detail-img

मुलुक बर्बाद हुनबाट जोगाउन सशक्त आन्दोलनमा जानुपर्ने अवस्था छः अध्यक्ष ओली

छजना केन्द्रीय कमिटी सदस्यहरूद्वारा शपथ ग्रहण 
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले २६औं सचिवालय बैठकबाट  मनोनीत छ जना केन्द्रीय कमिटी सदस्यहरूलाई आज पार्टी कार्यालय, च्यासलमा शपथ गराउनुभयो ।


शपथ ग्रहण गर्नेहरूमा दामोदर भण्डारी, विनोद शाह, केशव पाण्डे, रामऔतार यादव, तुलसी न्यौपाने र दीपक कार्की हुनुहुन्छ । भण्डारी, शाह, पाण्डे, यादव र न्यौपाने निवर्तमान प्रदेश कमिटीका अध्यक्ष हुनुहुन्छ भने कार्की झापा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । 
शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभएको छ । उहाँले देशको अवस्था अहिलेजस्तो खराब कहिले नभएको बताउनुभयो । 
अध्यक्ष ओलीले  नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाड्ने काम भइरहेको भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले विद्युत व्यापार, देशको भूभागको रक्षा लगायतका विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेवलमात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको बताउनुभयो । 
उहाँले पार्टीभित्र अराजकता र अनुशानहीनता जस्ता कुरा स्वीकार्य नहुने स्पष्ट गर्दै आगामी २०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको बर्ष हुने बताउनुभयो । 
अध्यक्ष ओलीले नयाँ केन्द्रीय कमिटी सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै हरेक दृष्टिकोणबाट योग्यताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न र वरव्यवहारमा अनुकरणीय बन्न आग्रह गर्नुभयो । 
शपथ ग्रहण कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूको पनि उपस्थिति रहेको थियो ।