detail-img

प्रधानमन्त्रीलाई विश्वासको मत दिन अध्यक्षको निर्देशन 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई विना हिच्किचाहट दिल खोलेर विश्वासको मत दिन निर्देशन दिनुभएको हो । 


प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । 
प्रचण्ड नेतृत्वको यो सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) को बाटो बन्द हुने बताउँदै अध्यक्ष ओलीले प्रमुख पार्टीको हैसियतले देशमा असक्षम, अयोग्य, दृष्टिकोणविहीन र सङ्कल्पबिनाको सरकार बन्ने अवस्था आउन दिनुहुँदैन भन्नेतर्फ सांसदहरूलाई सजग गराउनुभयो । 
उहाँले भन्नभयो– प्रमुख सचेतकजीले ह्विप जारी गर्नुहुन्छ । खबर नआए पनि तपाईं हामी यसमा सबै सजग हुनुपर्छ ।
मन्त्रीहरूलाई निर्देशन 
अध्यक्ष ओलीले पार्टीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी र परिवर्तन ल्याउने गरी काम गर्न निर्देशन दिनुभयो । 
उहाँले भन्नुभयो– म मन्त्रीज्यूहरूलाई जनताले देख्ने गरी, अनुभव गर्ने गरी सकारात्मक काम गर्न आग्रह गर्दछु । अहिलेका चुनौतीको सामना गर्ने, अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्दछु ।
अध्यक्ष ओलीले मन्त्रीहरूलाई योजना बनाएर काममा अघि बढ्न सुझाव दिनुभयो । उहाँले आराम गर्ने बेला गर्ने तर काम गर्नुपर्ने बेलामा दायाँबायाँ गर्न नहुनेतर्फ पनि मन्त्रीहरूलाई सचेत गराउनुभयो । उहाँले देशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउनु छ भन्नुहुँदै अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न मन्त्रीहरूलाई सचेत गराउनुभयो । 
अध्यक्ष ओलीले छोटो समयमा पनि धेरै काम गर्न सकिने बताउँदै समयको महत्व बुझ्न र अधिकतम सदुपयोग गर्न निर्देशन दिनुभयो  ।
उहाँले सांसदहरूलाई सरकारको आलोचना नगर्न र सरकारका बारेमा केही भन्नुपर्ने भए आन्तरिक छलफलमा ल्याउन सजग गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले देश अफ्ठ्यारोमा पर्यो भन्ने महसुस गरी अनुचित गठबन्धन छाडेर नयाँ सत्ता साझेदारीको सही कदम चालेको अध्यक्ष ओलीले बताउनुभयो ।