चितवन क्षेत्रमा रमेश आचार्यको संयोजनमा स्वयंसेवकहरूले प्रभावित परिवारलाई सहयोग पुर्याउने, राहत सामग्री व्यवस्थापन गर्ने तथा पुनर्स्थापनाका लागि आवश्यक काममा सघाइरहेका छन् ।
स्वयंसेवकहरूले तत्कालीन उद्धार र राहतसँगै बाढीबाट क्षतिग्रस्त सडक, पुल, घर तथा सार्वजनिक संरचनाको अवस्था पहिचान गरी पुनर्स्थापनाका लागि आवश्यक समन्वयसमेत गरिरहेका छन् । विस्थापित नागरिकलाई सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्ने कामलाई पनि प्राथमिकता दिइएको छ । पार्टीकै तर्फबाट समेत राहत सामग्री वितरण गरिएको छ ।
बाढीले ठूलो क्षति पुर्याएका क्षेत्रहरूमा अझै पनि बेपत्ता नागरिकको खोजी, शव व्यवस्थापन, जोखिमयुक्त संरचनाबाट नागरिकको उद्धार र प्रभावित परिवारको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा राजनीतिक संगठनको सीमाभन्दा माथि उठेर मानवीय सेवामा स्वयंसेवक परिचालन गरिएको हो ।
स्वयंसेवकहरूको सक्रियताले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
