एमाले आज

 एमालेका दुई कार्यभार र १५ प्रमुख काम

सेयर गर्नुहोस्

काठमाडौं । नेकपा (एमाले) तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीका दुई कार्यभार तत्काल पूरा गर्न १५ प्रमुख कामलाई अघि सारेको छ । ५-८ असोज,  २०८३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकद्वारा सर्वसम्मत पारित राजनीतिक प्रतिवेदनले मुख्य दुई कार्यभारका रुपमा 'संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा र आगामी निर्वाचनको तयारी'लाई अघि सारेको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत र बैठकले सर्वसम्मत रुपमा पारित प्रतिवेदनमा दुई कार्यभार र १५ वटा कामको सविस्तार व्याख्या गरिएको छ । केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीमा उन्नतस्तरको समझदारी र सुदृढ एकतासँगै दुई कार्यभार र १५ काम पूरा गर्न पार्टीको तल्लो पंक्तिसम्म ऊर्जा पैदा गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले लिखित रुपमा गर्नु भएको ८७ पृष्ठ सम्बोधन- 'पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प'को मुख्य बुँदा यहाँ प्रस्तुत गरिएको छ । सम्बोधनको खण्ड १२ र १३ को 'पार्टीको तत्कालका दुई प्रमुख कार्यभार र यी दुई कार्यभार पूरा गर्न १५ प्रमुख काम'लाई यहाँ साभार गरिएको छ ।

१२. पार्टीको तत्कालका दुई प्रमुख कार्यभार

कमरेडहरू,

अब एमालेले केवल आफूलाई बचाउने राजनीति गरेर पुग्दैन । बचाउ आवश्यक छ, तर बचाउ मात्रै राजनीति होइन । हामीमाथि आरोप लगे, हामी जवाफ दिन्छौँ । लोकतान्त्रिक संस्थाहरूमाथि प्रहार भयो, हामी प्रतिवाद गर्छौँ । सरकारका गलत कदम देखिए, हामी प्रश्न गर्छौँ । तर एमालेको कार्यभार यतिमै सीमित हुन सक्दैन । प्रतिपक्षमा रहेर हामी केवल विरोध मात्र गर्दैनौँ । सच्चिन, पार्टी पुनर्निर्माण गर्न, नयाँ भरोसा कमाउन र राष्ट्रलाई फेरि स्थिर लोकतान्त्रिक दिशामा लैजानका लागि विद्यमान अवस्थालाई अवसरका रूपमा लिन्छौँ ।

पराजएपछि दुई बाटा हुन्छन् । एउटा बाटो आत्मदया हो— हामीमाथि अन्याय भयो, हाम्रो कुरा सुनिएन, वातावरण असमान थियो भनेर बस्ने । अर्को बाटो आत्माजागरण हो— के भयो, किन भयो, कहाँ चुक्योँ, कसरी उठ्ने, जनतासँग कसरी फर्किने, भविष्य कसरी बनाउने भनेर काममा लाग्ने । एमालेले दोस्रो बाटो रोज्नुपर्छ ।

इतिहासमा टिक्ने पार्टी त्यो होइन, जसले कहिल्यै हार्दैन ।

इतिहासमा टिक्ने पार्टी त्यो हो, जसले हारबाट ज्ञान निकाल्छ ।

विज्ञानले भन्छ, कुनै पनि जीवित प्रणाली बाहिरी आघातपछि दुई तरिकाले प्रतिक्रिया गर्छ । कि त्यो प्रणाली भत्किन्छ, कि आफूलाई पुनः संयोजन गरेर अझ सक्षम हुन्छ । जीवित शरीरमा प्रतिरक्षा प्रणाली हुन्छ । सङ्कट आएपछि शरीरले नयाँ प्रतिरोध शक्ति बनाउँछ । पार्टी पनि जीवित प्रणाली हो । हाम्रो प्रतिरक्षा प्रणाली भनेको विचार, सङ्गठन, कार्यकर्ता, जनसम्पर्क, अनुशासन, तथ्य, नैतिकता र जनताको विश्वास हो ।

