नेपालगन्ज । नेकपा (एमाले) बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ ।
यो अभियानको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा अपमानित वा प्रताडित गर्नु नभई सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्टता, चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिविरुद्ध सभ्य, जिम्मेवार र मर्यादित राजनीतिक संस्कार निर्माण गर्नु रहेको स्पष्ट पारिएको छ ।
सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अशिष्ट तथा अमर्यादित अभिव्यक्ति र घृणा–द्वेषपूर्ण गतिविधिको स्क्रिनसट सङ्कलन गरी अध्ययन तथा अनुसन्धानपछि तथ्यका आधारमा बुलेटिन प्रकाशन गरिने नेकपा (एमाले) बाँकेकी उपसमिति एवं प्रचार विभाग प्रमुख निर्मला सुनारले जानकारी दिनुभयो ।
नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक असहमति र आलोचनालाई गालीगलौज तथा व्यक्तिगत आक्रमणमा परिणत गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेता–कार्यकर्ताबाट राजनीतिक विरोधी तथा आलोचकलाई लक्षित गरी अशिष्ट र अपमानजनक अभिव्यक्ति आउने गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।
एमालेले आलोचना लोकतन्त्रको आवश्यक पक्ष भए पनि आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा व्यक्तिगत अपमानमा उत्रिने कार्य राजनीतिक संस्कार नभएको जनाएको छ ।
पार्टीले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिले समाजमा असहिष्णुता र राजनीतिक ध्रूवीकरण बढाउन सक्ने भन्दै सबै राजनीतिक दलका नेता–कार्यकर्ता तथा आम नागरिकलाई मर्यादित ढङ्गले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ ।
‘विचारसँग लडौँ, व्यक्तिसँग होइन, तर्कले जवाफ दिऔँ, गालीले होइन’ भन्दै एमाले बाँकेले राजनीतिक विरोधीलाई गाली गरेर आफ्नो विचार बलियो नहुने जनाएको छ ।
बुलेटिन प्रकाशनका लागि एमाले बाँकेले सात सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा निर्मला सुनार तथा सदस्यमा खेमराज शर्मा, मिनबहादुर मल्ल, कौशिला कठायत, माया गौतम, अनिता पौडेल र सकिल खाँ रहनुभएको छ ।
समितिले सङ्कलन गरेको सामग्रीका आधारमा तयार हुने बुलेटिन सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ । सम्बन्धित व्यक्ति सम्पर्कमा नआए घरपरिवारमार्फत जानकारी गराउने र घरपरिवारसमेत सम्पर्कमा नआए सम्बन्धित पार्टीका नेता तथा पार्टी कार्यालयलाई उपलब्ध गराउने निर्णय गरिएको एमाले बाँकेले जनाएको छ ।
रसुवा बाढीपहिरोमा सरकार असफल भएको एमालेको निष्कर्ष
यसैबीच, एमाले बाँकेले भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोपछि उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएको छ ।
सरकारको अहङ्कार, दम्भ र अल्पज्ञान तथा घटनाको गम्भीरतालाई सही ढङ्गले बुझ्न नसक्दा ठूलो मानवीय क्षति भएको दाबी गर्दै बैठकले सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले लोकतन्त्रमा जनताले सरकार र राजनीतिक दलसँग प्रश्न गर्न तथा जवाफदेहिता खोज्न पाउने भन्दै त्यस्ता प्रश्नको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारबाट दिनुपर्नेमा जोड दिएको छ ।
