१० कात्तिक (२०८३), काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीब्र पारेको छ । भेलामा केन्द्रीय कमिटीदेखि पालिका कमिटीसम्म, विभिन्न तहका जनप्रतिनिधि, जनसंगठनसहित तीनहजार १६४ जनाको सहभागिता रहने छ ।
राष्ट्रिय भेलाको तयारीका क्रममा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टीपङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयका आधारमा पार्टीलाई एकताबद्ध बनाउँदै नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउन राष्ट्रिय भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि भेलाले पार्टीपङ्क्तिलाई प्रेरित गर्ने उहाँको भनाइ थियो ।
उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । २०८२ सालको निर्वाचनको परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा पार्टीले लिएको उल्लेख गर्दै उहाँले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताउनुभयो ।
‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ उपाध्यक्ष पौडेलले भन्नुभयो ।
बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गर्नुभयो । भेलाको सन्देश पार्टीपङ्क्ति र जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उहाँले आग्रह गर्नुभयो ।
बैठकको अध्यक्षता गर्नुभएका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराउनुभयो । उहाँका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, पालिका कमिटी, विभिन्न तहका जनप्रतिनिधि र जनसंगठनसहित कुल ३ हजार १६४ जना सहभागी हुनेछन् ।
पार्टीले राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई थप सक्रिय बनाउने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि नेता तथा कार्यकर्तालाई एकताबद्ध रूपमा परिचालित गर्ने अवसरका रूपमा लिएको छ ।
बैठकमा पार्टीका उपाध्यक्ष रघुजी पन्त, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, विभिन्न विभाग प्रमुखहरू, जनसंगठन इन्चार्ज केन्द्रीय कमिटीका सदस्यहरू लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय भेलाको तयारी तीब्र
सेयर गर्नुहोस्