पहिलो — संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा हो ।

संसद्, न्यायपालिका, संवैधानिक निकाय, प्रेस, विद्यार्थी सङ्गठन, ट्रेड युनियन, नागरिक स्वतन्त्रता र सङ्घीय संरचना— यी सबै लोकतन्त्रका अङ्ग हुन् । एमाले यी संस्थाहरूको अग्रपङ्क्तिको रक्षक बन्नुपर्छ । लोकतन्त्र हरेक दिन नागरिकले प्रश्न गर्न पाउने अधिकार हो । हरेक दिन संसद्ले सरकारलाई जवाफदेही बनाउने अभ्यास हो । हरेक दिन अदालतले नागरिकको अधिकार बचाउने क्षमता हो । हरेक दिन सङ्गठनहरूले श्रमिक, विद्यार्थी र नागरिकको आवाज उठाउने स्वतन्त्रता हो । लोकतन्त्र जनअपेक्षाको परिपूर्ति र आपूर्तिको प्रणाली हो ।

२०८२ भदौ २३ र २४ गतेको हाम्रो राष्ट्रिय स्वाधीनताविरुद्ध रचिएका अराजनीतिका र आपराधिक वितण्डा, त्यसपछिका असंवैधानिक र संविधानविपरीत प्रधानमन्त्रीको नियुक्ति, अवैध सिफारिसमा असंवैधानिक ढङ्गले भएको प्रतिनिधि सभाको विघटन, त्यसपछिका त्यसै उद्देश्यको निरन्तरताका घटनाहरू र त्यस उद्देश्यलाई अघि बढाउन र ती तमाम प्रक्रियाहरूलाई वैधता दिन रचना गरिएको आम निर्वाचन यथार्थमा प्रतिगमनका सिलसिलाहरू हुन् । प्रतिनिधि सभाको असंवैधानिक विघटनविरुद्ध र विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै हामीले सर्वोच्च अदालतमा दिएको मुद्दा अहिले पनि विचाराधीन अवस्थामा नै छ । हामी न्यायको पर्खाइमा छौँ र न्याय विलम्ब भइरहेको छ । यो लोकतन्त्र, संविधान, विधिको शासन र जनतामा सार्वभौमसत्ता रहने यथार्थ शान्तिका स्रोत जनता हुन् भन्ने अत्यन्तै महत्त्वपूर्ण सारतत्त्व बोकेको मुद्दा भएकाले यसको अविलम्ब फैसला हुनुपर्दछ । लोकतन्त्र र संविधानले हार्नु हुँदैन । लोकतन्त्रको वापसीका लागि हामीले आफूलाई निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा राख्नुपर्दछ । यसका लागि पार्टीमा सुदृढ आन्तरिक एकता चाहिन्छ । न्यायिक सहजै पाइँदैन भने जनबलमा न्याय स्थापना गरिरहनुपर्दछ । यसका निम्ति हामीले पहिलो त आफूलाई तयार पार्नुपर्दछ । दोस्रोमा, यस महान् र पवित्र राष्ट्रिय उद्देश्यमा मिल्ने/मिल्न सकिने सबै शक्ति समूह र व्यक्तिहरूसँग सहकार्य गर्दै आन्दोलनमा अघि बढ्नुपर्दछ । हाम्रो काँधमा रहेको आजको पहिलो र सबभन्दा महत्त्वपूर्ण कार्यभार यही हो ।

एमालेले यही भाषा बोल्नुपर्छ ।

दोस्रो — आगामी निर्वाचनको तयारी हो ।

स्थानीय तहको निर्वाचन सामुन्नेमा छ । गएको निर्वाचनमा हामीले नराम्ररी पराजय भोग्यौँ । आगामी दिनमा पनि हाम्रा अगाडि ठूला-ठूला बाधा र चुनौती आउने छन् । तिनको सामना गर्न हामीले अहिलेदेखि तयारी गर्नुपर्नेछ । हामीलाई पराजित गर्ने षड्यन्त्र छँदैछ । तर अबको निर्वाचनमा हामीले जसरी पनि सफलता प्राप्त गर्नुपर्नेछ । त्यसका लागि सिङ्गो पार्टी निर्वाचनका लागि योजनाबद्ध रूपमा तयारीमा लाग्नु जरुरी छ ।

