१ असोज (२०८३), रौतहट । नेकपा (एमाले)की मधेश प्रदेश सभा सदस्य जैनब खातुनको निधन भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तिया निवासी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अचानक रगतमा चिनीको मात्रा बढेपछि उहाँलाई उपचारका लागि वीरगञ्ज लगिएको र उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ मधेश प्रदेश सभामा रौतहटबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको सभासद् हुनुहुन्थ्यो ।
सभासद् खातुनप्रति नेकपा (एमाले) मधेश प्रदेश सभा संसदीय दलका नेता सरोज यादव, नेकपा (एमाले) रौतहट जिल्ला अध्यक्ष सचिदानन्द साह लगायत नेताहरुले आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
