detail-img

‘सांसदहरूलाई बोल्नबाट रोक्न सरकारले संसद बैठक सूचना टाँसेर स्थगित गर्न लगायो’ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले गर्ने छानविन भरपर्दो र विश्वासिलो नभएका कारण निष्पक्ष छानविनका लागि समिति गठनको माग गरिएको स्पष्ट गर्दै सरकारका संयन्त्रलाई छानविन गर्नबाट आफूहरूले नरोकेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले संसदमा सांसदहरूलाई सुन प्रकरणका विषयमा बोल्नबाट रोक्ने उद्देश्यले सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न बाध्य बनाएको वताउँदै छानविन समिति बनाउँदा सरकारको के विग्रन्छ भनी प्रश्न गर्नुभयो । 
एकजना नागरिकले विदेशबाट आउँदा आमाका लागि ल्याएको सिक्री खोस्ने सरकारले दिनको क्विण्टल भन्दा बढी सुन तस्करीमा प्रश्रय दिएको वताउँदै अध्यक्ष ओलीले भन्सार नियन्त्रण गर्न अयोग्य रहेका कारण गृहमन्त्रीको राजीनामा मागिएको स्पष्ट गर्नुभयो । 
नेपाली कम्युनिष्ट पार्टीका पहिलो संसदीय दलका नेता तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवसका अवसरमा बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले सरकारका स्थायी संरचना, नियमित संस्थाले छानविन गर्दै गर्दा पनि संसदीय समितिले छानविन गर्न सक्ने वताउनुभयो । । 
सरकारको जानकारी विना सियो पनि नछिर्ने भन्सारबाट त्यत्रो पोकाका पोका सुन ल्याउँदा सरकारले नदेख्ने हुन्छ ? प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो– विमानस्थल भन्सारको गोदाममा रहेको सिग्रेटरूपी सुन चोरी भएको छ र बजारबाट सिग्रेट लगेर राखिएको छ, गोदामको सुन कसरी चोरी भयो ? छानविन गरी कारबाही हुनुपर्दैन ? 
प्रधानमन्त्रीले छानविन गर्दै छौं भन्नुभए पनि छानविन भरपर्दो नभएको उहाँको भनाइ छ । यति ठूलो मात्रामा सुन तस्करी भइरहँदा पनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस चुइक्क नबोलेको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– म देउवाजीलाई सोध्न चाहन्छु, सुन तस्करी सुन्नभएको छ कि छैन, के छ भनाइ, केही बोल्नुपर्छ कि पर्दैन ? यत्रो सुन तस्करी भइरहँदा नबोल्ने हो भने पारदर्शिता, स्वच्छता र देश बनाउने गफ किन गर्ने ?


समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय शक्ति निर्माण अहिलेको आवश्यकता भएको वताउँदै अध्यक्ष ओलीले नेकपा (एमाले)ले राष्ट्रिय शक्ति निर्माणका लागि ‘मिशन ८४’ अघि सारेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– भन्नुभयो–म सबै पार्टीका साथीहरुलाई आग्रह गर्न चाहन्छु, देशलाई माया गर्ने शक्ति, परिवर्तनकारी शक्तिहरू एकठाउँमा उभिउँ, समुद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई सफल पारौं ।
‘मिनश ८४ मार्फत राष्ट्रिय शक्तिको बहुमतको सरकार चाहिएको छ । नेकपा (एमाले)को अगुवाईमा नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गरौं,’ अध्यक्ष ओलीले बामपन्थी, देशभक्त, युवा, महिला, विद्यार्थी सबैलाई सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– देशको रक्षा गर्दै समृद्ध देश बनाउन कम्मर कसौं । 
नेपाली राजनीति दुई धारमा विभाजन भएको बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय हितको रक्षा सम्वद्र्धन गर्ने धार र गठबन्धनको धारा गरी देश दुई धारमा विभाजन भएको उल्लेख गर्नुभयो । सत्ताधारीले खुट्टा टेक्न नदिएको अवस्थामा पनि उठेर आएको कम्युनिष्ट पार्टीलाई अब कसैले छुन नसक्ने उहाँको भनाइ छ । अहिले पनि जनताबाट विस्थापित गर्न एमालेविरुद्ध विभिन्न खालका गलत प्रचार गर्ने काम भइरहेका भन्दै उहाँले अब जस्ताको तस्तै जवाफ दिनुपर्ने आवश्यकता औल्याउनुभयो । एमालेको आन्दोलन जनताको आन्दोलन र राष्ट्रियताको आन्दोलन भएकाले कसैले समाप्त पार्न नसक्ने उहाँले बताउनुभयो । ‘हामी बाहेक अरूले देश चलाउनै सकेनन्, अब सक्दैनन्, १० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन्,’ अध्यक्ष ओलीले भन्नुभयो ।
गठबन्धन सरकारले जनतामा आशा जगाउने कुनै पनि काम नगरेको उहाँले वताउनुभयो ।  
अध्यक्ष ओलीले २००७ सालपछि र २०४६ सालको जनआन्दोलनको सफलतापछि कांग्रेसको सत्ता उन्मादका कारण कम्युनिष्ट पार्टी र नेताकार्यकर्ताले व्यहोर्नु परेको दमन, अत्याचार, यातना र हत्यासम्मका पीडादायी र दुःखद घटनाको स्मरण गर्दै अफ्ठ्यारो परिस्थितिका कारण तुल्सीलालले किसान आन्दोलनका रूपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुभएको वताउनुभयो । 
अध्यक्ष ओलीले नेपाली कम्युनिष्ट पार्टीका प्रथम संसदीय दलका नेता तुल्सीलाल अमात्यको यात्रा गान्धीवादी आन्दोलन, चर्खा आन्दोलन, उपनिवेशवाद बिरोधी आन्दोलनबाट शुरु भएको उल्लेख गर्नुभयो । उहाँले किसान हक हितको आन्दोलन उठाउनुभएका भीमदत्त पन्तलाई कांग्रेस सरकारले शत्रु घोषणा गरी भारतीय प्रहरीमार्फत पक्राउ गरी हत्या गरेको चर्चा गर्दै दुबै नेताहरूप्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो ।  
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल र नेपाली कांग्रेका जितेन्द्र नारायण देवले तुल्सीलाल अमात्यको व्यत्तित्व र कम्युनिष्ट आन्दोलनमा योगदानको चर्चा गर्दै उहाँ निष्ठावान्, सच्चा क्रान्तिकारी, सङ्घर्षशील र जुझारु नेता हुनुहु्न्थ्यो भन्नुभयो । लामो समय कम्युनिष्ट आन्दोलनमा रहनुभएका कांग्रेस नेता देवले सहकार्य, गठबन्धन वा मोर्चाको रूपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेकपा (एमाले) र अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा स्व. अमात्यको २६औं स्मृति दिवसका अवसरमा आयोजित हाजिरजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा छात्रछात्रालाई नगद पुरस्कार तथा शिल्ड प्रदान गरिएको थियो ।  कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा  (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोरा लगायत नेताहरूको उपस्थिति रहेको थियो ।