एमाले आज

राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीब्र, उत्साहजनक र उल्लासपूर्ण सहभागिता रहने

सेयर गर्नुहोस्

२७ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)को आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीब्र पारिएको छ । 
भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित तीनहजार ४१४ जनाको सहभागिता रहने भएको छ ।
भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ । 
बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो ।
बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो । पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टीपङ्क्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा पार्टीका सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति रहेको थियो । भेलाको तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो प्रदेशबाट हुने सहभागिताबारे रिपोर्टिङ गर्नुभएको थियो । उहाँहरूले प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने जानकारी गराउनुभयो । 
बैठकको अध्यक्षता गर्नुभएका संगठन विभाग प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमस्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका तयारीलाई तीब्रता दिइएको छ ।
संगठन विभाग प्रमुख ढकालले प्रतिनिधित्वहरू सङ्ख्याका बारेमा पनि विस्तृतमा जानकारी गराउनुभएको थियो । 
काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

ठूलो सङ्ख्यामा हुने सहभागिता र सवारी साधनको चापलाई ध्यानमा राखी यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन पार्टीले भेलामा सहभागी हुन आउने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा उपस्थित हुन आग्रह गरेको छ ।
राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीको संगठनात्मक एकता थप सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । ‎

हामीसँग जोडिनुहोस्