एमाले आज

सरकार बाह्य शक्तिको खेलौना बनेको आशङ्का उत्पन्न भएको छः महासचिव पोखरेल

सेयर गर्नुहोस्

-राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन । राज्यका कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको व्यवहार बालबालिकाले भाँडाकुटी खेलेजस्तो देखिन थालेको छ 

-प्रदर्शन तथा विरोधका गतिविधि रोक्न दबाब दिने र सञ्चारमाध्यमबाटै पत्रकार पक्राउ गर्नेजस्ता कार्यले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न 

-सञ्चारमाध्यमबाटै पत्रकार पक्राउ गर्नेजस्ता कार्यले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि पनि सरकारको व्यवहार उचित देखिँदैन 

१६ कात्तिक (२०८३), बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशङ्का उत्पन्न भएको बताउनुभएको छ । 
सोमबार रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारको कार्यशैलीले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले सरकारको गतिविधिले मुलुकभित्र मात्रै नभई छिमेकी देशहरूमा समेत यस्तो आशङ्का पैदा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– भूराजनीतिक द्वन्द्वबिच नेपाल सरकार र त्यसको नेतृत्व जुन ढङ्गले परिचालित भइरहेको छ, त्यसले मुलुकको संवेदनशील भू–राजनीतिक अवस्थालाई जोखिममा पारेको आशङ्का धेरैमा देखिएको छ ।
लोकतन्त्रको आधार संगठित हुने र आफ्ना विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएको तर अहिले विश्वविद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी संगठनका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्यसमेत सङ्कटमा पर्दै गएको बताउनुभयो ।   
यस्तै, ट्रेड युनियनका गतिविधि नियन्त्रण गर्न खोजिएको, गृह मन्त्रालयको आदेशका नाममा प्रदर्शन तथा विरोधका गतिविधि रोक्न दबाब दिने र सञ्चारमाध्यमबाटै पत्रकार पक्राउ गर्नेजस्ता कार्यले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको उहाँको भनाइ थियो ।
पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि पनि सरकारको व्यवहार उचित नभएको महासचिव पोखरेलले बताउनुभयो । प्रधानमन्त्रीका सल्लाहकारले सामाजिक सञ्जालमार्फत पत्रकारलाई लक्षित गरी टिप्पणी गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पत्रकारितालाई नियन्त्रण गर्ने प्रवृत्ति देखिएको बताउनुभयो । 
राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले परिपक्व व्यवहार देखाउनुपर्नेमा सामाजिक सञ्जालका गतिविधि र टिप्पणीमा अल्झिने गरेको उहाँको भनाइ थियो । 
महासचिव पोखरेलले भन्नुभयो– राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन । राज्यका कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको व्यवहार बालबालिकाले भाँडाकुटी खेलेजस्तो देखिन थालेको छ ।
यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउनुका साथै संविधानको कार्यान्वयन र राज्यका संस्थागत आधारसमेत कमजोर बनाउँदै लगेको उहाँले बताउनुभयो । 

हामीसँग जोडिनुहोस्