एमाले आज

सामाजिक सञ्जालको प्रयोगले मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि चुनौतीः महासचिव पोखरेल

सेयर गर्नुहोस्

७ मङ्सिर (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि जनताले राहत पाउनुको सट्टा थप आर्थिक कठिनाइ भोग्नुपरेको बताउनुभएको छ । 
बजारमा वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको भन्दै सरकार महंगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न असफल भएको उहाँले बताउनुभयो । 
काठमाडौँको टोखा नगर कमिटीले मौलिक महान् पर्वहरू तथा नेपाल सम्वत् ११४७ नयाँ वर्षको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको बताउनुभयो ।
नयाँ सरकारबाट जनताले परिवर्तन, राहत र सहज जीवनको अपेक्षा गरे पनि व्यवहारमा त्यसको अनुभूति गर्न नपाएको महासचिव पोखरेलको भनाइ थियो ।
‘यो नयाँ सरकार आइसकेपछि, सबैभन्दा पीडा जनतालाई भएको छ । किन भएको छ भने महंगी बढेको बढै छ । दुई वर्ष अगाडि बजार भाउ के थियो र अहिले बजार भाउ के छ भनेर हेर्ने हो भने आकाश जमिनको अन्तर छ,’ उहाँले भन्नुभयो ।
सरकारको प्रमुख दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि नागरिकले आर्थिक भार खेप्नुपरेको र शासन सञ्चालन गर्नेहरूबाट आश्वासन मात्रै आइरहेको महासचिव पोखरेलको भनाइ थियो । 
‘आखिर सरकार भनेको त जनताको सुखको लागि हो नि त । जनताले सबै कुरा गुमाउने अनि शासनमा बस्नेहरूले चमत्कार गरिदिन्छन् भनेर हामी कहिलेसम्म बस्ने ? गर्ने केही पनि होइन, गर्छ कि भनेर मख्ख पारेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति, भ्रम र नकारात्मक प्रभाव फैलाइरहेको पनि उहाँले बताउनुभयो । मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि चुनौती थपिएको महासचिव पोखरेलको भनाइ थियो ।
सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचि अनुसारका सामग्री निरन्तर देखाउने प्रवृत्तिले मानिसको सोच्ने शैली, सिर्जनशीलता र सामाजिक व्यवहारमा नकारात्मक प्रभाव पारिरहेको उहाँले बताउनुभयो । समाजलाई प्रविधिको विकाससँग जोड्दै त्यसबाट उत्पन्न विकृति नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने धारणा राख्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाल सम्वत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउन गरेको योगदानको स्मरण गर्नुभयो । मौलिक चाडपर्व, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनले राष्ट्रिय एकता बलियो बनाउने महासचिव पोखरेलको भनाइ थियो ।

कार्यक्रममा पार्टीका उपमहासचिव योगेश भट्टराई, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 

 

हामीसँग जोडिनुहोस्