एमाले आज

एमालेले जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्छः नेता ज्ञवाली

सेयर गर्नुहोस्

२३ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेश कमिटीको मिसन पार्टी जागरण अभियानको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा धनुषाको लालगढमा अभिमुखीकरण सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दैनेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले एमालेले जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्ने बताउनुभएको छ ।  जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको उहाँले बताउनुभयो । 
नेता ज्ञवालीले पार्टी नेता कार्यकर्ता जनपरिचालनभन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ध टुटेको बताउनुभयो ।  पूर्व उपमहासचिव ज्ञवालीले पार्टी नेताहरु सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो– एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो, राजर्षी भयो । हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो । यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ ।
नेता ज्ञवालीले फागुनको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको धारणा राख्नुभयो । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह, उपसमूहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको उहाँले बताउनुभयो । 
‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ’ नेता ज्ञवालीले भन्नुभयो– यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो । जसले गर्दा संविधान मिचिँदा होस् वा पार्टी नेता माथि सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन् ।
२०७९ को निर्वाचनपछि एमालेलाई सत्ताभोगी पार्टीको रुपमा जनताले बुझेको बताउँदै उहाँले भन्नुभयो– २०७९ देखि २०८२ सम्म आउँदा चार पटक एमालेले सत्ता समीकरण बदलेको छ । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो । केही महिनामा नै त्यो सरकार छोड्यो । फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो । सरकारमा भित्रिने वा बाहिरिएको कारण हामीले जनतालाई भनेनौं । आखिर प्रचण्ड सुध्रिएर हामीले सत्तामा गएका थियौं कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन् । प्रचण्ड सरकारबाट हठात हटेर काँग्रेससँगको सहकार्यले त जनतामा ज्यादै नकारात्मक सन्देश गयो ।

हामीसँग जोडिनुहोस्