१३. यी दुई कार्यभार पूरा गर्न १५ प्रमुख काम

पहिलो — सत्यलाई जनतासम्म पुर्‍याउनु हो ।

सत्य आफैँ हिँडेर जनताको घर पुग्दैन । सत्यलाई बोकेर जानुपर्छ । भदौका घटनाको सत्य, लोकतान्त्रिक प्रक्रियामा परेको चोटको सत्य, चुनावी वातावरणको सत्य, पार्टीमाथि लगाइएका आरोपहरूको तथ्य, हाम्रो आफ्नै कमजोरीको स्वीकारोक्ति, र आगामी सुधारको सङ्कल्प— यी सबै स्पष्ट भाषामा जनतासम्म पुर्‍याउनुपर्छ । प्रत्येक जिल्लामा ‘सत्य संवाद’ अभियान चल्नुपर्छ । प्रत्येक पालिकामा जनसुनुवाइ हुनुपर्छ । प्रत्येक वडामा घरदैलो र खुला छलफल हुनुपर्छ । प्रत्येक जनवर्गीय सङ्गठनले आफ्नो क्षेत्रका मुद्दामा तथ्य र समाधानसहित जनतासँग बस्नुपर्छ । हाम्रो सत्य भाषणमा होइन, प्रत्यक्ष संवादमा पुग्नुपर्छ ।

दोस्रो — राष्ट्रका समस्या र जनजीविका केन्द्रित प्रतिपक्ष बन्ने हो ।

प्रतिपक्ष केवल संसद्मा बोल्ने संस्था होइन । प्रतिपक्ष जनताको असन्तोषलाई नीति, प्रश्न र सङ्घर्षमा बदल्ने राजनीतिक शक्ति हो । महँगी, बेरोजगारी, किसानको मूल्य, मजदुरको श्रम, साना उद्यमीको कर, विद्यार्थीको भविष्य, शिक्षकको कक्षा, स्वास्थ्य खर्च, महिला सुरक्षा, सुकुम्बासीको आवास, सीमावर्ती नागरिकको सम्मान, प्रवासी नेपालीको पीडा, यी सबै एमालेको दैनिक राजनीति बन्नुपर्छ । हामी संसद्मा प्रश्न गर्छौँ, सडकमा जनतासँग उभिन्छौँ, अदालतमा अधिकारको पक्ष लिन्छौँ, स्थानीय तहमा समाधान खोज्छौँ, र समाजमा सेवा गर्छौँ ।

सत्ता बाहिर बसेर पनि जनतासँग रहेको पार्टीले मात्र,

फेरि सत्ताको नैतिक दाबी गर्न सक्छ ।

तेस्रो — डिजिटल पुनर्निर्माण हो ।

आज राजनीति मोबाइलको पर्दामा लडिन्छ । झुटलाई हप्तापछि जवाफ दिएर हुँदैन । झुट एक घण्टामा फैलिन्छ भने सत्य आधा घण्टाभित्र पुग्नुपर्छ । एमालेले केन्द्रीय तथ्य-संवाद-प्रतिवाद संयन्त्र बनाउनुपर्छ । प्रत्येक आरोपको तथ्यपत्र तयार हुनुपर्छ । कुन आरोपमा के तथ्य छ, कुन निर्णय कहिले भयो, कुन निकाय जिम्मेवार छ, अदालतले के भन्यो, सरकारको आधिकारिक कागज के हो— यी सबै सरल भाषामा, छोटा भिडियोमा, चित्रमा, प्रश्नोत्तरमा, स्थानीय भाषामा, युवा प्रस्तुतकर्तामार्फत जनतासम्म पुग्नुपर्छ ।

सत्य ढिला भयो भने झुटले शासन गर्छ ।

हाम्रो कार्यभार सत्यलाई गति दिनु हो ।

चौथो — सङ्गठनलाई नतिजामुखी बनाउनु हो ।

पार्टीको शक्ति सदस्य सङ्ख्या मात्र होइन । सदस्य सक्रिय छन् कि छैनन्, जनतासँग जोडिएका छन् कि छैनन्, समस्या समाधानमा छन् कि छैनन्, यही मुख्य कुरा हो । प्रत्येक कमिटीले मासिक कामको मापन दिनुपर्छ । कति घरमा पुगे? कति जनसुनुवाइ गरे? कति स्थानीय समस्या उठाए? कति युवा जोडे? कति महिला नेतृत्वमा आए? कति किसान, मजदुर, विद्यार्थी, उद्यमी र पेसागत समूहसँग बैठक गरे? कति डिजिटल सामग्री पुर्‍याए ? कति आरोपको तथ्यगत प्रतिवाद गरे ?

