detail-img

पार्टीविरुद्व कुप्रचारको प्रतिवाद गर्न महासचिवको निर्देशन

पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीविरुद्व गरिएका कुप्रचारको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । 
नेकपा (एमाले) कुनै पनि कालखण्डमा कुनै खाले भ्रष्टाचारका काण्डमा संलग्न नभएको उल्लेख गर्दै भ्रष्टहरूले नै एमाले पनि हामी जस्तै हो भन्ने भ्रम छर्ने प्रयास गरेको बताउनुभयो । 
शुक्रबार गण्डकी प्रदेशमा पार्टीको जिम्मेवारीमा रहनुभएका केन्द्रीय कमिटी सदस्यहरूको पोखरामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले असत्य प्रचार गरेर पार्टीविरुद्व कुप्रचार गर्दा कुनै पनि नेता कार्यकर्ता चुप लागेर बस्न नहुने बताउनुभयो । 
यति, ओम्नी, वाइडबडी, गोकर्ण रिसोर्ट, प्रिन्टिङ प्रेस, गिरीबन्धु लगायत जति पनि नाम लिएर एमालेको बदनाम गर्न खोजिएको छ ती सबैका फाइल खोलेर अनुसन्धान गर्न पार्टीले चुनौती दिएको छ, फाइल खोल्दैनन् केबल बदनाम मात्र गर्न खोज्छन्, महासचिव पोखरेलले भन्नुभयो–ढुक्कले जनतालाई बताउनुस्, एमालेले न हिजो भ्रष्टाचार गर्यो न भोलि गर्छ । 
उहाँले आगामी निर्वाचनमा एमाले एक्लैलाई पूर्ण बहुमत ल्याउने अवस्थामा पुराउने गरी काम गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । एमालेका नीति र कार्यक्रम जनताले बुझ्ने गरी बताउने हो भने ५१ प्रतिशत भन्दा बढी मत पाउने उहाँको विश्वास छ ।
 पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी, थममाया थापा लगायत केन्द्रीय सदस्यहरूको विहीबार र शुक्रबार गरी दुईदिनसम्म चलेको बैठक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
बैठकमा आगामी सबै तहका निर्वाचनमा पार्टीलाई बहुमतका साथ पहिलो बनाउने प्रतिबद्धता जनाउँदै योजनाबद्ध र एकताबद्ध ढङ्गले पार्टी कामलाई अगाडि बढाउने प्रस्ताव पारित गरिएको छ । 
बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न, पोखरालाई पर्यटकीय शहर घोषणा गर्न त्यस अनुसार आश्यक पूर्वाधारको विकास गर्न तथा जनजीविकाका सवाललाई सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 
त्यसैगरी, बैठकले सुनतस्करी प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास लगायत देशकै छवि धुमिल बनाउने काण्डहरूको छानविन गरी दोषीहरूलाई कार्वाही गर्न माग गरेको छ ।  
बैठकबाट पारित प्रस्ताव तथा प्रतिबद्धताहरू
क. विकास निर्माण सम्वन्धमा 
१. गण्डकी प्रदेशको विकास र पर्यटन प्रवद्र्धनमा लाइफलाइन मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हाम्रो पार्टी र सरकारले विगतमा खेलेको भूमिका महत्वपूर्ण छ । तर दुखद पक्ष, यस विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यसर्थ यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउन ठोस पहलकदमीको लागि सरकारसँग जोडदार आग्रह गर्दछौं । 
२. गण्डकी प्रदेश प्रचुर पर्यटकीय सम्भावना भएको प्रदेश हो । पर्यटकीय क्षेत्रहरूको विकास गर्दै पोखरालाई पर्यटनको राजधानी बनाउनको लागि हाम्रो पार्टीले निरन्तर पहलकदमी लिएको छ । यसर्थ पोखरालाई शीघ्र पर्यटकीय राजधानी घोषणाको लागि सरकारसँग जोडदार आग्रह गर्दछौं । 
