detail-img

प्रभावकारी बन्दै मिसन ग्रासरुट

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत धादिङमा पार्टी उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा आज (२०७९ चैत २ गते) जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय कमिटी सदस्य तथा धादिङ जिल्ला इञ्चार्ज खेम लोहनी लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो । 
यसैगरी मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठक तथा अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । 
पार्टीका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय सम्पर्क समन्वय कमिटीका इञ्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्य र मञ्चका अध्यक्ष शेखर बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 
बैठकले सम्पर्क मञ्चका सदस्यहरूको सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तारलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको छ । 
यस्तै, सम्पर्क मञ्च मातहतका दुई वटा क्षेत्रीय, नौ वटा पालिका र ७४ वटै वडा सम्पर्क मञ्चले यही चैत २० गतेभित्र भेला, बैठक, विस्तारित बैठक र अभिमुखीकरण कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ । 
सम्पर्क मञ्चका सचिव उमेश खड्काले सञ्चालन गर्नुभएको बैठकमा केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत र बाग्मती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीलगायत नेताहरू र सम्पर्क मञ्च मातहत रहेका विभिन्न कमिटीका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो ।
नुवाकोट 
नुवाकोटको दुप्चेश्वर गाउँपालिका कमिटीको विस्तारित बैठक समुन्द्रटारमा सम्पन्न भएको छ । 
पार्टी केन्द्रीय कमिटी सदस्य माधवप्रसाद अर्यालको उपस्थितिमा पालिका कमिटीका अध्यक्ष एवं वडाअध्यक्ष मैतबहादुर तामाङ (प्रेम) को अध्यक्षतामा बसेको बैठकले चैत्र ११ गतेसम्म वडा तहको बैठक आयोजना गरिसक्ने लगायतका कार्ययोजना तय गरेको छ । 
बैठकमा नुवाकोट जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, प्रदेश कमिटी सदस्यहरू बलराम आचार्य, अजितमान तामाङ, गोकर्णराज पाठक जिल्ला कमिटी उप सचिव काशिराज अधिकारी, निलकण्ठ आचार्य लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।