एमाले आज

बाग्मती प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत 

सेयर गर्नुहोस्

९ भदौ (२०८३), हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा ५७ मत र विपक्षमा शून्य मत परेको छ । 
उहाँलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (एमाले) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिनुभयो । बाग्मती प्रदेश सभामा १०४ प्रदेश सभा सदस्य रहेकामा थापालाई बहुमत ५३ मत आवश्यक थियो । नेकपा (एमाले) का प्रदेशसभा सदस्य थापा गत विहीबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो । 
यसअघि, प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री किरण थापा मगरले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नभएको छ । 
मुख्यमन्त्री थापाले सरकारका न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गरिने बताउनुभयो । प्रदेश सरकारप्रतिको जनविश्वास अझ बढाउनु आफ्नो सरकारको प्रमुख जिम्मेवारी रहेको उहाँको भनाइ छ । “जनताले परिणाम खोजिरहेका छन्, आश्वासन होइन नतिजा खोजेका छन्। कागजमा योजना होइन, गाउँघरमा विकास खोजेका छन्,” उहाँले भन्नुभयो, “नागरिकले सहज सेवा पाउने अवस्था सिर्जना गर्न मन्त्रालयहरूलाई यही दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । ”
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को कार्यदिशामा प्रदेश सरकार अघि बढ्ने बताउनुभयो । प्रदेश सरकार सङ्घीयताको महत्वपूर्ण आधार भएकाले प्रदेश सरकार बलियो हुँदा मात्र सङ्घीयता बलियो हुने उहाँको भनाइ छ । सम्भावनायुक्त बाग्मती प्रदेशमा आर्थिक समृद्धिका थुप्रै आधार भए पनि ग्रामीण क्षेत्र अझै समस्यामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले गाउँ र सहरबीच सन्तुलित विकास आवश्यक रहेको बताउनुभयो । 
स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारलाई सरकारले प्राथमिकता दिने बताउँदै उहाँले किसानलाई अनुदानमा मात्र सीमित नराखी बजारसँग जोड्ने आधार तयार गरिने बताउनुभयो । युवाका लागि रोजगारी तथा अवसर सिर्जना गर्न कृषि, साना उद्यम तथा उद्योगलगायतका क्षेत्रमा सरकारले विशेष जोड दिने उहाँले बताउनुभयो ।
विकास निर्माणका काम समयमै सम्पन्न गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 
मुख्यमन्त्री थापाले आफ्नो सरकार सत्तापक्षको मात्र नभई बाग्मती प्रदेशका सबै जनताको सरकार भएको बताउनुभयो । सरकारलाई जिम्मेवार र प्रभावकारी बनाउन प्रतिपक्षबाट रचनात्मक सहयोगको अपेक्षा गर्दै उहाँले आलोचनालाई विरोधका रूपमा नभई सरकारलाई सही बाटोमा अघि बढाउने माध्यमका रूपमा लिने बताउनुभयो । “राजनीतिक स्थायित्व प्रदेशको विकासका लागि महत्वपूर्ण छ । हामी राजनीति गरौँ तर विकासमा एक हौँ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री थापाले विश्वासको मतलाई केवल सङ्ख्याको विषयका रूपमा नलिन आग्रह गर्दै यो प्रदेश र जनताको विकासका लागि दिइएको जिम्मेवारी भएको बताउनुभयो ।

हामीसँग जोडिनुहोस्