एमाले आज

चुनौतीको सामना गर्न, आगामी कार्यभार पूरा गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्छः अध्यक्ष ओली 

सेयर गर्नुहोस्

-केन्द्रीय कमिटीको तेस्रो बैठक शुरु

-अध्यक्षद्वारा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ विषयक राजनीतिक प्रतिवेदन प्रस्तुत

-राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनयन, स्थायी कमिटी, पोलिटव्यूरो, सल्लाहकार परिषद्, विभाग, जेष्ठ कम्युनिष्ट मञ्च गठन, अनुशासनसम्बन्धी ठोस दृष्टिकोण र समसामयिक प्रस्ताव बैठकका एजेण्डा 

५ असोज (२०८३), ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि ललितपुरमा शुरु भयो । 
बैठकमा अध्यक्ष ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ विषयक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । तीनदिनसम्म चल्ने बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफलका साथै बैठक एजेण्डाका रुपमा केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो, स्थायी कमिटी र सल्लाहकार परिषद गठन, विभागहरु गठन, जेष्ठ कम्युनिष्ट मञ्च गठन, पार्टीलाई अनुशासित बनाउन ठोस दृष्टिकोण र समसामयिक प्रस्ताव प्रस्तुत हुने छन् । 
बैठकमा उद्घाटन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमाथि भइरहेको हमला र चुनौतीको सामना गर्न पार्टी एकजुट र एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा (एमाले) लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकै कारण चौतर्फी आक्रमणको निशानामा परेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर प्रतिकूलताको सामना गर्न र हामीमाथिको फासीवादी हमलाको प्रतिकार गर्न अघि बढ्नुपर्छ । 
पार्टीविरुद्ध जनतामा छरिएका भ्रमहरूलाई चिरेर अघि बढ्नुपर्ने बताउँदै उहाँले विरोधीहरूले फैलाएको भ्रम र कुप्रचारको पछि नलाग्न केन्द्रीय कमिटीका नेताहरुलाई सचेत गराउनुभयो । पार्टीको महाधिवेशनले लोकतान्त्रिक ढङ्गले नीति, विचार र नेतृत्व चयन गरिसकेकाले कसैलाई पनि पार्टीभित्र अराजकता फैलाउने अधिकार नभएको उहाँले प्रष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले पार्टीभित्रका मतभेद र बहसहरू सार्वजनिक रूपमा नभई पार्टीभित्रै छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल बढाउने र विरोधीलाई खुसी बनाउने गतिविधिबाट सचेत रहन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै अराजक प्रवृत्तिलाई नियन्त्रण गरेर संगठनलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । उहाँले नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी नगर्न पनि सचेत गराउनुभयो । 
उद्घाटन सम्बोधनपछि बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले सङ्कटका बेला आफू नेतृत्वबाट पछि नहट्ने बताउनुभयो । बिरामी देखेर चिकित्सकले अस्पताल नछोड्ने र बालीमा रोग देखेर किसानले खेत नत्याग्ने उदाहरण दिँदै नेतृत्वले पनि कठिन परिस्थितिमा पार्टीलाई अलपत्र पार्न नमिल्ने बताउनुभयो ।
अध्यक्ष ओलीले निर्वाचन पराजयलाई बहाना बनाएर एक–अर्कामाथि दोषारोपण गर्ने वा निराशामा डुब्ने दुबै प्रवृत्ति गलत भएको उल्लेख गर्दै कठोर आत्मसमीक्षा, तथ्यमा आधारित प्रतिवाद र साङ्गठनिक पुनःनिर्माणमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीभित्र उठाइएका नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनसम्बन्धी मागबारे प्रतिवेदनमार्फत सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी पुनर्गठन रहरको विषय नभई इतिहासमा विशेष परिस्थितिमा मात्र गरिने प्रक्रिया भएको बताउनुभयो । 
ऊर्जा र अनुभवको संयोजनबाट मात्र पार्टी सुदृढ बन्न सक्ने बताउँदै अध्यक्ष ओलीले उमेर कम हुँदैमा स्वतः योग्य र बढी हुँदैमा अयोग्य नहुने तर्क प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले रूपान्तरण र पुस्तान्तरणलाई सही अर्थमा बुझ्न आग्रह पनि गर्नुभयो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्दै अध्यक्ष ओलीले गतबर्ष भदौ २३ र २४ गतेका विध्वंशात्मक घटनालाई बाह्य प्रभाव र रणनीतिको परिणामका रूपमा चित्रण गर्नुभयो । 
सरकारले प्रतिशोधपूर्ण राजनीति गरेको भन्नुहुँदै अध्यक्ष ओलीले आफूमाथि जाली पक्राउ पुर्जी जारी गरी गैरकानुनी रूपमा हिरासतमा राखिएको बताउनुभयो । 
अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा एमालेका सामु संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा तथा आगामी स्थानीय तहसहितका निर्वाचनको तयारी दुई प्रमुख कार्यभारका रूपमा रहेको बताउनुभयो । 
प्रतिवेदनमा अध्यक्ष ओलीले उपरोक्त दुई प्रमुख कार्यभार पूरा गर्न पन्ध्र प्रमुख काम प्रस्तुत गर्नुभएको छ । 
एमाले निर्वाचनमा पराजित भए पनि समाप्त नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीको जरा अझै बलियो रहेको विश्वास व्यक्त गर्नुभयो । पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पुनर्जागरणमा बदल्दै एमालेलाई पुनः राष्ट्रिय विजयको आधार बनाउने सङ्कल्प उहाँले व्यक्त गर्नुभएको छ । 
बैठकले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । 
प्रतिवेदनमा ‘देशको वर्तमान अवस्था’, ‘सरकार र प्रतिशोधको राजनीति’, ‘पार्टीको हारका कारण’, ‘के हो पुनर्गठन ?’, ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको सही अर्थ’ तथा ‘पार्टीका तत्कालका दुई प्रमुख कार्यभार’, ‘गतबर्ष भदौ २३ र २४ को घटना’ लगायतका विषय समावेश छन् । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन ८७ पृष्ठको रहेको छ । 
बैठकको माइन्यूट लेखन कमिटीमा उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र महासचिव शंकर पोखरेल रहनुभएको छ भने वहस नोट कमिटीमा उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल, केन्द्रीय सदस्यहरु सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराई रहनुभएको छ । आजको बैठक अध्यक्षद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुतपछि स्थगित गरिएको छ । बैठक भोलि मङ्गलबार विहान पुनः बस्ने छ ।  

 

 

हामीसँग जोडिनुहोस्