काम नगर्ने संरचना नाम मात्रको संरचना हो । एमाले अब नतिजा नाप्ने सङ्गठन बन्नुपर्छ ।

पाँचौँ — युवा नेतृत्वको वास्तविक निर्माण हो ।

युवा केवल नारा लगाउने शक्ति होइनन् । युवा नीति बनाउने शक्ति हुन् । उनीहरूलाई मञ्च सजाउने होइन, निर्णयमा ल्याउने हो । युवालाई पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कार्यमा वास्तविक जिम्मेवारी दिनुपर्छ । प्रविधि, उद्यम, शिक्षा, रोजगार, जलवायु, सहरी शासन, डिजिटल अर्थतन्त्र, संस्कृति र नागरिक स्वतन्त्रताका विषयमा युवा नीति समूह गठन गर्नुपर्छ । युवा नेतृत्वलाई प्रशिक्षण, जिम्मेवारी, मैदान र मूल्याङ्कन दिनुपर्छ ।

पुस्तान्तरण भावनाबाट होइन,

क्षमताको निर्माणबाट हुन्छ ।

छैटौँ — महिला नेतृत्व र सामाजिक प्रतिनिधित्वलाई निर्णायक बनाउनु हो ।

आधा समाजलाई आधा जिम्मेवारी नदिई कुनै पार्टी आधुनिक हुन सक्दैन । महिलालाई केवल कार्यक्रममा सम्मानित अतिथि होइन— नीति, सङ्गठन, चुनाव, वित्त, सञ्चार र सङ्घर्षको नेतृत्वमा ल्याउनुपर्छ । दलित, आदिवासी, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका नागरिक, पिछडिएको क्षेत्र, प्रवासी श्रमिक, सहरी गरिब— सबैको आवाज पार्टी संरचनामा बलियो हुनुपर्छ ।

सामाजिक न्याय नारा होइन, सङ्गठनात्मक संरचना हुनुपर्छ ।

शोभाका लागि सहभागिता होइन, सफलताका लागि क्षमता वृद्धि हुनुपर्छ ।

सातौँ — आन्तरिक अनुशासन र खुला संवादको सन्तुलन हो ।

असहमति पार्टीको शक्ति हो, पार्टीभित्र नियमित खुला बहस हुनुपर्छ । आलोचना सुन्ने व्यवस्था हुनुपर्छ । निर्णय प्रक्रियामा पारदर्शिता हुनुपर्छ । तर सार्वजनिक रूपमा पार्टीको मूल रेखा तोड्ने, अपुष्ट आरोप फैलाउने, विपक्षीको न्यारेटिभ बलियो बनाउने र सङ्गठनको मनोबल गिराउने गतिविधि अनुशासनको विषय हुनुपर्छ । लोकतान्त्रिक पार्टीमा खुलापन र अनुशासन दुवै चाहिन्छ ।

खुलापनबिना पार्टी जड हुन्छ ।

अनुशासनबिना पार्टी विखण्डित हुन्छ ।

आठौँ — वैकल्पिक शासन-खाका तयार गर्नु हो ।

सरकारको आलोचना गरेर मात्र एमालेले फेरि जनताको विश्वास जित्न सक्दैन । जनताले सोध्नेछन्— तपाईँहरूको एजेन्डा के हो? रोजगारी कसरी सिर्जना गर्ने? वैदेशिक रोजगारीनिर्भरता कसरी घटाउने? शिक्षा कसरी रोजगारसँग जोड्ने? कृषि कसरी बजार, प्रविधि र उद्योगसँग जोड्ने? स्वास्थ्य खर्च कसरी घटाउने? सहरी गरिबी कसरी सम्बोधन गर्ने? सुकुम्बासी समस्या कसरी समाधान गर्ने? सीमा क्षेत्रको जीवन र राजस्व दुवै कसरी सुरक्षित गर्ने? भ्रष्टाचार नियन्त्रणमा प्रविधि, खुला डाटा र पारदर्शिता कसरी प्रयोग गर्ने?

