काठमाडौं । समाजमा भएका एउटै घटनाका तथ्यगत आधारहरुलाई गहिराइमा पुगेर नबुझ्दासम्म साझा सहमति बन्न सक्दैन । जब साझा सहमतिमा पुग्न सकिन्न सामाज ध्रूवीकरणतर्फ उन्मुख हुन्छ । पछिल्लो एक वर्षभित्रका घटनाक्रमहरुले समाजमा फैलाउने सन्देशहरुले समाजलाई तीब्ररुपमा विघटनतिर जबर्जस्त डोर्याउने काम भइरहेको छ ।
समाजलाई कता दिशानिर्देश गर्ने दायित्व राज्य सञ्चालकहरुको हो । यद्यपि पछिल्लो एक वर्षको भाष्य हेर्दा समाजका थुप्रै मानकहरु ध्वस्त पार्ने काम बाहेक अरु देखिँदैन । राजनीतिक असहमतिलाई विचारको प्रतिस्पर्धाबाट निकालेर व्यक्तिको चरित्रमाथिको आक्रमणमा रूपान्तरण गर्ने प्रवृत्ति बढ्दो छ ।
लोकतन्त्रमा राजनीतिक आलोचना आवश्यक हुन्छ । तर अहिले व्यक्तिगत आलोचना प्रमुख बनाइएको छ । अहिले समाजमा भने जस्तो आलोचना र चरित्रहत्या एउटै कुरा होइनन् । कुनै नेता पुरानो भएकै कारण गलत र नयाँ पुस्ताका भएकै कारण सही हुँदैनन् भन्ने विषय छायाँमा पारिँदै लगिएको छ । कथित पुस्ताको भाष्य निर्माण गरेर उदाएका नेतृत्वको हातमा मुलुक जाँदा जनजीविका, राष्ट्रिय स्वाधीनता खतरामा पर्दै गएको छ । चाड, पर्व नजिकिँदै गएको छ । तर महङ्गी बढ्दो छ । बाढी पीडित बनेका जनताको हिलाम्यै दिनचर्यामा कुनै फेरबदल आएको छैन ।
मुलुक अनेकन समस्याबाट गुज्रिराखेको छ । यद्यपि डिजिटल सञ्चारमा ‘वाह सरकार !’ भनेर तारिफ गरिएको छ । सरकारप्रति कसैले प्रश्न गर्छ भने उसको तीन पुस्ता खोजेर समाजमा पच्नै नसक्ने गाली र प्रतिक्रियाको लर्को लाग्छ । वर्तमान परिस्थितिले के देखाएको छ भने– मुलुक सकारात्मक बहसको लयमा छैन ।
समाज एकखालको सामाजिक सञ्जालको तीब्र प्रतिस्पर्धामा फसेको छ । यो प्रतिस्पर्धाले कहिलेकाहीँ विचारभन्दा व्यक्तिलाई केन्द्रमा ल्याउँछ । यसले ‘को सही भन्दा पनि खराबलाई सही ?’ भन्ने र बढी प्रभावशाली बनाएको छ ।
सामाजिक सञ्जालले नेपालको राजनीतिक सञ्चारको संरचना परिवर्तन गरिरहेको छ । पहिले राजनीतिक दलले आफ्नो सन्देश नागरिकसम्म पुर्याउँथे । जुन कुरा विचार, सिद्धान्तका आधारमा हुन्थे । अहिले नागरिकसँग केही घण्टामै सन्देश पुगेका छन् । तर गलत राजनीतिक भाष्य निर्माणका विषयहरु पुगेका छन् ।
यसले समाजलाई मुद्दामा आधारित बहसबाट गलत ध्रूवीकरणतर्फ धकेलेको छ । अहिले नागरिकले नीति, सिद्धन्त, एजेन्डाको मूल्याङ्कन गर्नुभन्दा आफू कुन समूहमा पर्छु भन्ने आधारमा सूचना ग्रहण गर्न थालेका छन् । यही कारणले सामाजिक ध्रूूवीकरणको गहिरिँदो रूप समाजमा देखिएको छ ।
अहिले देखिएका डिजिटल माध्यममा तथ्य र अफवाह, आलोचना र अपमान, राजनीतिक बहस र चरित्रहत्या छुट्याउन कठिन हुँदै गएको छ । छोटो भिडियो, उत्तेजक दृश्य र भावनात्मक भाषाले लामो तथ्यगत बहसलाई विस्थापित गरेको छ ।
