-प्रवासी नेपालीहरू नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिका महत्वपूर्ण साझेदार, उनीहरूको सीप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्न मञ्चले निरन्तर काम गरिरहेको छ
-प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने विषय अधिवेशनका प्रमुख एजेन्डा
-विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै संगठनात्मक छातामुनि गोलबद्ध गर्दै उनीहरूको हक, अधिकार र पहिचानको संरक्षण गर्नु अधिवेशनको प्रमुख उद्देश्य
१७ कात्तिक (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने बताइएको छ ।
अधिवेशनबारे जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले प्रवासी नेपालीहरूले भोग्दै आएका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत पहल आवश्यक रहेको बताउनुभयो ।
अधिवेशनले यस दिशामा महत्वपूर्ण निर्णय र मार्गनिर्देशन गर्ने उपमहासचिव भट्टले विश्वास व्यक्त गर्नुभयो ।
मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै विश्वभरका प्रवासी नेपालीहरूको सहभागितामा अधिवेशन आयोजना हुन लागेको बताउनुभयो ।
‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशन कात्तिक १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुने छ ।
अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, समापन समारोहलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष पाण्डेका अनुसार विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै संगठनात्मक छातामुनि गोलबद्ध गर्दै उनीहरूको हक, अधिकार र पहिचानको संरक्षण गर्नु अधिवेशनको प्रमुख उद्देश्य हो ।
उहाँले भन्नुभयो–प्रवासी नेपालीहरू नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिका महत्वपूर्ण साझेदार हुन् । उनीहरूको सीप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्न मञ्चले निरन्तर काम गरिरहेको छ ।
प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने विषय अधिवेशनका प्रमुख एजेन्डा रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । साथै, गैरआवासीय नेपाली संघलगायत प्रवासमा सक्रिय अन्य संघसंस्थासँगको सम्बन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने छ ।
हाल मञ्चको राष्ट्रिय कमिटी विश्वका ३८ देशमा, पाँचवटा महादेशमा महादेश कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको आयोजकले जनाएको छ । प्रवासमा रहेका दशौँ हजार नेपाली यस संगठनमा आबद्ध रहेको मञ्चको भनाइ छ ।
अधिवेशनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । अध्यक्ष पाण्डेका अनुसार नयाँ नेतृत्वले विश्वभरका राष्ट्रिय कमिटीहरूबीच आपसी समन्वय र सहकार्य बढाउँदै संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने छ ।
अधिवेशनका अवसरमा विश्वव्यापी ‘भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता’ समेत आयोजना गरिएको छ । सूचना तथा प्रविधिको युगमा गुणात्मक र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उत्कृष्ट भिडियो निर्माण गर्ने एक जना सर्जकलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
