२३ भदौ (२०८३), चितवन । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले अकल्पनीय रुपमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि नेकपा (एमाले)ले बाढीपीडितको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनालाई अत्यन्त महत्व दिँदै त्यस काममा शुरुकै दिनबाट निरन्तर जुटिरहेको छ ।
पार्टीका जनसंगठनहरु र स्थानीय पार्टी कमिटीलाई तत्काल घटनास्थलमा उतारेको एमालेले केन्द्रमा बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरी व्यवस्थित रुपमा कामलाई अगाडि बढाएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बाढीले क्षति पुर्याएका जिल्लाहरु नुवाकोट र धादिङको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दा, बाढी पीडित र स्थानीय जनप्रतिनिधि र पार्टी कमिटीबाट क्षतिबारे जानकारी लिनुभएको छ ।
त्यस्तै, महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय टोलीले भदौ ११ गते नै नुवाकोटको स्थलगत निरीक्षण गरी बाढी प्रभावित क्षेत्रमा गर्नुपर्ने काम र पीडितहरुका लागि पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका बारेमा प्रतिवेदन नै तयार गरेको थियो ।
सोही क्रममा सोमबार पार्टीका पार्टीका सचिव, बाढीपीडित राहत तथा उद्धार सहयोग समितिका केन्द्रीय संयोजक महेश बस्नेतको नेतृत्वमा चितवनको भरतपुर क्षेत्रमा बाढी तथा नदी कटानबाट प्रभावित भू–भागको स्थलगत निरीक्षण गरियो ।
टोलीले भरतपुरको गोब्रेनी, मजुवा सामुदायिक वन, दियालो गौडानजिक, एकादशी मेला लाग्ने क्षेत्र तथा रातो गौडा लगायत स्थानमा नदीले गरेको कटानको अवस्थाबारे स्थलगत जानकारी लिएको छ । उक्त क्षेत्रमा करिब ७५० मिटर भू–भाग नदी कटानबाट प्रभावित भएको बताइएको छ ।
स्थलगत निरीक्षणका क्रममा बाढी तथा नदी कटानबाट प्रभावित स्थानीय बासिन्दासँग क्षतिको यथार्थ अवस्थाबारे जानकारी लिइएको थियो । साथै, थप क्षति हुन नदिन तत्कालीन तथा दीर्घकालीन उपायबारे स्थानीयसँग छलफल गरिएको थियो ।
स्थलगत निरीक्षण र छलफलपछि बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै सम्भावित थप क्षति न्यूनीकरणका लागि एमालेले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने जनाइएको छ ।
यसैबीच, धादिङको विभिन्न बाढी प्रभावित क्षेत्रमा अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), रिटर्नी फेडेरेसन नेपाल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र राष्ट्रिय युवा संघ नेपालका स्वयंसेवकहरूले सरसफाइ तथा राहत वितरणका कामहरुलाई जारी राखेका छन् ।
गत भदौ १५ देखि १७ गतेसम्म अनेरास्ववियुले केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा झण्डै ८० जना कार्यकर्ता परिचालन गरी गल्छी–६, बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयका चारवटा कक्षाकोठा सरसफाइ गरेको छ ।
त्यस्तै, भदौ १७ र १८ गते जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब १०० जना, रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद भट्टराईको नेतृत्वमा २० जना तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका महासचिव मदन केसीको नेतृत्वमा १० जना स्वयंसेवक परिचालन भएको र उनीहरूले गल्छी–६, बैरेनीस्थित एक आयुर्वेदिक अस्पताल र महेश दोभानका १४ घर सरसफाइ गरेका छन् ।
यस्तै, राष्ट्रिय युवा संघ नेपालले पनि राहत तथा श्रमदानलाई निरन्तरता दिएको छ । भदौ १७ गते केन्द्रीय सदस्य एवं धादिङ इन्चार्ज सुनिल तामाङको नेतृत्वमा गल्छी–८ कोल्पु दोभानका १७ बाढीपीडित परिवार तथा गल्छी गाउँपालिकालाई १९ थान सिरक–डसना वितरण गरिएको थियो । यस्तै, भदौ १८ गते राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङको नेतृत्वमा ७० जना स्वयंसेवकले गजुरी–५ को गलीदी बजारका बाढी प्रभावित घर सरसफाइ गरेका छन् ।
विपद्को कठिन परिस्थितिमा एमालेका जनसंगठनहरूले राहत वितरणसँगै विद्यालय, स्वास्थ्य संस्था र प्रभावित नागरिकका घर सरसफाइमा प्रत्यक्ष श्रमदान गर्दै पुनर्स्थापनामा सहयोग पुर्याइरहेका छन् ।
बाढीपीडितको उद्धार तथा राहत कार्यमा धादिङका स्थानीय कमिटीहरु पनि सक्रिय रहेको नेकपा (एमाले) बाग्मती प्रदेशका उपसचिव तथा बाढी पीडित उद्धार तथा राहत सहयोग समितिका धादिङ तथा चितवन संयोजक रमेश आचार्यले जानकारी गराउनुभएको छ ।
यसक्रममा धुनिवेशी नगर कमिटीका अध्यक्ष दिनेश बाँस्कोटाको अगुवाइमा २० जना स्वयंसेवक, थाक्रे गाउँपालिका कमिटी अध्यक्ष गणेशमान वाइवाको अगुवाइमा ८१ जना स्वयंसेवक, सिद्धलेक गाउँपालिका कमिटी अध्यक्ष रामहरि बराकोटीको अगुवाइमा ५० जना स्वयंसेवक, बेनीघाट रोराङ गाउँपालिका कमिटी अध्यक्ष राजकुमार त्रिपाठीको अगुवाइमा १६ जना स्वयंसेवकले श्रमदान गरेका छन् ।
