एमाले आज

भदौ २४ को त्रासदी, इतिहासको कालो अध्यायः एमाले

सेयर गर्नुहोस्

-भदौ २४ को त्रासदी राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोस’लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप
-प्रदर्शनका नाममा अराजकतालाई ‘जायज’ र परिवर्तनका नाममा हिंसालाई ‘बैध’ बनाउने कामले लोकतान्त्रिक दृष्टान्तलाई खण्डित गर्ने र दूरगामी रुपमा अत्यन्त हानिकारक नजिर बसाल्ने जोखिम
-हामीले यो सङ्कल्प लिनैपर्छ– लोकतन्त्र, संविधान, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षा एवं शान्तिका लागि सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति तथा व्यक्तिहरु नयाँ उचाइका साथ सक्रिय हुनु अपरिहार्य छ  

 
२४ भदौ (२०८३), काठमाडौं । आज भदौ २४ गते, राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको सर्वाधिक ठुलो आक्रमण र विध्वंशको एक वर्ष पूरा भएको दिन ! 
नेकपा (एमाले)ले भदौ २४ को त्यो त्रासदी नेपालको इतिहासकै  कालो अध्याय भएको जनाएको छ ।  
अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रेस वक्तव्य जारी गर्नुभई भदौ २४ को त्रासदी राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोस’लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप भएको भनी स्मरण गर्नुभएको छ । 
भदौ २४ को विध्वंशका आरोपीहरुलाई जुन ढङ्गले उन्मुक्ति दिने र उनीहरु विरुद्ध सुरु भएका अनुसन्धान एवं अभियोजनका प्रक्रियालाई जसरी रोक्ने काम भएको छ, यसले राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको वक्तत्वमा उल्लेख गरिएको छ । 
गतवर्ष जसरी प्रदर्शनका नाममा अराजकतालाई ‘जायज’ र परिवर्तनका नाममा हिंसालाई ‘बैध’ बनाउने काम भयो, यसले नेपाली जनताले स्थापित गरेको लोकतान्त्रिक दृष्टान्तलाई खण्डित गर्ने र दूरगामी रुपमा अत्यन्त हानिकारक नजिर बसाल्ने जोखिम पैदा गरेको भन्दै अध्यक्ष ओलीले चिन्ता प्रकट गर्नुभएको छ । 
नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित रहेको भन्दै उहाँले उक्त दिनको स्मरण गर्नुभएको छ । 
‘आम नेपाली जनता र सिङ्गो राष्ट्र चाहन्छन्– अब कहिल्यै त्यस्तो नहोस्’, अध्यक्ष ओलीले वक्तव्यमा भन्नुभएको छ । 
भदौ २४ को विध्वंशको दुःखद स्मरण गरिरहँदा हामीले यो सङ्कल्प लिनैपर्छ– लोकतन्त्र, संविधान, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षा एवं शान्तिका लागि सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति तथा व्यक्तिहरु नयाँ उचाइका साथ सक्रिय हुनु अपरिहार्य छ । उहाँले यस दिशामा सहकार्यका साथ अगाडि बढ्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्नुभएको छ । 
नवयुवाका केही समूहहरुको शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरु, शहीद र अग्रजहरुका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंश र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो’ अध्यक्ष ओलीले वक्तव्यमा शान्तिपूर्ण भनेर अनुमति लिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका निम्ति को जिम्मेवार छन् भन्नेबारे गहिरो छानबिन हुनुपर्ने बताउनुभएको छ । 
अध्यक्ष ओलीले वक्तव्यमार्फत् गतवर्ष भदौ २३ गतेको नवयुवा प्रदर्शन र त्यसपछिका घटनाक्रममा गोली लागी जीवन गुमाउने युवाहरु र कर्तव्य पालनाका सिलसिलामा आपराधिक तत्वहरुको आक्रमणमा मारिनु हुने प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 
उहाँले अझै उपचारकै क्रममा रहनुभएका घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुका साथै कहालीलाग्दो विध्वंशपछि पुनर्निर्माणको प्रयासमा रहनुभएका राजनीतिक–सामाजिक व्यक्तित्व एवं व्यवसायीहरुमा पुनरुत्थानको शुभेच्छा व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीद्वारा जारी वक्तव्य–

 

हामीसँग जोडिनुहोस्