एमाले आज

अध्यक्ष ओलीद्वारा बाग्मती प्रदेश कमिटी बैठकमा सम्बोधनः स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीमा जुट्न निर्देशन

सेयर गर्नुहोस्

२८ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा गम्भीरतापूर्वक जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 
आज नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्र नलिई राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडेर रणनीतिक रूपमा तयारी गर्नुपर्ने बताउनुभयो ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने र प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुने उल्लेख गर्दै उहाँले यी निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने जानकारी गराउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– स्थानीय तहको निर्वाचन केवल स्थानीय सरकार बनाउने कुरा मात्र होइन, यसले राष्ट्रिय सभा र राष्ट्रपति निर्वाचनका लागि समेत मतदाता तयार गर्छ । हाम्रा अगाडि आउँदै गरेका स्थानीय तह, प्रदेशसभा, राष्ट्रिय सभा र राष्ट्रपतिका निर्वाचनहरू एकापसमा जोडिएकाले हामीले योजनाबद्ध ढङ्गले लाग्न जरूरी छ । अहिले विगतको तुलनामा हाम्रा लागि अनुकूल वातावरण पनि छ ।
उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । विगतका निर्वाचनमा पार्टीभित्र आपसी एकता र समन्वयको अभाव हुँदा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै उहाँले पार्टी हितविपरीत गतिविधि गर्ने तथा निर्वाचनमा असहयोग गर्नेहरूलाई वडा तहबाटै कारबाही गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्यका आधारमा जिल्लास्तरमै कारबाही गरी केन्द्रमा सिफारिस पठाउन निर्देशन दिनुभयो ।
पार्टीभित्रका अन्तर्विरोध, मनमुटाव र असमझदारी आपसी छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले जिल्ला, पालिका र वडा तहसम्म बैठक आयोजना गरी सङ्गठनलाई एकताबद्ध बनाउन आग्रह गर्नुभयो । 
नेता तथा कार्यकर्ताहरू जनतामाझ पुग्न नसकेको भन्दै पार्टीका विचार, सदाचार र इमानदारी स्थापित गर्न सङ्गठनात्मक गतिविधि प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली अझै स्वेच्छाचारी रहेको बताउनुभयो । 
बैठकमा नेकपा (एमाले)का सचिव एवं बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाका विषयमा छलफल हुने बताउनुभयो । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीका नेता शेरबहादुर तामाङलगायत केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको छ । बैठक आइतबारसम्म सञ्चालन हुने छ ।

हामीसँग जोडिनुहोस्