detail-img

उपाध्यक्ष नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति संसदका दुबै सदनले शोक प्रस्ताव पारित गरेका छन् ।  
बिहीवार दुबै सदनको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख समेत रहनुभएका नेम्वाङको निधनप्रति शोक प्रस्ताप पारित  गरेका  हुन् ।  त्यस क्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताउनुभएको थियो ।


यसअघि, संसद भवन नयाँ बानेश्वरमा बिहीबारै बसेको  नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सफल राजनेताको रूपमा रहनुभएको र उहाँको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताउनुभएको छ । 
नेम्वाङ विभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सबैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता हुनुभएकाले नेम्वाङको निधनबाट देश र पार्टीमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ । 
सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको स्मरण गर्नुहुँदै अध्यक्ष ओलीले नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने विचार व्यक्त गर्नुभयो । 
संसदीय दलको बैठकले दलका उपनेता समेत रहनुभएका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । बैठकमा उहाँको आशन खाली राखिएको थियो भने तस्वीर राखेर श्रद्धाञ्जली अर्पण गरिएको सांसद सूर्य थापाले जानकारी दिनुभयो ।