एमाले आज

प्रविधिगत प्रगतिले साझा समृद्धिको आधार तयार गर्नुपर्छ : नेता रिमाल

सेयर गर्नुहोस्

 ४ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले नयाँ प्रविधिको विकास केवल उत्पादन वृद्धिमा मात्र सीमित नभई सबै नागरिकको जीवनस्तर उकास्ने, असमानता घटाउने र साझा समृद्धि हासिल गर्ने माध्यम बन्नुपर्ने बताउनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) अन्तर्गतको थिंक ट्याङ्क सेन्टर फर कन्टेम्पोररी वर्ल्ड स्टडिज (CCWS) द्वारा आयोजित ‘China in Sight Global Insight Forum’ मा सम्बोधन गर्दै नेता रिमालले ‘नयाँ गुणस्तरीय उत्पादक शक्ति र साझा विकास : प्रविधिको उन्नतिदेखि साझा समृद्धिसम्म’ विषयक छलफलमा आफ्ना धारणा राख्नुभएको हो ।

नयाँ प्रविधि र साझा विकासको सन्तुलन

मन्तव्यका क्रममा नेता रिमालले कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्रविधि, जैविक प्रविधि, क्वान्टम प्रविधि, उन्नत उत्पादन प्रणाली र स्वच्छ ऊर्जाले समाज र अर्थतन्त्रमा नयाँ सम्भावनाका ढोका खोलिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रविधिले वस्तु तथा सेवाको गुणस्तर सुधार्न र वातावरणीय तथा सामाजिक चुनौती समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

उहाँले ‘नयाँ गुणस्तरीय उत्पादक शक्ति’ लाई प्राविधिक उन्नति र ‘साझा विकास’ लाई साझा समृद्धिसँग जोड्दै भन्नुभयो, "एउटा कसरी बढी सम्पत्ति सिर्जना गर्ने भन्नेमा केन्द्रित छ भने अर्कोले हामीलाई त्यो सम्पत्ति किन र कसका लागि सिर्जना गर्ने भन्ने कुरा सम्झाउँछ ।" प्रविधिले सिर्जना गरेको लाभ सीमित व्यक्ति वा संस्थामा मात्र केन्द्रित भए असमानता झन् बढ्ने चेतावनी उहाँले दिनुभयो ।

श्रमिक र मानव संसाधनको भूमिका

प्रविधिगत रूपान्तरणमा श्रमिकहरूको भूमिकाबारे चर्चा गर्दै नेता रिमालले श्रमिकलाई केवल उत्पादनको लागत वा परिवर्तनसँग अनुकूलन हुने वर्गका रूपमा मात्र नहेर्न आग्रह गर्नुभयो । "श्रमिक भनेका उत्पादनको लागत मात्र होइनन्, उनीहरू सम्पत्तिका वास्तविक सर्जक हुन् । त्यसैले उनीहरू प्राविधिक रूपान्तरणका सहभागी मात्र होइन, त्यसबाट प्राप्त हुने लाभका हिस्सेदार पनि बन्नुपर्छ," उहाँले भन्नुभयो ।

उहाँले नयाँ प्रविधिले रोजगारीको स्वरूप बदल्दा श्रमिकहरूलाई मर्यादित रोजगारी, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नयाँ सीप र जीवनपर्यन्त सिकाइको अवसर सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्राथमिकता र नेपालको सन्दर्भ

आधुनिकीकरण र विकासको बाटो सबै देशका लागि एउटै हुन नसक्ने स्पष्ट पार्दै नेता रिमालले प्रत्येक देशले आफ्नै स्रोत, क्षमता र आवश्यकताअनुसार प्राथमिकता तय गर्नुपर्ने बताउनुभयो । उन्नत उत्पादन प्रणाली, कृत्रिम बुद्धिमत्ता, विद्युतीय सवारीसाधन र स्वच्छ ऊर्जामा चीनले हासिल गरेको प्रगति उसको आफ्नै विकास यात्राको परिणाम भएको उहाँको भनाइ थियो ।

नेपालको सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो, "नेपालमा जलविद्युत्को अपार सम्भावना छ । हामी यसको उपयोग हरित उद्योग र विद्युतीय यातायातको विकासमा गर्न सक्छौँ ।" साथै उन्नत प्रविधि र सिँचाइमार्फत कृषि आधुनिकीकरण, डिजिटल सेवाबाट भौगोलिक कठिनाइ न्यूनीकरण तथा पर्यटन, निर्माण र साना उद्योगको उत्पादकत्व अभिवृद्धि गर्न सकिने उहाँले बताउनुभयो । परम्परागत उद्योगलाई त्याग्ने नभई अझ उत्पादनशील, प्रतिस्पर्धी र वातावरणमैत्री बनाउनुपर्ने तथा शिक्षा, अनुसन्धान र प्राविधिक सीपमा लगानी बढाएर युवालाई नयाँ प्रविधिसँग जोड्नुपर्नेमा उहाँको जोड थियो ।

अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत रूपान्तरण

विश्व अन्तरसम्बन्धित बन्दै गए पनि प्रविधि, अनुसन्धान पूर्वाधार, लगानी र प्राविधिक ज्ञान अझै सीमित देश र कम्पनीमै केन्द्रित रहेको नेता रिमालले औँल्याउनुभयो । विकासशील देशहरू उन्नत प्रविधिका उपभोक्ता वा कच्चा पदार्थ र सस्तो श्रमका आपूर्तिकर्तामा मात्र सीमित नभई आफ्नै उत्पादन क्षमता विकास गर्न सक्षम हुनुपर्ने उहाँको धारणा थियो ।

नेपाल र चीनबिचको सहकार्यबारे बोल्दै उहाँले जलविद्युत्, स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार, कृषि आधुनिकीकरण, औद्योगिक विकास र प्राविधिक शिक्षाका क्षेत्रमा सँगै काम गर्न सकिने बताउनुभयो । यस्तो सहकार्य वस्तु तथा सेवाको आदानप्रदानमा मात्र सीमित नरही प्रविधि हस्तान्तरण, ज्ञान आदानप्रदान, स्थानीय सीप विकास र पारस्परिक लाभमा केन्द्रित हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

अन्त्यमा, उत्पादक शक्ति र उत्पादन सम्बन्धबिच गहिरो सम्बन्ध हुने उल्लेख गर्दै नेता रिमालले आर्थिक संस्था, सार्वजनिक नीति र सामाजिक सम्बन्धले पनि प्रविधिगत परिवर्तनलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । "प्रगतिको वास्तविक मापन कुनै देशले कति उत्पादन गर्छ भन्ने मात्र होइन, त्यहाँका जनताको जीवन कति राम्रो छ भन्ने हो," उहाँले भन्नुभयो, "नवप्रवर्तन मानवताको सेवामा समर्पित होस्, उत्पादकत्वले साझा समृद्धि सिर्जना गरोस् र कुनै पनि वर्ग विकासको अवसरबाट वञ्चित हुन नपरोस् ।"

हामीसँग जोडिनुहोस्