detail-img

प्रचार तथा प्रकाशन विभाग बैठकः कार्ययोजना निर्माणबारे छलफल  

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको नवौं बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्यो । 
बार्षिक कार्ययोजना निर्माणको क्रममा रहेको विभागले आजको बैठकमा पार्टीद्वारा प्रदेशमा प्रचार कामको जिम्मेवारी दिइएका केन्द्रीय सदस्यहरूसँग सुझाव लिने गरी छलफल गरेको छ । प्रचारको कामलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्म सञ्जाल निर्माण गरी व्यवस्थित रूपमा अगाडि बढाउने गरी विभागले कार्ययोजनाको तयारी गरिरहेको छ । 
पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवाली र उपमहासचिव विष्णु रिमालको उपस्थिति र विभागका प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।

बैठकमा कार्यवाहक महासचिव ज्ञवालीले विभागको मुख्य काम पार्टीलाई नीति निर्माणका लागि सुझाव दिने भएको वताउँदै मिडियामा आएको विविधताजस्तै जनतामा पनि विविधता रहेको हुँदा न्यू मिडियालाई केन्द्रभागमा राखे पनि रेडियो सुनेर, पत्रिका पढेर धारणा बनाउनेहरूलाई पनि लक्ष्यित गरेर व्यापक कार्ययोजना निर्माण गर्नुपर्ने वताउनुभयो । 
बैठकमा उपमहासचिव विष्णु रिमालले पार्टीले राम्रा काम गरे पनि प्रचार नहुने अवस्था रहेकाले प्रचार कार्यमा परेको खाल्टो पुर्ने र प्रचारको कामका लागि केन्द्रदेखि सबै जिल्ला, पालिका र वडासम्म सञ्जाल निर्माण गर्ने सोचका साथ केन्द्रीय सदस्यहरूलाई प्रदेशमा खटाइएको वताउनुभयो । उहाँले प्रचारको काम एउटै भाकामा तलसम्म जाने गरी नीति निर्माण गर्न आग्रह गर्नुभयो । 
बैठकमा विभाग प्रमुख गौतमले कार्ययोजनाका लागि एकसाताभित्र सुझाव पठाउन प्रदेशमा प्रचारको जिम्मेवारी तोकिएका केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो । बैठकमा कोशी प्रदेशका युवराज वास्कोटा, मधेशका अरविन्द सिंह, बाग्मतीका सुवास देवकोटा, गण्डकीका राजीव पहारी, कर्णालीका निरज आचार्य र सुदूरपश्चिमका कमला बोहोरा उपस्थिति हुनुहुन्थ्यो । 
यसैगरी विभागले पार्टीका २३ वटै जनसंगठनका प्रचार विभाग प्रमुख तथा प्रतिनिधिहरूसँग पनि जनसंगठनमा प्रचार कामको अवस्था, योजना र प्रचार तथा सूचना सम्प्रेषणको माध्यम लगायतका विषयमा जानकारी लिनुका साथै पार्टीको प्रचार काममा जनसंगठनहरूलाई जोड्ने विषयमा छलफल गरेको छ ।