यी प्रश्नमा एमालेले ठोस कार्यक्रम पहिलेदेखि नै दिँदै आएको छ, अब अझ बढी अद्यावधिक ढङ्गले दिनुपर्छ । शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, वातावरण आदि क्षेत्रका विषयमा नीति निर्माणमा विभागहरूको भूमिका प्रभावकारी बनाउँदै जानुपर्छ ।

प्रतिपक्षको अर्थ वैकल्पिक सरकारको तयारी हो ।

नवौँ — जनसेवामूलक पार्टी निर्माण हो ।

सत्ता नहुँदा पनि पार्टीले समाजको सेवा गर्न सक्छ । बाढी, पहिरो, महामारी, शिक्षा सहयोग, स्वास्थ्य शिविर, कानुनी सहयोग, रोजगारी परामर्श, कृषि सजीकीकरण, साना उद्यमी सहायता, विद्यार्थी मार्गदर्शन, प्रवासी परिवार सहायता— यी क्षेत्रमा पार्टीका संरचनाहरू सक्रिय हुनुपर्छ ।

नागरिकले पार्टीलाई झण्डाबाट होइन,

सङ्कटमा पुगेको सहयोगबाट सम्झन्छन् ।

दशौँ — ज्ञानमा आधारित पार्टी बनाउने हो ।

आजको राजनीति केवल नाराले चल्दैन । तथ्य, अनुसन्धान, डाटा, नीति विश्लेषण, सामाजिक मनोविज्ञान, अर्थशास्त्र, प्रविधि र जनमत अध्ययन आवश्यक छ । प्रत्येक प्रदेशमा नीति अध्ययन/अनुसन्धान समूह हुनुपर्छ । प्रत्येक प्रमुख मुद्दामा तथ्यपत्र हुनुपर्छ । बजेट, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्योग, विदेश नीति, सङ्घीयता, डिजिटल शासन, न्याय सुधार— यी विषयमा एमालेको आधिकारिक अध्ययन र वैकल्पिक प्रस्ताव हुनुपर्छ ।

दर्शनले दिशा दिन्छ, विज्ञानले पद्धति दिन्छ,

सङ्गठनले कार्यान्वयन दिन्छ ।

ज्ञानले बाटो दिन्छ ।

यी तीनको सङ्गमबाट मात्र आधुनिक पार्टी बन्छ ।

एघारौँ — नैतिक पुनर्निर्माण हो ।

जनताले दलहरूलाई केवल कार्यक्रमको आधारमा होइन, मूलतः चरित्रको आधारमा हेर्छन् । भ्रष्टाचार आरोप उठ्दा पार्टीले बचाउ मात्र होइन, पारदर्शी छानबिनको मार्ग देखाउनुपर्छ । स्थानीय तहदेखि केन्द्रसम्म आचारसंहिता लागू हुनुपर्छ । पद प्राप्तिलाई सेवाभन्दा माथि राख्ने प्रवृत्ति हटाउनुपर्छ । सार्वजनिक जीवनमा सादगी, जवाफदेहिता, पारदर्शिता र जनताप्रतिको विनम्रता स्थापित गर्नुपर्छ ।

नैतिक शक्तिबिना राजनीतिक शक्ति टिक्दैन ।

बाह्रौँ — स्थानीय मुद्दा केन्द्रित सङ्गठन हो ।

राष्ट्रिय राजनीति महत्त्वपूर्ण छ, तर जनताको जीवन स्थानीय हुन्छ । पानी, सडक, विद्यालय, स्वास्थ्य चौकी, बजार, जग्गा, कर, सुरक्षा, रोजगारी, कृषि, विपद्— यी सबै स्थानीय प्रश्न हुन् । एमालेको प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रको समस्या-सूची बनाउनुपर्छ । समाधानका लागि स्थानीय सरकार, प्रदेश, केन्द्र, अदालत, मिडिया र जनदबाब प्रयोग गर्नुपर्छ ।

जनताको समस्या समाधान गर्ने पार्टीलाई जनताले फेरि खोज्छन् ।

तेह्रौँ — प्रवासी नेपालीसँग नयाँ सम्बन्ध बनाउनु हो ।

देशको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण छ । तर प्रवासी नेपालीलाई केवल देशभित्र पैसा पठाउने नागरिकका रूपमा हेर्नु अन्याय हो । उनीहरू ज्ञान, सीप, अनुभव र पुँजीका स्रोत पनि हुन् । एमालेले प्रवासी श्रमिकको अधिकार, सुरक्षित रोजगार, पुनरागमनपछि उद्यम, परिवारको शिक्षा, सामाजिक सुरक्षा र विदेशमा रहेका नेपालीको राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्छ ।

