एमाले आज

गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्काः महासचिव पोखरेल 

सेयर गर्नुहोस्
  • पार्टीले सरकारमा रहँदा महत्वपूर्ण काम गरेर पनि जनमत विस्तार गर्न नसकेको विषयमा गम्भीर समीक्षा आवश्यक

१८ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्का लागेको बताउनुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले प्रत्यक्ष निर्वाचनमा एमालेजस्तो राजनीतिक दल नौ सिटमा सीमित हुनुपर्ने अवस्था पार्टीका लागि कल्पनाभन्दा बाहिरको विषय भएको उल्लेख गर्नुभयो ।
निर्वाचनमा पराजय भोगेपछि पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यकर्ताबाट सुझाव सङ्कलन गरी समीक्षा प्रतिवेदन तयार गरिएको उहाँले जानकारी दिनुभयो । सोही प्रतिवेदन र सुझावका आधारमा पार्टीले आफ्नो आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गरेको उहाँको भनाइ थियो । 
महासचिव पोखरेलले भन्नुभयो– कार्यदलले कार्यकर्ताका सुझाव सङ्कलन गरी सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रस्ताव तयार गरेको छ । उक्त प्रस्तावको जगमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी जीवनमा देखिएका समस्याहरूलाई सूत्रबद्ध गर्दै आगामी दिनमा अघि बढ्न दुई कार्यभार र १५ वटा काम तय गरेको छ ।
गतबर्ष भदौ २३ र २४ गतेका घटना तथा फागुन २१ गते सम्पन्न निर्वाचनपछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको निष्कर्ष रहेको उहाँले बताउनुभयो । ‘उक्त घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको विश्लेषण थियो । सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको छ’, महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले एमाले नेतृत्वमा गठन भएका दुईवटा नौमहिने सरकारबाहेक अन्य सरकारका पालामा पनि महत्त्वपूर्ण कामहरू भएको उल्लेख गर्दै ती उपलब्धिका बाबजुद पार्टीले अपेक्षाअनुसार जनमत विस्तार गर्न नसकेको बताउनुभयो । विशेषगरी २०७४ सालमा गठन भएको शक्तिशाली वामपन्थी सरकारका समयमा समेत वामपन्थी जनमत विस्तार हुन नसकेको विषयलाई पार्टीले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले भन्नुभयो– जबसम्म हामी यो सत्यलाई मूल्याङ्कन गर्न सक्दैनौँ, तबसम्म समाजवाद निर्माणको ध्येय र उद्देश्य हासिल गर्न सक्दैनौँ ।
उहाँले विगतका राजनीतिक उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । निर्वाचनको परिणामलाई केवल पराजयका रूपमा मात्र नहेरी त्यसबाट प्राप्त सन्देशका आधारमा संगठनात्मक सुधार र राजनीतिक कार्यदिशा परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो ।

 

 

 

 

हामीसँग जोडिनुहोस्