-आफ्ना प्रियजन गुमाउनुभएका शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना, उहाँहरु सबैमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस्
-बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा अतुलनीय योगदान पुर्याउनुहुने पार्टीका स्वयंसेवक, सुरक्षाकर्मी लगायत सबैप्रति धन्यवाद
-राहत, पुनर्स्थापना र पुनःनिर्माणका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बद्ध निकायहरूसँग आग्रह
२२ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको आज १३औँ पुण्यतिथि, यस दुःखद् घडीमा असामयिक निधन हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आफू र पार्टीको तर्फबाट अध्यक्ष ओलीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
‘यस अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ’, अध्यक्ष ओलीले शोक–श्रद्धाञ्जली वक्तव्यमार्फत् आफ्ना प्रियजन गुमाउनुभएका शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले यस विपत्तिको घडीमा अहोरात्र खटिएर बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा अतुलनीय योगदान पुर्याउनुहुने नेकपा (एमाले)का स्वयंसेवक साथीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत राज्यका अन्य निकायहरू एवं विभिन्न सामाजिक संघ–संस्थाहरू, प्रदेश र स्थानीय सरकार, स्थानीय जनसमुदाय र अन्तर्राष्ट्रिय समुदायप्रति बिभिन्न प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अध्यक्ष ओलीले हराईरहेका दाजुभाइ तथा दिदीबहिनीहरुको सकुशल उद्धारमा सफलता मिलोस् भनी कामना गर्नुभएको छ । साथै, बाढी र पहिरोबाट प्रभावित परिवारहरूको बाँकी राहत, पुनर्स्थापना र पुनःनिर्माणका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बद्ध निकायहरूसँग आग्रह गर्नुभएको छ ।