जनमतले सरकार परिवर्तन हुनु वा कुनै मुख्य राजनीतिक दल कमजोर हुनु मात्र सामाजिक विघटनभित्र नपर्ला । यद्यपि पुरानो सबै खराब भनेर समाज ध्रूूबीकरण र उनीहरु सक्किए भनेर व्यवहारमा सार्वजनिक बहसले सामाजिक विघटन गहिरिँदै जान्छ । जब मानिसहरूबिच साझा नियम, साझा संस्था र साझा नैतिक सीमामाथिको विश्वास कमजोर हुन थाल्छ, त्यसपछि समाजिक मान्यताहरुप्रति आक्रमण हुन थाल्छन् । जसले समाजको धरातल कमजोर बन्छ ।
अहिले मुख्य प्रश्न पुराना भनिएका पार्टीहरुप्रति बढी छ । पुरानो राजनीतिक संरचनाको आधारहरु पार्टी, संगठन, नेता, कार्यकर्ता र भौतिक सम्पर्क । अहिलेको समय सञ्चार संरचनाको आधार हो—डिजिटल नेटवर्क, तत्काल सूचना, व्यक्तिगत अभिव्यक्ति र विकेन्द्रीकृत समूह । यसले समाजमा राजनीतिक सहभागिताको शैली परिवर्तन भइरहेको छ भन्ने हो । यसलाई दलहरुले सही ढङ्गले ग्रहण र सञ्चालन नगरे परिस्थिति र प्रविधिले झन् पछि पार्ने छ ।
समाजको प्रगति केवल सडक, भवन, प्रविधि वा आर्थिक वृद्धिले मात्र मापन हुँदैन । प्रगति भनेको संस्थागत विश्वास, नागरिक अधिकार, सामाजिक सहिष्णुता, अवसरको पहुँच र भविष्यप्रतिको आशा पनि हो । यदि नागरिकलाई भविष्यप्रति आशा छैन भने आर्थिक सूचक केही सकारात्मक भए पनि सामाजिक मनोविज्ञानमा ‘देश अगाडि बढेको छैन’ भन्ने भावना बलियो हुन्छ । अहिले कथित नयाँ भनिएकाहरुको सबैभन्दा ठुलो नकरात्मक भाष्य– ‘पुरानाले ३५ वर्षमा बिगारेर देश अगाडि बढेन’ भन्ने विकाउ भइरहेको छ ।
पछिल्लो पटक राज्य सञ्चालकहरुको व्यवहार र शैलीले राज्य र नागरिकबीचको सम्बन्धको परिभाषित पक्ष नै सङ्कटमा देखिएको अवस्था हो । संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमाथि भएको हिंसात्मक आक्रमणबाट जन्मिएको पछिल्लो राजनीतिक शक्तिप्रति गम्भीर प्रश्न जन्माउँछ– राज्यसँग असहमति व्यक्त गर्ने लोकतान्त्रिक अधिकारको सीमा कहाँ समाप्त हुन्छ र आपराधिक हिंसा कहाँबाट सुरु हुन्छ ?
यसको उत्तर भावनाबाट होइन, प्रमाण र कानुनबाट खोजिनुपर्छ । त्यसैले अन्तिम सामाजिक निष्कर्ष अनुसन्धान र प्रमाणबाटै स्थापित हुनुपर्छ ।
आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने काम भइरहेको छ । तसर्थ तथ्य, तर्क र प्रमाणका आधारमा विरोधीहरूले फैलाएका भ्रमहरू चिर्न डिजिटल क्याम्पेन (प्रविधिमैत्री प्रचार) सञ्चालन गर्न सांगठित रुपमा तल्लो तहसम्म ढिलाई गर्नु हुँदैन । जनशक्ति, सांगठनिक आधार, जनताको दुःख, सुख र जनतामा आधारित पार्टी नेकपा (एमाले) नै हो । लोकतन्त्र वापसी र समाजलाई विघटनबाट रोक्ने अभियानको नेतृत्व एमालेले नै गर्छ भन्ने मानक स्थापित गर्न पार्टीको लागि यो अवसर बन्ने छ ।
