detail-img

काठमाडौंको टोखामा पार्टीको कार्यनीतिबारे प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको (मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत बिहीबार काठमाडौंको टोखा नगरपालिकाको ११ वटै वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी बलियो बनाउन आग्रह गर्नुहुँदै संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीको कार्यनीति र समाजवादको लक्ष्यको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा पार्टी सचिव गोकर्ण बिष्टले विगतको चुनावमा पॉच दल मिलेर एमालेलाई हराउन खोजेको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई बलियो बनाउन अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
वामपन्थी एजेन्डा र सहयात्री छाडेर माओवादी दक्षिणपन्थमा हिंडिरहेको उल्लेख गर्दै सचिव बिष्टले कुनै बेला कम्युनिष्टमाथि झुटा आरोप लगाउने कांग्रेस आज माओवादीबिना बाँच्न नसक्ने भएको बताउँदै माओवादीहरू अवसरवादी दक्षिणपन्थी भासमा डुबेको धारणा राख्नुभयो ।
माओवादी लगायतका इमानदार कम्युनिस्ट नेता–कार्यकर्ताले अब एमालेमा आउनु बाहेकको कुनै विकल्प नभएको उहाँले बताउनुभयो । 
कार्यक्रममा पार्टीका बागमती प्रदेश कमिटीका सदस्य ईश्वर बिडारी, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला लगायतले धारणा राख्नुभएको थियो ।
वर्तमान सरकार राष्ट्रका लागि बोझः विष्ट 
चौतारा (सिन्धुपाल्चोक) । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत बुधबार (२०७९ चैत ८ गते) सिन्धुपाल्चोक जिल्लाको मध्यावधि समीक्षा बैठक सम्पन्न भएको छ । 
पार्टी सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष कमल नेपालको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न भएको हो । 
बैठकलाई सम्बोधन गर्दै सचिव बिष्टले मुलुक गम्भीर सङ्कटबाट गुज्रिरहेको बताउँदै वर्तमान सरकार राष्ट्रको लागि बोझ भएको र  जति दिन रह्यो देश बर्बादी बाहेक केही नहुने बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्व र विकास एमाले बिना सम्भव नरहेको  बताउँदै सचिव विष्टले संगठन बलियो र प्रभाकारी भए एमालेबिरूद्व लाग्ने देशी र विदेशी प्रतिक्रियावादी शक्ति र जनबिरोधी तत्वलाई सहजै परास्त गर्न सकिने बताउनुभयो । 
मुलुकलाई जोगाउन एमाले बलियो शक्तिको रूपमा विकास हुनुपर्ने बताउँदै सचिव विष्टले मिसन ग्रासरूटले समृद्ध नेपाल निर्माण अभियानको सैद्धान्तिक र वैचारिक रूपमा छलफल चलाउने र पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि तय गरेको लक्ष्य पूरा गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 
बैठकमा स्थायी कमिटी सदस्यद्वय काशिनाथ अधिकारी, शेर बहादुर तामाङ्ग, केन्द्रीय सदस्यहरू माधब ढुंगेल, मनोज जङ्ग थापा, सोम मिश्र, निर्मल भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो । 

सिन्धुलीमा वडा भेला
यसैगरी, मिसन ग्रासरूट अन्तर्गत सिन्धुलीको फिक्कल गाउँ पालिकाको ३ नम्बर वडा भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य सरेश नेपालको उपस्थितिमा भेला सम्पन्न भएको हो । प्रदेश सदस्य बिनोद खड्का, पालिका कमिटीका अध्यक्षसहित जनप्रतिनिधिहरू पनि भेलामा सहभागी हुनुहुन्थ्यो । वडा कमिटीको कार्यालय उद्घाटन गर्दै केन्द्रीय सदस्य नेपालले विचारधारात्मक, संगठनात्मक र जनसरोकारसँग सम्बन्धित तीन कामको एकत्वरूप नै मिसन ग्रासरुट भएको बताउनुभयो । 
काभ्रेपलाञ्चोकमा श्रम शिविर 
मिसन ग्रासरूट अन्तर्गत काभ्रेको तिमाल गाउँपालिका वडा नंं. २ कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य यामबहादुर परियारको उपस्थिति र कमिटीका अध्यक्ष वीर नन्द तामाङको अध्यक्षता बैठक बसेको हो ।


बैठकमा प्रदेशसभा सदस्य ज्ञान बहादुर तामाङ, प्रदेश कमिटी सदस्य भक्तकुमारी लामा र प्रेस चैतारीका महासचिव हिरामान लामाले मिसन ग्रासरुटको उद्देश्यबारे चर्चा गर्नुभएको थियो । तिमाल गाउँपालिकाको वडा नंं. ८ कमिटीको विस्तारित बैठक पनि सम्पन्न भएको छ ।
यस्तै, नेकपा (एमाले) ले सञ्चालन गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका कमिटीले पनौती– तालढुङ्गा सडकखण्डअन्तर्गत पर्ने मसानेभिरमा श्रम शिविर सञ्चालन गरेको छ । कमिटीले सञ्चालन गरेको श्रम शिविरमा सघाउनका लागि स्थानीय जनताको पनि उल्लेखनीय सहभागिता रहेको थियो । एमालेका नेताकार्यकर्तालाई जनताले खाजा पानीको प्रबन्ध गरेर स्वागत गरेका छन् । अभियानमा पार्टी केन्द्रीय सदस्य रामेश्वर फँुयाल, रामहरि सुबेदी लगायत नेताहरु खटिनुभएको छ ।

दोलखाको तामाकोशीमा वडा समन्वय संयन्त्र गठन
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ भिरकोटमा नेकपा (एमाले) वडा कमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य सुवास देवकोटाको उपस्थितिमा सम्पन्न बैठकले वसन्त थापाको संयोजकत्वमा ११ सदस्यीय वडा समन्वय संयन्त्र गठन गर्नुको साथै टोलस्तरमा ७ वटा टोल कमिटी निर्माण गर्ने निर्णय भएको छ ।


यस्तै, बैठकले सदस्यता नवीकरण, नयाँ सदस्यता बिस्तार, जनसङ्गठनहरूको संयुक्त भेला–प्रशिक्षण लगायतका कार्ययोजना समेत निर्माण गरेको छ । बैठकमा प्रदेश कमिटी सदस्य डबल पाण्डे, पालिका इन्चार्ज देवी फँुयाल, पालिका अध्यक्ष उर्मिला खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो । 
रामेछापमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशन सम्पन्न
मिसन ग्रासरूटअन्तर्गत राष्ट्रिय युवा संघ नेपाल रामेछापको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संघको अध्यक्षमा सुरेन्द्र कार्की निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कार्कीको नेतृत्वमा ५० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएको हो । अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः मनिता सुनुवार, शिवसागर मगर र दीपक भण्डारीलाई चयन गरेको छ । सहसचिवमा बलराम थापा मगर र रामहरि कार्की चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले रामेछापमा अध्यक्ष आनन्द श्रेष्ठले नवनिर्वाचित कमिटीको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो । उहाँले निर्वाचित पदाधिकारी र सदस्यलाई गाउँमै खटिन निर्देशन दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कार्कीले संगठनले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताउनुभयो । उहाँले आफूले सबैलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो । अधिवेशनले युथ फोर्सको जिल्ला प्रमुखको जिम्मेवारी रोशन पाख्रिन (सानो) लाई दिएको छ । यस्तै, साइवर सर्कल जिल्ला प्रमुखमा आकाश खड्का चयन हुनुभएको छ ।