बाहिर गएको युवाको देशसँग सम्बन्ध नटुटोस्,

त्यो भविष्यमा फर्किने र फर्कन सक्ने शक्ति हो र त्यस्तै बनाइनुपर्छ ।

चौधौँ — राष्ट्रिय स्वाधीनता र कूटनीतिको सन्तुलनको स्पष्ट नीति हो ।

हामीले पहिलेदेखि नै स्पष्ट दृष्टिकोण, नीति र व्यवहार अवलम्बन गर्दै आएका छौँ र अब पनि छिमेकीहरूसँग सन्तुलित सम्बन्ध, विश्व शक्तिहरूसँग सम्मानपूर्ण सहकार्य, न्यायोचित राष्ट्रिय हितमा आधारित निर्णय, आर्थिक कूटनीति, सीमा संवेदनशीलता, जलस्रोत र व्यापारमा स्पष्ट अडान, जनविभाजन र सामाजिक विद्वेषविरुद्ध राष्ट्रिय एकता— यी सबैमा एमालेको दृष्टि स्पष्ट हुनुपर्छ ।

सानो देशको शक्ति स्थिर विवेक हो ।

एमालेले यही दृढ विवेकको प्रतिनिधित्व गर्नुपर्छ ।

पन्ध्रौँ — वैचारिक पुनर्पाठ हो ।

जनताको बहुदलीय जनवादलाई केवल ऐतिहासिक दस्तावेजमा सीमित गर्नु हुँदैन । आजको डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता (AI), स्वचालन (Automation), जलवायु सङ्कट, युवा पलायन, सहरी असमानता, गिग इकोनोमी (Gig Economy), शिक्षा बजार, स्वास्थ्य खर्च, लैङ्गिक न्याय, सांस्कृतिक परिवर्तन, यी सबैमा हाम्रो विचारको नयाँ व्याख्या आवश्यक छ । विचार जीवित हुनुपर्छ । हाम्रो पार्टीले लिएको परिपूर्ण लोकतन्त्र, समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य यही जीवन्तताको प्रतिफल हो ।

जीवित विचारले समयसँग संवाद गर्छ ।

एमालेले आफ्नो विचारलाई नयाँ समयको प्रश्नसँग जोड्नुपर्छ ।

अब यी सबै कार्यभारलाई कार्यान्वयनमा लैजान चरणबद्ध योजना चाहिन्छ ।

पहिलो, सत्य संवाद र सङ्गठन सक्रियता । दोस्रो, जनजीविका अभियान र डिजिटल पुनर्निर्माण । सँगसँगै वैकल्पिक शासन-खाका, युवा नेतृत्व निर्माण र स्थानीय समस्या समाधान अभियान । त्यसपछि, आगामी निर्वाचनसम्म निरन्तर जनसम्पर्क, नीति अभियान, सङ्गठन अनुशासन र वैचारिक प्रशिक्षण ।

कामको तालिकाबिना सङ्कल्प कमजोर हुन्छ ।

पुनर्जागरण बाहिरबाट आउँदैन । पुनर्जागरण भित्रको सत्य स्वीकारबाट सुरु हुन्छ ।

विज्ञानले भन्छ, सुधारका लागि प्रतिक्रिया-चक्र (Feedback Loop) चाहिन्छ । काम गर, परिणाम नाप, गल्ती चिन, फेरि सुधार गर । पार्टीले पनि यही पद्धति अपनाउनुपर्छ । हामीले जनतासँग कुरा गर्ने, प्रतिक्रिया लिने, नीति सुधार गर्ने, सङ्गठन सच्याउने, र फेरि जनतामा जाने निरन्तर चक्र बनाउनुपर्छ ।

यही वैज्ञानिक राजनीति हो ।

यही जीवित सङ्गठनको चिन्ह हो ।

कमरेडहरू,

आगामी दिन सजिला छैनन् । आरोप आउने छन् । हमला हुने छन् । सरकारका गलत कदमको प्रतिवाद गर्नुपर्नेछ । जनताको विश्वास जित्न सजिलो हुने छैन । तर निरन्तरता, सत्य, सेवा, अनुशासन र नयाँ भाषा लिएर गए त्यति कठिन पनि छैनन् ।

