काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय भेलाबाट देहाय बमोजिम महत्वपूर्ण सङ्कल्प गरेको छ ।
- हामी असंवैधानिक ढङ्गले अपहरित लोकतन्त्र फिर्ता गरिछाड्ने छौँ । राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन हमेशा तयार रहने छौँ ।
- हामी सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौँ ।
- गत वर्ष व्यहोर्नु परेको धक्कालाई चिर्दै धुलो टक्टक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्ने छौँ । हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ । आगामी निर्वाचन मार्फत् यस सत्यलाई स्थापित गरिछाड्ने छौँ ।
- हामी पार्टीले गरेका ऐतिहासिक कामहरूप्रति गर्व गछौँ । कमी–कमजोरीहरूलाई बिना मोलाहिजा सच्याउँने छौँ । सकारात्मकता, नयाँ गति र उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ ।
- हामी जनताको बिचमा जानेछौँ । उहाँहरूका सुझाव, गुनासा र आलोचना सुन्नेछौँ । तिनलाई आत्मसात गर्नेछौँ ।
- युवा पुस्तासँग सम्वाद गर्नेछौँ । उहाँहरूको मनोविज्ञान र सरोकारलाई बुझ्नेछौँ । उहाँहरूसँग सहकार्य गर्नेछौँ र आन्दोलनमा उहाँहरूको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्नेछौँ ।
- हामी जिम्मेवारी लिँदा लिएको सपथ ग्रहणप्रति हमेशा प्रतिबद्ध रहने छौँ । नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने छौँ । मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचारसंहिताको अक्षरशः पालना गर्नेछौँ ।
- पार्टीपङ्क्तिमा देखापरेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्नेछौँ र जनताको सेवकका रुपमा स्थापित हुनेछौँ ।
- कतिपय नेता कार्यकर्तामा देखापरेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ । तिनलाई हटाउनेछौँ । स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रूपमा नेकपा (एमाले)को छविलाई थप उज्यालो बनाउनेछौँ ।
- निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावना अनुरुप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुनेछौँ । पार्टीको निर्णयलाई आत्मसात गर्दै पार्टी उम्मेदवारलाई विजय बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौँ ।
- महङ्गी, अभाव, विस्थापन, बेरोजगारी, विभेद, बसाइसराइँ, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता जनसरोकारका विषयमा सबैभन्दा अगाडि रहेर आवाज उठाउने छौँ । समाधानका लागि पहल गर्नेछौँ । सुखदुःखमा हमेशा जनताको साथमा रहनेछौँ ।
- अधिवेशन र बैठकहरूमा स्वस्थ वहस गर्ने छौँ । सहमति निर्माणको प्रयास गर्नेछौँ । लोकतान्त्रिक विधिबाट हुने फैसलालाई हार्दिकतापूर्वक सम्मान गर्नेछौँ ।
- गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्नेछौँ । आफूलाई लागेका कुरा निर्धक्कताका साथ सम्बन्धित कमिटीमा राख्नेछौँ । सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्र्नेछौँ ।
- असहमतिहरूलाई सम्मान गर्नेछौँ । असझदारी र अस्वस्थता हटाउने छौँ । सबै कमरेडहरूलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेछौँ । सिङ्गो पार्टीको ऊर्जालाई एकजुट बनाउन हरसम्भव प्रयत्न गर्ने छौँ ।
- हामी आफ्नो जिम्मेवारीलाई गम्भीरता, इमान र पूर्ण क्षमताका साथ पूरा गर्नेछौँ । आफ्नो काम र कार्यक्षेत्रको परिणामप्रति पूर्ण जवाफदेही हुनेछौँ । अरुतिर औँला तेस्र्याएर आफू दायित्वबाट पञ्छिने छैनौँ ।
- महिला हिंसा, जातीय विभेद र छुवाछूत, श्रमिकहरूप्रति अवहेलना, अन्धविश्वास, कुरीति र राज्य एवं सामुदायिक स्रोतहरूको दुरुपयोगप्रति घृणा गर्नेछौँ । सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्नेछौँ ।
- हामी विश्वास गछौँ– पार्टीको शक्तिका स्रोत जनविश्वास हो । नेतृत्वको आधार पार्टीपङ्क्ति र समाजबाट प्राप्त विश्वास हो । सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित हुन्छ । राजनीतिको आदर्श जनताको सेवा हो । पार्टीको भविष्य आफूभित्र हुने रूपान्तरण र सामाजिक रूपान्तरणमा खेल्ने भूमिका हो । हामी यसै आधारमा अगाडि बढ्नेछौँ ।