३. बुटवल–नारायणगढ र पोखरा–मुग्लीन सडक विस्तार कार्यमा ढिलाई भएकाले तत्काल द्रुतगतिमा कार्य सञ्चालन गर्न र जनतालाई परेको मर्का समाधान गर्न आग्रह गर्दछौं ।
  ४. सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) विस्तार गरी   आवागमनलाई सहज बनाउन सम्बन्धित पक्षसँग  जोडदार माग गदछौं । 
५. गण्डकी प्रदेशको समृद्धिमा विनयी त्रिवेणीदेखि कोरोलासम्मको बाटो मुख्य आधारशीला हो । यस बाटो निर्माण कार्यलार्ई प्राथमिकतामा राखी सम्पन्न गर्न सरकारसँग अपिल गर्दछौं । साथै त्रिवेणी र कोरोला दुवै स्थानमा पूर्वाधार निर्माण गरी भन्सार सञ्चालन गर्न माग गर्दछौं ।  
६. रामसार क्षेत्रमा सूचिकृत फेवाताल र अन्य सीमसार क्षेत्रहरू माथि भएको अतिक्रमण रोकी यिनीहरूको संरक्षण सम्वद्र्धनका लागि माग गर्दछौं ।  
७. विगतमा प्रदेशभित्र औद्योगिक क्षेत्र ¬निर्माणको लागि विभिन्न स्थान (लोकाहा खोला नवलपुर र पुँडीटार–शुक्ला गण्डकी) प्रस्ताव गरिएको तर त्यसलाई कार्यान्वयनमा लैजाने काम अझै नभएकाले यसतर्फ प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं । 
८. पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको कावासोतीको १८६ विगाहा जग्गामा शिलान्याश गर्नु भएको नमूना सदरमुकाम निर्माणको काममा ढिला सुस्ती भएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल निर्माण कार्य प्रारम्भ गर्न माग गर्दछौं । 
९ नेकपा (एमाले) ले सरकार सञ्चालन गरेका वखत प्रारम्भ गरिएका दीर्घकालीन महत्वका कार्यक्रमलाई वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेर तोडमोड गर्ने, बजेट रोक्का गर्ने जस्ता गलत कार्य गरेकाले यस्तो रवैया बदल्न प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं । 
ख. संगठनात्मक क्षेत्रका सम्बन्धमा 
१. गण्डकी प्रदेशमा जनताको रोजाइको हिसाबले नेकपा (एमाले) पहिलो पार्टीका रूपमा स्थापित छ । अप्राकृतिक गठबन्धन, सत्ताको चरम दुरूपयोग, निर्वाचनमा अवाञ्छित हतकण्डाको प्रयोग भएको कारण पनि गत निर्वाचनमा प्रत्यक्षतर्फ सोचे अनुरूप परिणाम आउन सकेन । यस परिस्थितिलाई हृदयङ्गम गर्दै प्रतिकूलताहरूलाई अनुकूलतामा परिणत गर्ने अठोटका साथ आगामी सबै निर्वाचनहरूमा नेकपा (एमाले) लाई बहुमतसहितको पहिलो शक्तिका रूपमा स्थापित गर्ने प्रण गर्दछौँ । 
२. नेकपा (एमाले) आफ्नो आन्तरिक जीवनलाई पारदर्शी, लोकतान्त्रिक र व्यवस्थित रूपमा सञ्चालन गर्ने अब्बल पार्टीका रूपमा स्थापित छ । हाम्रो पार्टीे यस गौरवमय परम्परा र अभ्यासलाई निरन्तरता दिन प्रतिवद्ध छ । यसक्रममा पार्टी जीवनमा देखिएका कतिपय अन्तरविरोधहरूलाई जनवादी अभ्यास र कमरेडली भावनाका साथ समाधान गर्दै आपसी सद्भाव, हार्दिकता र एकताका आधारमा अघि बढ्न हामी सबै प्रतिबद्ध छौँ ।
३. हाम्रो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई आजको कम्युनिस्ट आन्दोलनको प्रमुख समस्याका रूपमा पहिचान गरेको छ । हाम्रो पार्टीलाई सही बाटोमा हिँडाउनका लागि यी दुई प्रवृत्तिका विरुद्ध विजय हासिल गर्न जरूरी छ । पार्टी निर्माण र संगठनात्मक परिचालनका हिसावले गण्डकी प्रदेश अग्रस्थानमा रहेको स्थापित तथ्य हो, तथापि उल्लेखित प्रवृत्तिका विभिन्न रूपहरू प्रकट भएका छन् । हाम्रा सबै नेता, कार्यकर्ता, कमिटी र जनसंगठनहरूलाई यसप्रति विशेषरूपमा सचेत बनाउँदै पार्टीलाई वैचारिक, राजनीतिक, शैलीगत, विकास निर्माण जस्ता सबै विषयमा विशिष्ट र उदाहरणीय बनाउनका लागि हामी दृढ छौँ ।