एमालेका आगामी कार्यभार यी नै हुन्:

  • सत्य जनतासम्म ।
  • पार्टी जनताको घरसम्म ।
  • युवा र महिला जिम्मेवारी, निर्णय र नेतृत्वसम्म ।
  • सङ्गठन काम-मापनसम्म ।
  • प्रतिपक्ष जनजीविकासम्म ।
  • संविधान प्रत्येक नागरिकको अधिकारसम्म ।
  • र, पुनर्जागरण प्रत्येक कार्यकर्ताको आत्मविश्वाससम्म ।
  • डिजिटल प्रतिवाद सत्यको विजय नभएसम्म ।
  • निरन्तर सङ्घर्ष गन्तव्यमा नपुगेसम्म ।

यही एमालेको बाटो हो । यही पुनर्जागरणको कार्यक्रम हो । यही भविष्यको सङ्कल्प हो ।

कमरेडहरू,

हामी आज एउटा कठिन सत्यको अगाडि उभिएका छौँ । नेकपा (एमाले)ले चुनावी पराजय भोगेको छ । यो पराजयलाई सानो भनेर पन्छाउन मिल्दैन । गएको भदौ २३/२४ र निर्वाचन परिणामले हामीलाई दिएको सन्देश कठोर छ । त्यो सन्देश सुन्नुपर्छ । त्यो सन्देशको अर्थ बुझ्नुपर्छ ।

तर यहीँ अर्को सत्य पनि छ— एमाले हारेको छ, तर एमाले हराएको छैन । एमाले कमजोर भएको छ, तर एमालेको जरा सुकेको छैन । एमालेको मत घटेको छ, तर एमालेको ऐतिहासिक आवश्यकता समाप्त भएको छैन । एमाले जनताको सङ्घर्षबाट जन्मेको पार्टी हो ।

एक चुनावले पार्टी समाप्त गर्दैन ।

तर एक चुनावले यस्तो पार्टीलाई जागा गराउन सक्छ ।

विज्ञानमा रोग देखिनु कहिलेकाहीँ शरीरको विनाश होइन, उपचारको सुरुवात हुन्छ । जब ज्वरो आउँछ, शरीरले सङ्केत दिन्छ कि भित्र केही असन्तुलन छ । ज्वरोसँग रिसाएर हुँदैन, कारण खोज्नुपर्छ । पार्टीको हार पनि त्यस्तै सङ्केत हो । जनताको मनमा असन्तोष भड्काइएको थियो । सङ्गठनमा सुस्तता थियो । हाम्रो सञ्चार ढिलो थियो । जनतासँगको संवाद अधुरो थियो । आरोपको प्रतिवाद कमजोर थियो ।

यी सबै सत्य हुन् ।

यिनलाई स्वीकार नगरी एमाले उठ्दैन ।

तर रोगको सही उपचारका लागि सही निदान चाहिन्छ । यदि सबै दोष गलत ठाउँमा ओइराएर सन्तोष लिइयो भने उपचार हुँदैन । यदि सबै दोष बाहिरी शक्तिमा ढालेर आत्मसन्तुष्टि गरियो भने पनि उपचार हुँदैन । यदि सबै दोष कार्यकर्तामा ढालियो भने पनि न्याय हुँदैन । हार बहुकारणीय थियो— भदौको असाधारण घटनाक्रम, भावनात्मक लहर, डिजिटल चरित्रहत्या, असमान चुनावी वातावरण, पार्टीमाथि भएको बाह्य प्रहार, आन्तरिक कमजोरी, सङ्गठनात्मक थकान, युवाको मनसँग दुरी, सञ्चारको कमजोरी, समयमै धाँधली चिन्न र रोक्न नसक्नु आदि । यी सबै कारण मिलेर नतिजा बन्यो ।

त्यसैले उपचार पनि बहुस्तरीय र बहुआयामिक हुनुपर्छ ।

दार्शनिक दृष्टिले हेर्दा सङ्कट मानिस र सङ्गठन दुवैको सत्य वा सामर्थ्य परीक्षणको समय हो । सुखको समयमा सबै बलिया देखिन्छन् । विजयको समयमा सबै विश्वासी देखिन्छन् । तर हारपछि को स्थिर रहन्छ, सङ्कटपछि पनि को सत्य बोल्छ, आरोपपछि को तथ्यसँग उभिन्छ, निराशापछि को आशा जगाउँछ— त्यही वास्तविक शक्ति हो ।

