detail-img

गठबन्धन सँस्कृति विकास र समृद्धिका लागि घातकः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार जबरजस्ती जोरजाम गरेर बनाइएको बताउनुभएको छ । अध्यक्ष ओलीले देशको समृद्धि र स्थिरताका लागि यस्तो गठबन्धन संस्कृति अन्त्य गर्नुपर्ने बताउनुभयो ।   
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आज टुँडिखेलमा आयोजना गरेको युवा महोत्सव–२०८० को उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन संस्कृति देशको विकास र समृद्धिका लागि घातक भएको बताउनुभयो । उहाँले २०८४ को निर्वाचनबाट गठबन्धन संस्कृति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।  
राणा शासन, पञ्चायत तथा राजतन्त्र समेत फालेर आएका नेपाली जनतालाई गठबन्धन मिल्काउन पनि समय नलाग्ने उहाँले बताउनुभयो । २०८४ को निर्वाचनबाट जनताले गठबन्धन मिल्काइदिने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ भने यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन । 
अर्थतन्त्रको वर्तमान अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रेमिट्यान्स माथिको निर्भरता उचित होइन भन्नुभयो । गठबन्धनको कारण देशमा निराशा छाएर युवा बिदेसिने क्रम बढेको उहाँले बताउनुभयो । नेपाललाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्नेमा शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– आज शिक्षाको लागि बाहिर जानुपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ । 
उहाँले अहिले देशमा धेरै समस्या भए पनि समाधान पनि यहीँभित्र खोज्नुपर्ने बताउनुभयो । कुनै पनि देश अरू आएर नबनाइदिने बताउँदै अध्यक्ष ओलीले देश आफैँले बनाउनुपर्ने प्रष्ट पार्नुभयो । 
अहिले देशको समस्या भनेको युवाहरू बाहिरिने क्रम बढ्नु भएको र गठबन्धन सरकार युवा विदेश पठाउँदा रेमिट्यान्स आइरहेको छ भनेर खुसी भइरहेको भए पनि यो दिगो नहुने उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशायी अरू केही पनि हुँदैन । 
देशलाई दिगो विकासतर्फ लैजानुपर्ने, देशमा नै अवसर सिर्जना गरेर युवालाई स्वदेशमै बस्ने र गरिखाने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।