एमाले आज

एमाले भेलाको सन्देशः रक्षात्मक भाव चिर्दै पुनर्जागरणमा अग्रसर

सेयर गर्नुहोस्

काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय भेला (२–३ मङ्सिर, २०८३ गते काठमाडौं) पार्टीपङ्क्तिमा नयाँ उत्साह, आत्मविश्वास र स्पष्ट राजनीतिक कार्यदिशा सञ्चार गर्दै सम्पन्न भएको छ । एमालेको यो कार्यदिशाले नेपाली समाज र राजनीतिमा दुरगामी महत्त्व राख्नेछ ।
राष्ट्रिय भेलाले पार्टी आन्तरिक जीवनमा देखिएका फरक बुझाइमा एकरुपता कायम, पार्टीभित्र देखिएका कमजोरीको निर्मम समीक्षा, आगामी चुनावहरू (स्थानीय, प्रदेश र राष्ट्रिय सभा)को पूर्वतयारीमा जुट्ने प्रष्ट निर्देश गरेको छ । 
तीन हजार ४१४ प्रतिनिधिहरू एकै ठाउँ सहभागी भएको ऐतिहासिक भेलाले पार्टीले बेहोरेको धक्का चिर्न ‘एउटा लडाइँ मात्र हारेको, सिङ्गो युद्ध नहारेको’ भन्ने उच्च मनोबल र राष्ट्रिय ‘जनपुनर्जागरण’को नेतृत्व एमालेले गर्छ भन्ने स्पष्ट सन्देश बोकेर अगुवा कार्यकर्ता आ–आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् ।
भेलाले पार्टी जीवनमा मात्रै ऊर्जा प्रदान नगरी नेपाली समाजको अन्तरविरोधलाई चिर्दै राजनीतिक ‘करेक्शन’का लागि राष्ट्रिय पुनर्जागरणको नेतृत्व लिने दुरगामी महत्वको सन्देश दिएको छ । बालेन्द्र शाह सरकारको अलोकतान्त्रिक, स्वेच्छाचारी तथा निरङ्कुश कदमका विरुद्ध आन्दोलनको तयारी, लोकतान्त्रिक शक्तिहरूसँग सम्वाद, सहकार्यको आह्वान भेलाको अर्को महत्वपूर्ण सन्देश हो ।
पार्टीले बेहोरेको धक्काको जरो चुनावी परिणाम मात्र नभई सरकार अपदस्त गरिएदेखि सुरु भएको भन्ने एकरुपता बुझाइलाई भेलाले तल्लो तहका कमिटीसम्म सम्प्रेषण गरेको छ । जसले हारको धक्काबाट कार्यकर्तामा देखिएको रक्षात्मक मानसिकतालाई आत्मविश्वासमा परिणत गरिदिएको छ । असंवैधानिक ढङ्गले अपहरित गरिएको लोकतन्त्र फिर्ता गराउन र राष्ट्र, लोकतन्त्र हितका लागि आन्दोलनको अग्रपङ्क्तिमा उभिएर बलिदान दिन सधैँ तयार रहने प्रतिबद्धताले पार्टीपङ्क्तिमा जोश र समर्पणको भावनालाई थप जगाएको छ ।
भेलाको अर्को महत्वपूर्ण र दूरगामी सन्देश पार्टीको आन्तरिक निर्मम आत्मसमीक्षा र आचरण शुद्धीकरण हो । भेलामा गरिएका सङ्कल्पहरूले के पुष्टी गरेको छ भने एमालेले विगतका ऐतिहासिक कामप्रति गर्व गर्दै आफ्ना कमी–कमजोरीलाई ‘बिना मोलाहिजा सच्याउने’ स्पष्ट सन्देश दिएको छ । पार्टीपङ्क्तिमा देखापरेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकता अन्त्य गरी ‘जनताको सेवक’का रूपमा स्थापित हुने सङ्कल्प भेलाले छ । साथै कतिपय नेता–कार्यकर्तामा देखापरेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम बनेर तिनीहरूलाई हटाउने पार्टीले अर्को महत्वपूर्ण सङ्कल्प गरेको छ ।
नेतृत्व तहदेखिनै नैतिकवान, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने प्रतिबद्धताले तल्लो तहका कार्यकर्तामा शुद्धीकरणको नयाँ आशा र उत्साह जगाएको छ । मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचारसंहिताको अक्षरशः पालना गर्ने र जिम्मेवारी लिँदा लिएको शपथ ग्रहणप्रति सधैँ प्रतिबद्ध रहने सङ्कल्पले सांगठनिक अनुशासनलाई कडाइका साथ लागू गर्नेमा जोड दिएको छ ।
सङ्कल्पमार्फत कार्यकर्तालाई जनताको बीचमा गएर उनीहरूका सुझाव, गुनासा र आलोचना सुन्ने तथा तिनलाई आत्मसात गर्ने स्पष्ट मार्ग दिइएको छ । यसका साथै, युवा पुस्तासँग संवाद गर्ने, उनीहरूको मनोविज्ञान र सरोकार बुझ्ने, सहकार्य गर्ने तथा आन्दोलनमा उनीहरूको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्ने सङ्कल्पले बदलिँदो परिस्थितिमा नयाँ पुस्तालाई जोड्ने रणनीति पार्टीले अघि सारेको छ ।
निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावना अनुरूप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुने र पार्टीको निर्णयलाई आत्मसात् गर्दै पार्टी उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने सङ्कल्पले चुनावी परिणाम पार्टीको पक्षमा निकाल्ने गरी आन्तरिक एकताको सन्देश दिएको छ ।
सामाजिक सम्बन्धमा अब्बल, स्थानीय तहमा जनताको हितमा र विकासको काम, सामाजिक सुरक्षा, समानताका निम्ति निरन्तर अभियानले एमालेले स्थानीय चुनावमा सधैं राम्रो परिणाम निकाल्ने एउटा ‘मानक’ बनाएको छ । यही मानकलाई निरन्तर कायम राख्न टोलसम्म भेलाको सन्देशलाई पुर्याउन अनिवार्य छ । टोलसम्म सन्देश पुर्याएर पुनर्जागरणमा पार्टीले सम्पूर्ण ताकत लगाए मात्रै भेलामा गरिएको सङ्कल्पले सार्थकता पाउने छ ।

हामीसँग जोडिनुहोस्