३ असोज (२०८३), काठमाडौं । आज नेपालको संविधान जारी भएको दिन, नेपाल राष्ट्रको महान् उत्सवको दिन ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतालाई पूर्णरूपमा सार्वभौमसत्ता सम्पन्न बनाएको वर्तमान संविधानको रक्षा यतिबेला गम्भीर र महत्वपूर्ण विषय भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीका तर्फबाट आज प्रेस वक्तव्य जारी गर्नुभई सरकार संविधान र कानूनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढङ्गले अघि बढिरहेकाले मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरु एक ठाउँमा उभिएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने भएको प्रस्ट पार्नुभएको छ ।
नेपालको संविधान नेपाली जनताको दशकौं लामो बलिदानीपूर्ण सङ्घर्षको जगमा संविधानसभाबाट बनेको पहिलो ऐतिहासिक संविधान भएकाले यसमा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले कहिल्यै कसैको उपनिवेश नबनेको स्वतन्त्र, अविभाज्य र सार्वभौमसत्ता सम्पन्न मुलुकका नागरिकका तर्फबाट जारी गरिएको नेपालको संविधानप्रति गौरव रहेको बताउनुभएको छ ।
नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासको अधिकार लगायत ३१ वटा मौलिक अधिकारहरूको व्यवस्था गरिएको हाम्रो संविधान मौलिक हकको दृष्टिकोणबाट विश्वकै समृद्ध संविधानका रुपमा मानिने अध्यक्ष ओलीको वक्तव्यमा उल्लेख छ ।
उहाँले १२औँ संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेकपा (एमाले)को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले यस ऐतिहासक क्षणमा नेपालको लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका गौरवपूर्ण आन्दोलनका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
अध्यक्ष ओलीको वक्तव्यः
जनता पूर्णरूपमा सार्वभौमसत्ता सम्पन्न बनाएको वर्तमान संविधानको रक्षा महत्वपूर्ण विषयः अध्यक्ष ओली
सेयर गर्नुहोस्
