एमाले आज

राष्ट्रिय भेलाले सिङ्गो पार्टीपङ्क्तिलाई वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउने विश्वास 

सेयर गर्नुहोस्

-राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ कामबारे राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्नुहुने कार्यक्रम छ  भने पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नुहुने छ

-उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा सम्बन्धमा र अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नुहुने छ भने महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ

-राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने छन्

३० कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलाले सिङ्गो पार्टीपङ्क्तिलाई वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउने बताउनुभएको छ । 
पर्सि मङ्सिर २ र ३ गते पार्टीले काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराउन आज केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले उक्त विश्वास व्यक्त गर्नुभएको हो । 
राष्ट्रिय भेलाले पार्टीले गरेका निर्णयलाई कार्यान्वयनमा एकरूपता ल्याउने उहाँले प्रष्ट पार्नुभयो । नेकपा (एमाले)को मुख्य उद्देश्य पार्टीलाई जनतामाझ पुनःस्थापित गर्नु रहेको बताउँदै राष्ट्रिय भेलाको अर्को प्रमुख उद्देश्य स्थानीय तहको निर्वाचनको तयारीसमेत रहेको महासचिव पोखरेलले बताउनुभयो । 
स्थानीय तहलाई बलियो बनाउने कामको नेतृत्व एमालेले गरेको विगत स्मरण गर्दै उहाँले २०५४ सालमा कानुन सुधारमार्फत स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनेदेखि संविधान निर्माणका क्रममा अधिकारको सूचीसहित स्थानीय तहलाई बलियो बनाउनेसम्म एमालेको महत्त्वपूर्ण भूमिका रहेको प्रष्ट पार्नुभयो । 
राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने छन् । पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र सङ्घीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । 
माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम छ । 
भेलामा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ कामबारे राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्ने कार्यक्रम छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नुहुने छ । 
उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा सम्बन्धमा र अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नुहुने छ । त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । त्यस्तै, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहने छ । जनसंगठनका प्रतिनिधि, विभिन्न उपसमितिका सदस्य र स्वयंसेवकसमेत सहभागी हुने भेलामा पार्टीका सबै तह र संसदीय क्षेत्रको प्रतिनिधित्व रहने छ ।
एमालेले राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले भेला आयोजना गर्न लागेको हो ।
पार्टीको केन्द्रीय कमिटीको असोज ५ देखि ८ गतेसम्म सम्पन्न तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भएर कार्यान्वयन गर्ने विषयलाई भेलाको मुख्य उद्देश्य बनाइएको छ ।
भेलामा सहभागी हुनेहरूका लागि आवासको व्यवस्था स्वयं गर्न आग्रह गरिएको छ । आवासको व्यवस्था गर्न नसक्ने सहभागीलाई सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने छन् । कार्यक्रमस्थलमा पार्किङको सुविधा नहुने भएकाले सवारीसाधनको पार्किङ पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ । भेलास्थल र सहभागीको सुरक्षाका लागि अवकाशप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरिने भएको छ ।
भेलाको उद्घाटन समारोहमा सञ्चारकर्मीलाई सभाहलसम्मै पहुँच दिइने र समाचार सङ्कलन तथा श्रव्यदृश्य सामग्री खिच्न पाउने व्यवस्था गरिएको छ । त्यसपछिका सत्रका लागि मिडिया सेन्टरमार्फत पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी उपलब्ध गराउने छ । बन्दसत्रका महत्त्वपूर्ण समाचार सम्प्रेषणका लागि प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालको नेटवर्कमार्फत सञ्चारकर्मीलाई जोडिने छ ।
सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो 
पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको बताउनुभयो । 
सरकार प्रतिशोधात्मक ढङ्गले प्रस्तुत भएको, राज्यका निकायलाई कार्यकारीको नियन्त्रणमा राख्न खोजेको र राजनीतिक दल तथा नागरिकका अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरेको भनाइ उहाँले राख्नुभयो । 
महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई राष्ट्रको जीवनमा असामान्य तथा संवैधानिक व्यवस्थामाथि खलल पुर्याउने घटनाका रूपमा एमालेले विश्लेषण गरेको बताउँदै उक्त घटनापछि मुलुक प्रतिगमनतर्फ गएको पार्टीको निष्कर्ष रहेको जानकारी गराउनुभयो । 
फागुन २१ गतेको निर्वाचन पनि असामान्य परिस्थितिमा सम्पन्न भएको उल्लेख गर्दै जनताले दिएको जनादेशलाई भने एमालेले सम्मान गरेको उहाँले बताउनुभयो । तर, निर्वाचनपछि सरकार गठन भएसँगै लोकतान्त्रिक अभ्यास र संवैधानिक व्यवस्थाको कार्यान्वयनमा गम्भीर समस्या देखिएको महासचिव पोखरेलको भनाइ छ । 
महासचिव पोखरेलले सरकार प्रतिशोधात्मक ढङ्गले अघि बढ्दै पार्टी अध्यक्ष र निवर्तमान गृहमन्त्रीलाई तथ्य तथा प्रमाणबिना पक्राउ गरेको स्मरण गर्नुभयो । 
इनम सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी भएन
पछिल्लो समय इनम सापकोटाको नाममा बाहिर आएका घटनाक्रमले सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएको उहाँले बताउनुभयो ।
सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रियाबारे पर्याप्त पारदर्शिता नदेखिएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– अहिले इनम सापकोटाका नाममा जे पटाक्षेप भएको छ, त्यसका रहस्यहरू आउन बाँकी नै छन्, अनुसन्धानको प्रक्रिया रहस्यमय देखिँदै छ, पारदर्शी छैन । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादी भन्दै त्यसलाई सच्याउन आग्रह गर्नुभयो । 
भारत भ्रमणमा सीमाको विषय उठाउन आग्रह
महासचिव पोखरेलले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका समयमा नेपाल–भारत सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो ।
नेपाल र भारतबीच सीमा समस्यासम्बन्धी विषय दुबै देशबीच दस्तावेजीकरण भइसकेको उल्लेख गर्दै उहाँले त्यसको समाधानका लागि प्रधानमन्त्रीले नेपालको पक्षमा स्पष्ट रूपमा पैरवी गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले ईपीजी प्रतिवेदन हस्तान्तरणको विषयलाई समेत प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा उपमहासचिव योगेश भट्टराई, राष्ट्रिय भेलाका संयोजक, पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल र केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो । पार्टीका केन्द्रीय सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति वाचन गर्दै राष्ट्रिय भेलामा सहभागिता र भेलाको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । 


प्रेस विज्ञप्ति यस प्रकार छः

हामीसँग जोडिनुहोस्