एमाले अब यही परीक्षामा छ । हामीले देखाउनुपर्छ कि एमाले केवल जित्ने बेला ठूलो पार्टी होइन । एमाले हारपछि पनि आफूलाई सच्याउने, जनतामा फर्किने र इतिहाससँग संवाद गर्दै अझ महान् जितको तयारी गर्ने ठूलो पार्टी हो ।

हामीले गल्ती स्वीकार गर्नुपर्छ, तर आत्मसमर्पण गर्नुहुँदैन । हामीले शैली बदल्नुपर्छ, तर सिद्धान्त छाड्नुहुँदैन । हामीले युवालाई अगाडि ल्याउनुपर्छ, तर अनुभवलाई अपमान गर्नुहुँदैन । हामीले नेतृत्व हस्तान्तरणको तयारी गर्नुपर्छ, तर पार्टीलाई अनिश्चिततामा धकेल्नुहुँदैन । हामीले जनताको अन्योलको कारण बुझ्नुपर्छ, तर लोकतन्त्रको संस्थागत बाटो कमजोर बनाउने कुनै पनि प्रयोगलाई स्वीकार गर्नुहुँदैन ।

यही सन्तुलन हाम्रो भविष्यको आधार हो ।

कमरेडहरू,

आज हामीसँग दुई जोखिम छन् । एउटा, हारबाट निराश भएर आफूलाई छोडिदिने । अर्को, हारलाई बहाना बनाएर एक-अर्कामाथि प्रहार गर्दै पार्टीलाई कमजोर बनाउने । यी दुवै बाटो गलत छन् ।

तेस्रो बाटो छ— कठोर आत्मसमीक्षा, तथ्यगत प्रतिवाद, सङ्गठनात्मक पुनर्निर्माण, जनजीविका केन्द्रित प्रतिपक्ष एवं देश, लोकतन्त्र र संविधानको रक्षा ।

एमालेले यही तेस्रो बाटो रोज्नुपर्छ ।

एमालेको भविष्य अझै खुला छ । हाम्रो जरा गहिरो छ । हाम्रो इतिहास बलियो छ । हाम्रो कार्यकर्ता-पङ्क्ति अझै जीवित छ । हाम्रो विचार अझै आवश्यक छ । तर यो पर्याप्त छैन । जरालाई पानी चाहिन्छ । इतिहासलाई नयाँ भाषा चाहिन्छ । कार्यकर्तालाई दिशा चाहिन्छ । विचारलाई आजको जीवनसँग सम्बन्ध चाहिन्छ ।

यी काम गर्न हामी तयार हुनुपर्छ ।

आजको निष्कर्ष यही हो— हार राजनीतिक तथ्य हो । तर हारपछि रोजिने दिशा भविष्य निर्धारण गर्ने ठूलो तथ्य हो । हामी भाग्ने बाटो रोज्दैनौँ । हामी आत्मसमर्पण रोज्दैनौँ । हामी प्रतिशोध रोज्दैनौँ । हामी विखण्डन रोज्दैनौँ । हामी सत्य, समीक्षा, सुधार, सङ्गठन, सेवा, संविधान र पुनर्जागरणको बाटो रोज्छौँ । यही बाटोबाट हामी विजयतर्फको यात्रा अघि बढाउँछौँ ।

एमाले फेरि उठ्छ । हामी फेरि उठ्नैपर्छ ।

तर केवल भाषणबाट होइन, कामबाट । केवल अतीतबाट होइन, भविष्यबाट । केवल नेतृत्वबाट होइन, सम्पूर्ण पार्टीको जागरणबाट । केवल प्रतिवादबाट होइन, जनविश्वासको पुनर्निर्माणबाट । यही हाम्रो सङ्कल्प हो । यही हाम्रो मार्ग हो । यही हारबाट पुनर्जागरणसम्मको यात्रा हो ।

त्यही पुनर्जागरणको यात्रा अघि बढाउँदै 'समृद्ध नेपाल, सुखी नेपाली' को गन्तव्यमा पुग्ने महान् सङ्कल्प हो ।

 

 

हामीसँग जोडिनुहोस्