एमाले आज

जाजरकोटको नलगाडमा स्थानीय निर्वाचन लक्षित कार्ययोजना निर्माण 

सेयर गर्नुहोस्

१२ मङ्सिर (२०८३), जाजरकोट । नेकपा (एमाले)को मिसन पार्टी जागरण अभियानअन्तर्गत नलगाड नगर कमिटीको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बैठकले पार्टीका तत्कालीन दुई कार्यभार र १५ कामलाई केन्द्रमा राखेर स्थानीय निर्वाचन लक्षित कार्ययोजना निर्माण गरेको छ ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले देशको पछिल्लो राजनीतिक अवस्था, समाजमा विकसित हुँदै गएको पपुलिजम (लोकप्रियतावाद) र यसले लोकतान्त्रिक प्रणाली तथा सामाजिक संरचनामा पारिरहेको प्रभावबारे चर्चा गर्नुभएको थियो । उहाँले पपुलिजमको बाढी नेपाली समाज र राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै यसले अकल्पनीय रूपमा समाजलाई भत्काउने काम गरिरहेको धारणा राख्नुभयो ।
लोकतान्त्रिक संरचना, मूल्य–मान्यता र संस्थाहरूमाथि आक्रमण गर्दै पपुलिजम अनार्किजमतर्फ उन्मुख भइरहेको केन्द्रीय सदस्य आचार्यको भनाइ थियो । उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्दै जनताबीच जानुपर्ने, जनताका कुरा सुन्ने, सत्य स्थापित गर्ने र जनतासँग एकाकार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका सम्पूर्ण गतिविधि स्थानीय तहको निर्वाचनको तयारी र परिणाममुखी काममा केन्द्रित गर्नुपर्ने धारणा नेता आचार्यले राख्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) कर्णाली प्रदेश सचिवालय सदस्य धर्मबहादुर शाही, नलगाड नगर इन्चार्ज नवेन्द्र नेपाली, भेरी नगर इन्चार्ज गोपालबहादुर कटाला, जिल्ला संयोजक विश्व बिक्रम शाह, एनबी बस्नेत, दिनेश गौतमलगायत नेताहरूको सहभागिता रहेको थियो ।
बैठकमा नलगाड नगरपालिकाका १३ वटै वडाका नेताहरूले आ–आफ्नो वडाको वस्तुगत अवस्था, पार्टीको संगठनात्मक अवस्था, जनताका समस्या तथा स्थानीय गतिविधिबारे जानकारी गराएका थिए । बैठकमा वडा तहबाट प्राप्त सुझाव, अनुभव र वस्तुगत अवस्थालाई आधार बनाएर पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध विस्तार र स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

हामीसँग जोडिनुहोस्