detail-img

मिसन ग्रासरुटः गण्डकी प्रदेशको समीक्षा बैठक सुरु

पोखरा । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को गण्डकी प्रदेशस्तरीय समीक्षा बैठक मंगलबारदेखि पोखरामा सुरु भएको छ । 
दुई दिने समीक्षा बैठकको पहिलो दिन गण्डकी प्रदेशका सात जिल्ला कमिटीका अध्यक्षहरूले जिल्लाको प्रतिवेदन पेश गरेको पार्टीको गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । 
उहाँका अनुसार अभियान अन्तर्गत पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले अध्यक्षहरूको प्रतिवेदन उपर थप राय प्रकट गरेका छन् । 
गण्डकी प्रदेशमा अनुगमनको जिम्मेवारीमा रहनुभएका पार्टीका  उपाध्यक्ष युवराज ज्ञवालीले समीक्षा बैठकको उद्घाटन गर्नुभएको थियो । 
मंगलबारको बैठकका नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, गोरखाका अध्यक्ष प्रेम गुरुङ, बागलुङका अध्यक्ष हिराबहादुर केसी, म्याग्दीका अध्यक्ष देवेन्द्र केसी, पर्वतका अध्यक्ष राजु पौडेल, स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे, तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ । बुधबार लमजुङ, नवलपुर, मुस्ताङ र मनाङका अध्यक्षले प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
समीक्षा बैठकमा पार्टीमा महासचिव शंकर पोखरेल,  उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी समितिका सदस्य खगराज अधिकारी, जिल्ला अध्यक्ष, अभियानको क्रममा पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा समीक्षा बैठक भएको छ । 
गण्डकी प्रदेशमा पार्टीले मिसन ग्रासरुटको संयोजकको जिम्मेवारी  सचिव पद्मा अर्याल र अनुगमनको जिम्मेवारी स्थायी कमिटीका सदस्यहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापालाई दिएको छ ।