४. गण्डकी प्रदेशमा नेकपा (एमाले) प्रति जनविश्वास थप बृद्धि गर्न र आम कार्यकर्ता पङ्क्तिमा आशाको सञ्चार गर्न पार्टीभित्रको एकता महत्वपूर्ण पाटो हो । नेकपा (एमाले)लाई देशको प्रमुख तथा बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्न हामी बीचको हार्दिकता, सहकार्य, समन्वय र एकता पहिलो तथा न्यूनतम आवश्यकता हो । यसर्थ यस मूल मर्मलाई आत्मसात् गर्दै आ–आफ्नो ठाउँबाट आफ्नो योग्यता, क्षमता र जिम्मेवारी अनुरूप पहलकदमी लिन र योगदान गर्न हामी प्रतिबद्ध छौँ ।
५. गण्डकी प्रदेशको पार्टी निर्माणमा विगत समयमा अनुकरणीय भूमिका खेल्नुहुने अग्रजहरूका सकारात्मक पक्षहरूलाई जोगाउँदै समृद्ध प्रदेश सुखी प्रदेशवासीको लक्ष्यलाई साकार रूप दिने दृढ सङ्कल्प र प्रतिबद्धता व्यक्त गर्दछौं । 
ग. समसामयिक सवाल 
१. वर्तमान गठबन्धन सरकारले बढाइरहेको भ्रष्टाचार, कुशासन, महंगीविरुद्ध र जनजीविकाको सवालमा सिङ्गो पार्टी पङ्क्ति जनतासँग एकाकार भएर प्रतिवाद गर्ने सङ्कल्प गर्दछ । सुनतस्करी प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास लगायत देशकै छवि धुमिल बनाउने काण्डहरूको छानविन गरी दोषीहरूलाई कार्वाही गर्न आग्रह गर्दछौं ।  
२. लम्पीस्कीन रोगको कारण हजारौं चौपायाहरूको मृत्यु भएको छ तर सरकारले रोकथामलाई प्रभावकारी बनाउन सकेको छैन । यो रोगको प्रभावकारी उपचारमा ध्यान दिन सरकारसँग माग गर्दछौं ।  साथै किसानहरूलाई समयमै मल बीउ उपलब्ध गराउन ध्यानाकर्षण गराउँछौं । 
३. नेपालको शिक्षा प्रणालीप्रति नै विकर्षण पैदा गर्ने गरी इञ्जिनियरिङ शिक्षामा हालसालै गरिएको अत्यधिक शुल्क बृद्धिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्तो गलत निर्णय शीघ्र सच्याउन अपिल गर्दछौं । 
४. यस प्रदेशमा रहेका भूमिहीन, सुकुम्बासी र श्रमजीवी मजदुरहरूको समस्या समाधान गर्न तथा जनजीवनलाई सहज बनाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।  
५. गठबन्धन सरकारका गलत अर्थ नीतिले गर्दा वित्तिय क्षेत्र (बैंक, सहकारी लगायत), उद्योग व्यवसाय, पर्यटन क्षेत्र, रोजगारीको क्षेत्रमा आएको सङ्कटलाई समाधान गर्न उचित कर्जा एवं मौद्रिक नीति र आर्थिक क्षेत्रमा सुधारका कदम अबिलम्ब थालनी गर्न सरकार समक्ष जोडदार माग गर्दछौं । 
६. साउन २८ गते परेको मुसलधारे वर्षा पश्चात् मुस्ताङको कागवेनी क्षेत्रमा गएको बाढी तथा पहिरोले दर्जनौं घरहरू बगाएको, पुलमा क्षति पुगेको, बेनीबाट मुस्ताङ जाने मार्ग अवरुद्ध भएको, म्याग्दीको अन्नपूर्ण ३ दाना लगायत क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिले हामीलाई दुखित बनाएको छ । क्षतिग्रस्त संरचनाको शीघ्र निर्माण गर्न र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं ।  
७. काठमाडौंबाट म्याग्दी आउँदै गरेको बस त्रिशुली नदीमा दुर्घटना हुँदा ज्यान गुमाउनुभएका सबै यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उचित उपचारको प्रवन्ध मिलाउन नेपाल सरकारसँग माग गर्दछौं ।