detail-img

शीर्ष नेताहरूबीचको सहमतिपछि आधारहीन र आपत्तिजनक अभिव्यक्ति अभिलेखबाट हटाइयो

काठमाडौं । नेकपा (एमाले) को आपत्ति र विरोधपछि पशुपतिको मन्दिरमा जडान गरिएको  जलहरि सुनको भनी पित्तलको राखी भ्रष्टाचार गरेको भन्ने नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालको गैरजिम्मेवार र आधारहीन अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ती दलका प्रमुख सचेतकसहित शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त आपत्तिजनक अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको थियो । 
माओवादी केन्द्रका सांसद दाहालले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कोरोना महामारीको समयमा दुई अर्ब रुपियाँ भ्रष्टाचार गरेको र पशुपतिमा सुनको भनी पित्तलको जलहरि जडान गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानमन्त्री, नेकपा (एमाले) का अध्यक्ष ओलीमाथि आरोप लगाएपछि नेकपा (एमाले) ले उक्त भनाइको पुष्टि हुनुपर्छ भन्दै संसदमा विरोध जनाई संसद बैठक अवरुद्ध गरेको थियो । 
शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखले सांसद दाहालको अभिव्यक्ति अभिलेखबाट हटाउन रुलिङ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलका नेतालाई जोडेर आफ्ना सांसदले दिएको अभिव्यक्ति उचित नभएको वताउनुभएको थियो । त्यसपछि संसद बैठक सुचारु भएको थियो ।