-पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने छ
१ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने दृढ विश्वास व्यक्त गर्नुभएको छ ।
अखिल नेपाल किसान महासंघ, केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा पार्टी अगाडि बढ्ने बताउनुभयो ।
नेकपा (एमाले) अहिले पनि सबैभन्दा मजबुत, देशभक्त, लोकतान्त्रिक तथा स्पष्ट दृष्टिकोण र सुदृढ संगठन रहेको पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले दुनियाँले नसोचेको सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) लोकतान्त्रिक प्रक्रियाबाट नभई आगजनी, तोडफोड, आतङ्क, बलजफ्ती र उपद्रवका कारण धक्का खाएको उल्लेख गर्दै उहाँले देशमा सधै आतङ्कको राज नचल्ने बताउनुभयो ।
पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले यतिबेलाका ‘दुई कार्यभार र पन्ध्र काम’ निर्धारण गरेको जानकारी गराउँदै उहाँले आन्दोलन र स्थानीय तह निर्वाचनका ती कार्यभार पूरा गर्ने तयारीमा लाग्नसमेत निर्देशन दिनुभयो । अध्यक्ष ओलीले निर्वाचनमा हामी जित्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न महासंघका नेताकार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।
‘नेपालको कम्युनिष्ट आन्दोलन र एमालेलाई सिद्धाउन के गरिएन ?’ पञ्चायतकालदेखि निकट विगतसम्म स्मरण गर्दै अध्यक्ष ओलीले अफ्ठ्यारोसँग जुधेर अगाडि बढ्न बानी बसिसकेको बताउनुभयो । उहाँले कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ भन्नुभयो ।
नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने जगका रूपमा रहेको र कयौं किसान नेताहरूले अमूल्य योगदानका साथै सहादत प्राप्त गरेको उहाँले स्मरण गर्नुभयो । अध्यक्ष ओलीले किसान महासंघलाई विस्तार गर्ने बृहत आधारहरू रहेको र त्यसका लागि सक्रियता आवश्यक रहेको बताउँदै आफ्नो विगतको गौरवलाई सम्झेर त्यसलाई कायम गर्न विभिन्न क्षेत्रका किसानहरूलाई महासंघमा गोलबन्द गर्न आग्रह गर्नुभयो ।
बैठकमा अध्यक्ष ओलीले कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त हुनुभएका महासंघका स्थायी कमिटी सदस्यहरू क्रमशः रामप्रसाद मेहता र बलबहादुर हमाल तथा राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता महासंघका अध्यक्ष प्रेम दङ्गाललाई महासंघका तर्फबाट सम्मान गर्नुभयो ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दङ्गालको अध्यक्षतामा भएको बैठकमा सहभागीहरूले जिल्ला र प्रदेश अधिवेशनका साथै किसानका समस्याका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । बैठकमा नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा महासंघका इन्चार्ज गिरधारीलाल न्यौपाने अतिथिका रूपमा उपस्थिति रहेको थियो । बैठक सञ्चालन गर्नुभएकी महासंघका महासचिव सरिता भुसालले महासंघ ७३ जिल्ला, ५३९ पालिका र एकहजार ३६५ वडामा क्रियाशील रहेको र यसका ५० हजार ३४८ सदस्य रहेको जानकारी गराउनुभयो ।
