२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) आगामी मङ्सिर २ र ३ गते काठमाडौमा राष्ट्रिय भेला आयोजना गर्ने मिति तय गर्दैै तयारीमा जुटेको छ ।
पार्टीको केन्द्रीय संगठन विभागले समन्वय गर्ने राष्ट्रिय भेलाको तयारीका लागि आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पहिलो बैठक बस्यो ।
पार्टीका उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता तथा पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका अन्य नेताहरु, सम्पर्क कमिटी र जनसंगठनका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको थियो । पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागिएको बताउनुभयो ।
पार्टीका सचिव तथा संगठन विभाग प्रमुख ढकालका अनुसार राष्ट्रिय भेला अभिमुखीकरणमूलक हुनेछ । मङ्सिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुने उहाँले जानकारी गराउनुभयो ।
राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित तीन हजारभन्दा बढीको सहभागी हुनेछ ।
