४ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेला सम्पन्न भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको भेलामा विभिन्न नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले आ–आफ्ना अनुभव र समस्याहरूबारे रिपोर्टिङ गर्नुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनप्रतिनिधिहरूलाई आ–आफ्ना पालिकामा खासगरी हामीले गरेको कामको सत्य सम्वाद सुरु गर्न निर्देशन दिनुभयो । मानिसहरू पैतीस बर्षमा के भयो ? भनी जनतामा भ्रम सिर्जना गरिरहेकाले त्यसलाई चिर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) ले पहिलो पटक सरकार चलाउँदा २०५१ सालमा स्थानीय तहमा तीनलाख बजेट पठाएको र संविधान निर्माण गर्दा राज्यका तीनवटै अङ्गका अधिकार प्रयोग गर्ने गरी पालिकालाई अधिकार दिइएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तहलाई बलियो बनाउने काम एमालेले सुरु गरेको बताउनुभयो ।
देशमा श्रमदानको साँचो अभियान बबई सिंचाइ आयोजनाबाट सुरु भएको, आर्थिक तथा सामाजिक विकासका कामहरू अगाडि बढाउने काम एमालेले गरेको र सयौंको बलिदानबाट लोकतन्त्र ल्याइएको स्मरण गर्दै अहिले विकासको गति रोकिएको, लोकतन्त्र उल्ट्याइएको र सुशासन भाँडिएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले समृद्ध नेपाल बनाउने, सुखी नेपालीको जग बनाउने, जनताको सेवा गर्ने ठाउँ स्थानीय तह भएकोले जनप्रतिनिधिले त्यस कामको महत्वपूर्ण अवसरकालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभयो ।
भेलामा पार्टीका महासचिव शंकर पोखरेलले पार्टीको प्रतिष्ठालाई उठाउन भेलाको निष्कर्ष महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरूलाई आफ्नो कार्यकाल (पाँचबर्ष) मा भएका काम र संविधान जारी भएपछि र पालिका गठन भएपछि आ–आफ्ना पालिकामा भएका काम, सामाजिक, अर्थिक विकासको पुस्तिका अनिवार्य रूपमा प्रकाशित गरी जनताका बीचमा छलफल चलाउन निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले सबै जनप्रतिनिधिहरूलाई अनिवार्य रूपमा आ–आफ्ना बेरूजु छन् भने शून्य बनाउन निर्देशन दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपमहासचिव योगेश भट्टराई, सचिवहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
स्थानीय जनप्रतिनिधिहरूको भेला सम्पन्नः अध्यक्षद्वारा सत्य सम्वाद गर्न निर्देशन
सेयर गर्नुहोस्
