२३ भदौ (२०८३), लालगढ, धनुषा । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताउनुभएको छ ।
धनुषाको लालगढमा नेकपा (एमाले) मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिशन पार्टी जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले छ वटा ‘ज’को अभियानले पार्टी सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
छ ‘ज’ भन्नाले जनतामा जानु, जनताका मुद्दा उठाउनु, जनतासँग जोडिनु, जनताको प्रिय बन्नु, जनसङ्गठन व्यवस्थित रुपले परिचालन गर्नु र समाजवादी लक्षमा पुग्न पार्टीको मुख्य सिद्धान्त जनताको बहुदलीय जनवादको परिणाममुखी अभ्यास गर्नु रहेको प्रष्ट पार्दै महासचिव पोखरेलले यस पक्षलाई व्यवहारमा उतार्न सबै पार्टीसदस्य समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीलाई नयाँ पुस्तासँग जोड्न नसक्दा, युवा चासो सम्बोधन गर्न नसकिँदा, पार्टीविरुद्ध सामाजिक सञ्जालमा आउने भ्रम चिर्न नसक्दा एवं संस्थागत निर्णय र छलफल कमजोर हुँदै गएर नेतामुखी बन्दा गत निर्वाचनमा पराजय भोग्नुपरेको उहाँको भनाइ छ ।
‘हामी चुनावमा हार्यौं, यो अनपेक्षित परिणाम हो’ उहाँले भन्नुभयो– हामी मटियामेट भएका होइनौं, फेरि उठ्ने हामीसँग सामथ्र्य छ’, महासचिव पोखरेलले पार्टी कामलाई व्यवस्थित सञ्चालन गर्न थाले चाँडै जनताका बीचमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । असोजको पहिलो साता बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकपछि पार्टी व्यवस्थित रुपले अघि बढ्ने खाका बन्ने उहाँले बताउनुभयो ।
मुलुक अहिले बाढीको विपत्ति झेलिरहेको र यो अवस्थाबाट निस्कन आपसी सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक रहेको महासचिव पोखरेलको भनाइ छ । ‘तर, सङ्घीय सरकार भने एक्लै हिडेर पार लगाउने अहङ्कारमा रहेको’, बताउँदै उहाँले भन्नुभयो– बाढीमा यो सरकारको अहङ्कारले मानवीय क्षति बढाएको छ, बाढी आएकै दिन सुरुङ पस्ने अनुमति देशविदेशका विज्ञले पाएका भए धेरैजना बाढीमा फसेकाहरुको जिउँदै उद्धार गर्न सकिन्थ्यो ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुरुङभित्रको लेदो निकाल्ने प्रविधि विश्वमै छैन भनेको भोलिपल्ट नै विज्ञहरुले चार जनाको जीवित उद्धार गरेको स्मरण गराउनुभयो ।
कार्यक्रममा पार्टीका परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले नविनतम सूचना तथा सञ्चार प्रविधिको प्रयोग पार्टी काममा जोड्न नसक्दा आपूmहरुविरुद्धका कुप्रचारको खण्डन हुन नसकेको औंल्याउनुभयो । अब बस्तीबस्तीका सामाजिक विकासका मुद्दामा पार्टीको बलियो उपस्थिति बनाउँदै अघि बढ्न नेता ज्ञवालीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– हामीले पार्टीलाई पुनर्व्यवस्थित गर्नु छ, आफ्ना कमजोरी पहिल्याएर सच्चिँदै अघि बढ्नु अहिलेको आवश्यकता हो ।
पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशका आठवटै जिल्लाका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु र स्थानीय तहका पार्टी कमिटीका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।
मधेश प्रदेश कमिटीले आउने असोजभित्र सबै वडा र कात्तिकभरिमा पालिका तहका अधिवेशन सम्पन्न गर्ने तालिका बनाएको पौडेल बताउनुभयो । कार्यक्रममा पार्टीका मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठसहितका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
