एमालेविरुद्ध फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छः बरिष्ठ नेता भण्डारी
सेयर गर्नुहोस्
विदेशमा रहेका नेपाली समुदायमाझ नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न प्रवासी नेपाली मञ्चले भूमिका खेल्नुपर्ने १८ कात्तिक (२०८३), काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की बरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताउनुभएको छ । आज प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ नेता भण्डारीले एमालेले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो । जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढ्दै आएको एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको उहाँले बताउनुभयो । बरिष्ठ नेता भण्डारीले भन्नुभयो– यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ । विशेषगरी विदेशमा रहेका नेपाली समुदायमाझ नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न प्रवासी नेपाली मञ्चले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । बरिष्ठ नेता भण्डारीले प्रवासमा रहेका नेपालीहरूको अवस्था, आवश्यकता र समस्या फरक–फरक हुने भएकाले श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेसामा संलग्न सबै समुदायका सरोकारलाई समेटेर सङ्गठनका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिनुभयो । महिला तथा युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै बरिष्ठ नेता भण्डारीले प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्न नहुने धारणा राख्नुभयो । विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृतिलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि तथा सेवा क्षेत्रको विकाससँग जोड्नुपर्ने भनाइ उहाँले राख्नुभयो । बरिष्ठ नेता भण्डारीले विदेशमा रहेका नेपालीहरू आफू बसेको मुलुकमा नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने जनस्तरका दूत भएको उल्लेख गर्दै त्यहाँको कानुन, नियम र संस्कृतिको सम्मान गरी इमानदारी तथा व्यावसायिक दक्षताका साथ काम गर्न आग्रह गर्नुभयो । विदेशमा रहेका नेपाली, विशेषगरी श्रमिकहरूले श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काम गर्नुपर्ने जस्ता समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गरी श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बरिष्ठ नेता भण्डारीको भनाइ थियो । त्यसैगरी, प्राकृतिक स्रोतमा आधारित हरित उद्योग, जलविद्युत, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार, खनिजमा आधारित उद्योग तथा पर्यावरणमैत्री पर्यटनको विकासबाट स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । यसका लागि स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने र प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप तथा उद्यमशीलतालाई स्वदेशी निजी क्षेत्रसँग जोड्नुपर्नेमा बरिष्ठ नेता भण्डारीले जोड दिनुभयो । सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो । प्रवासी नेपाली मञ्च अन्तरर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल विशेष अतिथिका रुपमा सम्बोधन गर्नुभएको थियो । मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता र सचिव चानक पोखरेलको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा पार्टीका उपमहासचिवद्वय लेखराज भट्ट, योगेश भट्टराई सचिवहरू भानुभक्त ढकाल र डा. राजन भट्टराई, पार्टी परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवाली, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य लगायत केन्द्रीय सदस्यहरू अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको समापन समारोहलाई नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।