detail-img

निस्वार्थ र सेवाभावका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह 

कपिलवस्तु । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयुन्त्रका प्रमुख भानुभक्त ढकालले नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार अभियान) पार्टी कार्यकर्ताको अग्नि परीक्षा भएको बताउनुभएको छ । 
स्थायी कमिटी सदस्य ढकालले नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काम मिसन ग्रासरुटले गर्ने विश्वास व्यक्त गर्नुभयो । 
नेता ढकालले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्ने कार्यमा निस्वार्थ लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता ढकालले जनसंगठनतर्फ लक्षित गर्दै वर्षौंसम्म सम्मेलन, अधिवेशन नगर्ने, निष्क्रिय रहने जनसंगठनको कुनै औचित्य नरहने स्पष्ट पार्नुभयो । 
मिसन ग्रासरुटको जिल्लास्तरीय मध्यवधि समीक्षा बैठकलाई बिहीबार तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो ।


सोही बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईले विगतमा नेताका कुरा जनताले सुन्ने गरेको जिकिर गर्दै यस पटकको मिसन ग्रासरुटमार्फत जनताका कुरा, जनताका समस्या जनताकै घर आगनमा नेताले सुन्ने अभियानका रूपमा मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो । नेता डा.भट्टराईले पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानका रूपमा समेत अभियान सञ्चालन हुने दावी गर्नुभयो । जिल्लास्तरीय समीक्षा बैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानको संक्षिप्त प्रतिवेदन बैठकमा प्रस्तुत गर्नु भएको थियो । 
समीक्षा बैठकमा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने,  नेकपा (एमाले) का केन्द्रीय सदस्यहरू भूमिश्वर ढकाल, मेनका पोख्रेल, सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मो. हसन हलवाई, सजिदा सिद्धिकीले पालिकाको संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो । 
त्यस्तै कार्यक्रममा नेताहरू झविलाल पोख्रेल भानुप्रकाश श्रेष्ठ, पिताम्बर खनाल, भेषराज पाण्डे, युवराज पोख्रेल, रामविलास यादव लगायतका नेता कार्यकर्ताले आ आफ्ना सुझाव राख्नुभएको नेकपा (एमाले) कपिलवस्तुका  विश्राम प्रसाद चौधरीले बताउनुभयो । 
नेकपा (एमाले) कपिलवस्तु जिल्लाका अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा बसेको समीक्षा बैठकमा पार्टीका केन्द्रीय नेता, प्रदेश स्तरीय नेता एवम् जिल्ला तथा पालिका संयोजकहरूको उपस्थिति रहेको थियो ।  
ग्रासरुट अभियानले पार्टीमा नयाँ पुस्तालाई स्थापित गर्ने विश्वास 
यसैगरी, बुधबार कपिलवस्तु नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले वाम आन्दोलनको मूल नेतृत्व एमालेबाट मात्र सम्भव रहेको वताउनुभयो । 
नेता ढकालले सामुहिक ढङ्गले सेवा भावबाट राजनैतिक आन्दोलनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 
नगरस्तरीय कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानका रूपमा समेत अभियान सञ्चालन हुने स्पष्ट गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानका क्रममा प्राप्त जनताका समस्यालाई पार्टीले एकीकृत योजना मार्फत समाधान खोज्ने बताउनुभयो ।  
कार्यक्रममा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने,  नेकपा (एमाले) का केन्द्रीय सदस्यहरु भूमिश्वर ढकाल, मेनका पोख्रेल, सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मो. हसन हलवाई, साजिदा सिद्धिकीको उपस्थिति रहेको थियो । 
भेलाद्वारा कमिटी गठन 
यसैबीच, बिहीबार कपिलवस्तुका गाउँ वस्तीमा  पार्टी सुदृढीकरण तथा  विस्तारका विभिन्न कार्यक्रम   भएका छन् । अभियान अन्तर्गत वाणगंगा नगरपालिका वडा नं ४ मा झुँगा  टोल विकास कमिटीको आयोजनामा भेला सम्पन्न भएको छ ।  टोल कमिटीका अध्यक्ष भरत प्रताप सेनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज पार्वती पाण्डे, नगर कमिटी सदस्य गोबिन्द पौडेल, अनेमसंघ जिल्ला सदस्य रुपा पालुङ्गे मगर, नगर परिषद् सदस्य सुनिता सेन, वडा अध्यक्ष देवी पाण्डे, उपाध्यक्ष कृष्ण शाही, सदस्य दामोदर पौडेल लगायतले वर्तमान समसामयिक विषयमा बोल्नुभएको थियो ।


भेलाले पुनः भरत प्रताप शाहको अध्यक्षतामा ११ सदस्यीय झुँगा टोल कमिटी सर्वसम्मत चयन गरेको छ । 
यस्तै ठाकुरापुर टोल कमिटीको आयोजनामा भेला सम्पन्न भएको छ । जिल्ला कमिटी सदस्य पार्वती पाण्डेको उपस्थिति र टोल कमिटीका अध्यक्ष दिनानाथ पौडेलको अध्यक्षतामा भएको भेलामा  वडा कमिटीका अध्यक्ष देवी पाण्डे , उपाध्यक्ष कृष्ण शाहीको पनि हुनुहुन्थ्यो ।