१५ साउन, (२०८१), काठमाडौं । कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा—कलाकारसँग व्यतित गर्नुभयो ।
नेकपा (एमाले) साहित्य, कला तथा संस्कृति विभागद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमिगतकालीन साथी नरेश शाक्यका दुई कृति लोकार्पण पनि गर्नुभयो ।
साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारहरूसँग खीर खाने कार्यक्रमसहित हरेक साउन १५ गते आयोजना गरिँदै आएको भेटघाटको क्रमलाई निरन्तरता दिइएकामा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गर्नुभयो ।
कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउनसक्ने प्रधानमन्त्रीले बताउनुभयो । आफूले भूमिगतकालमा ‘कालीचरण! नामबाट फुटकररूपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको प्रधानमन्त्री ओलीले सुनाउनुभयो ।
उहाँले भन्नुभयो– पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौं । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात भेँडोभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो ।
‘कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौं, शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो’, अत्यन्त कठिन परिस्थितिका विगत दिनहरूको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– आज मुलुकमा नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दुःख बिर्सनुस्, तपाईँका थुप्रै साथीहरू दायाँबायाँ छन् । एक्लो महशुस गर्नु पर्दैन । हामी साथमा छौं ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कवि तथा लेखक शाक्यलाई साहसिकरूपमा अघि बढेर साहित्य रचना गर्न हौसला प्रदान गर्नुभयो । उहाँले भन्नुभयो– लेखिएका कृतिहरू प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरू भुवरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् ।
समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरेआदिका रचना र गायनहरू सार्थक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कवि तथा लेखक शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताउनुभयो ।
नेकपा (एमाले) साहित्य, कला तथा संस्कृति विभागका प्रमुख रघुजी पन्तले कवि नरेश शाक्यका कविताहरूमा भावको उच्चरूप पाइने बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले भूमीगतकालमा सङ्घर्षपूर्ण जीवन भोगेर कवि शाक्यले साहित्य र समाजिक क्षेत्रमा योगदान दिएको बताउनुभयो । कार्यक्रममा ठूलो सङ्ख्यामा स्रष्टाहरूको उपस्थिति रहेको थियो ।