एमाले आज

देश जलाउने तत्वहरुलाई तत्काल कारवाही हुनुपर्छः सचिव बस्नेत

सेयर गर्नुहोस्

२५ भदौ (२०८३), भक्तपुर ।  नेकपा (एमाले) का नेताहरुले २०८२ भदौ २४ गतेको विध्वंशका घटनामा संलग्नमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।  घटना भएको एक वर्ष पुरा भए पनि सरकारले विध्वंशमा संलग्न भएकाहरुलाई कानुुनी कारवाहीको दायरामा नल्याएको प्रति आशङ्का व्यक्त गर्दै उहाँहरुले तत्काल कारवाही गर्न सरकारलाई आग्रह गर्नुभएको हो । 
सूर्यविनायक नगरपालिका वडा नं ७ को नेकपा (एमाले) वडा कमिटी (गुण्डूू)ले बुधबार आयोजना गरेको २०८२ भदौ २४ गते भएको राष्ट्रमाथिको आक्रमण विरुद्ध भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै वक्ताहरुले आगजनी र विध्वंशका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफूहरुले आवाज उठाइरहने स्पष्ट पार्नुभयो ।  
कार्यक्रममा नेकपा (एमाले) का सचिव महेश बस्नेतले २०८२ भदौ २३ गते जेनजी पुस्ताले गरेको जायज मागको प्रदर्शनमा नाजायज तत्वहरुले घुसपैठ गरी भदौ २४ गते सरकारी कार्यालय र नेताहरुका घर जलाउने काम गरेकाले त्यस्ता तत्वहरुलाई तत्काल कारवाही गर्नुुपर्नेमा जोड दिनुभयो । “सिंहदरवारदेखि व्यक्तिका घरहरु जलाउने व्यक्तिहरुको एक÷एक हिसाब किताब हुुन्छ ।” उहाँले भन्नुभयो– अहिले भोटेकोशीमा आएको बाढीका कारणले जेनजी पुस्ताहरु चुप लागेर बसेका छन् । अब केही समयपछि जेनजी पुस्ता नै सरकारी संरचना, व्यक्तिको घर जलाउनेलाई कारवाहीको लागि सडकमा उत्रन्छन् ।
वर्तमान सरकार साम्राज्यवादी राष्ट्रहरुको कठपुतली भएको भन्दै सचिव बस्नेतले यो सरकार जति दिन रहन्छ त्यति नै मुलुकको लागि क्षति हुुन्छ भन्नुभयो । 
बाढी पीडितका लागि सरकार उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा पूर्णतः असफल भएको जिकिर गर्दै उहाँले वर्तमान सरकार धेरै दिन नटिक्ने दावी गर्नुुभयो । 
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुुंगेलले सरकारले काम भन्दा पनि चर्चा कमाउने काम गरेको उल्लेख गर्दै स्टण्टबाजीले मात्र देश नबन्ने बताउनुभयो । उहाँले नागरिक अहिले बाढी र खाना पकाउने ग्यास नपाएर चारैतिर भौतारी रहेको चर्चा गर्दै सरकार भने फेसबुकमा नै रमाइ रहेको बताउनुभयो । 
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले सरकारप्रति आमनागरिक आजित बन्दै गएको भन्दै वर्तमान  सरकारले यस अवधिमा  कुनै पनि राष्ट्रहितमा काम गर्न नसकेको जिकिर गर्नुभयो । 
नेकपा (एमाले) का नेता सूूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले गत वर्ष भदौ २४ गते भएको विध्वंशमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीमा किटानी जाहेरी दिँदा पनि अझैसम्म सरकारले कारवाही किन नगरेको भन्दै सरकारसँग प्रश्न गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन  वडा कमिटीका अध्यक्ष गणेश वाग्लेले गर्नुभएको थियो । 

 

हामीसँग जोडिनुहोस्