११ मङ्सिर (२०८३), पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण नेपालको राष्ट्रिय हितका मुद्दा उठाउन असफल भएको बताउनुभएको छ ।
प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान, सीमा विवाद र राष्ट्रिय हितका विषयमा ठोस उपलब्धि दिन नसकेको बताउनुभयो ।
साथै, हवाई रुट र दुई देशबीचका पुराना सहमतिका विषयमा समेत भ्रमणले कुनै ठोस उपलब्धि दिन नसकेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीको भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सरोकारका विषयलाई सम्बोधन गर्न नसकेको उहाँको भनाइ थियो । विगतमा राष्ट्रियताको विषयमा अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको हितसँग जोडिएका मुद्दा प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको महासचिव पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरू माथि व्यङ्ग्य गर्नुहुन्थ्यो । हरेक भ्रमणमा उहाँले अर्ती उपदेश दिनुहुन्थ्यो । अस्ति उहाँ भारत भ्रमणमा जानुभयो । नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवाद भ्रमणका क्रममा छलफलको विषय नै बन्न नसक्नु सरकारको कमजोरी भएको उहाँले बताउनुभयो । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको एजेन्डामा नरहेको भनी स्पष्ट गरेको उहाँले बताउनुभयो ।
नेपाल–भारत सम्बन्धका विषयमा सुझाव दिन एमाले नेतृत्वको सरकारका पालामा गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनबारे पनि प्रधानमन्त्रीले भारतसँग कुरा उठाउन नसकेको महासचिव पोखरेलको भनाइ थियो । भारतले प्रतिवेदन बुझ्नसमेत आनाकानी गरिरहेको अवस्थामा त्यसलाई स्वीकार गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्रीले पहल गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो ।
त्यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा पनि भ्रमणबाट अपेक्षित प्रगति नभएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ ।
भारत भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त गर्नुलाई उपलब्धिका रूपमा प्रचार गरिएकोप्रति प्रश्न उठाउँदै उहाँले भन्नुभयो– विगतमा ऋणले देश डुबाएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण प्राप्तिलाई उपलब्धि भन्न थालेका छन् ।
