१० मङ्सिर (२०८३), बेइजिंग,(चीन) । नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र आधुनिक प्रविधिको वास्तविक सफलता सडकको लम्बाइ वा इन्टरनेटको गतिले मात्र नभई आम मानिसको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनले मापन हुनुपर्ने बताउनुभएको छ ।
‘बेल्ट एण्ड रोडमार्फत् सम्पर्क सञ्जालको विस्तारः मानव कल्याणका लागि प्रविधि’ विषयक कार्यक्रममा सम्बोधन गर्दै नेता रिमालले भौतिक तथा डिजिटल पूर्वाधारलाई नागरिकको प्रत्यक्ष सेवा र अवसरसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
इतिहासबाट सिक्नुपर्ने पाठ
ऐतिहासिक रेशम मार्ग (सिल्क रोड)को उदाहरण दिँदै नेता रिमालले कनेक्टिभिटीको अर्थ सडक, बन्दरगाह र रेलमार्ग निर्माणमा मात्र सीमित नरहने स्पष्ट पार्नुभयो । प्राचीन रेशम मार्गले वस्तुको ओसारपसार मात्र नगरी विचार, चिकित्सा पद्धति, कला र ज्ञानको समेत आदानप्रदान गराएको स्मरण गर्दै उहाँले भन्नुभयो– सम्पर्क सञ्जालको वास्तविक महत्त्व सधैँ मानिस, अर्थतन्त्र र सभ्यताहरूलाई नजिक ल्याउने क्षमतामा निहित रहँदै आएको छ ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)ले विश्वव्यापी पूर्वाधार र डिजिटल सञ्जाल विस्तार गरिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले कनेक्टिभिटीले कति ठाउँ जोड्यो भन्दा पनि मानिसको जीवनमा कति गहिरो परिवर्तन ल्यायो भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो ।
सोच र निर्माणमा तीन रूपान्तरणको आवश्यकता
सम्पर्क सञ्जाललाई मानवताको हितमा उपयोग गर्न सोच्ने र निर्माण गर्ने तरिकामा तीनवटा मुख्य रूपान्तरण आवश्यक रहेको नेता रिमालले औँल्याउनुभयोः
स्थान होइन, मानिस जोड्ने सोचः कति किलोमिटर सडक पिच भयो वा फाइबर अप्टिक केबल कति विस्तार भयो भन्नेमा मात्र सीमित नभई परिवारले सहज स्वास्थ्य सेवा पायो कि पाएन, विद्यार्थीले गुणस्तरीय शिक्षा पायो कि पाएन र साना व्यवसायले बजार विस्तार गर्न सके कि सकेनन् भन्ने कुरालाई सफलताको मापदण्ड बनाउनुपर्ने उहाँको भनाइ थियो ।
भौगोलिक विकटताको समाधानः नेपाल र समग्र हिमाली क्षेत्रको कठिन भूगोलमा परम्परागत पूर्वाधार निर्माण खर्चिलो र समयसाध्य हुने भएकाले डिजिटल सम्पर्क जीवन बचाउने आधार बन्न सक्ने नेता रिमालले बताउनुभयो । दुर्गम गाउँमा भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट पुग्दा टेलिमेडिसिन, अनलाइन शिक्षा तथा बाढी–पहिरोजस्ता विपद्को पूर्वसूचना प्रणालीमार्फत समुदायलाई सुरक्षित राख्न सकिने उहाँले उल्लेख गर्नुभयो । साथै, सीमापार भौतिक र डिजिटल सञ्जालको विकासले नेपाललाई दक्षिण एसिया र चीनबीचको गतिशील सेतुका रूपमा स्थापित गर्न सक्ने विश्वास नेता रिमालले व्यक्त गर्नुभयो ।
परनिर्भरता होइन, आत्मनिर्भरताः प्रविधिको विकासले स्वतः सबैलाई लाभ नपुर्याउने र महँगो पहुँच वा डिजिटल सीपको अभावले धनी र गरिबबीचको खाडल बढाउन सक्नेतर्फ सचेत गराउँदै उहाँले विकासशील राष्ट्रहरू विदेशी प्रविधिका निष्क्रिय उपभोक्ता मात्र बन्न नहुने बताउनुभयो ।
उन्नत प्रविधि भएका मुलुकहरूले प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धान र स्थानीय नवप्रवर्तनमार्फत विकासशील देशको आत्मनिर्भरता निर्माणमा साझेदारी गर्नुपर्ने नेता रिमालको धारणा थियो । यसका लागि डेटा सुरक्षा, साइबर सुरक्षा, वातावरणीय जिम्मेवारी र स्थानीय स्वामित्वमार्फत सार्वजनिक विश्वास आर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
थिङ्क ट्याङ्क र अनुसन्धानकर्ताको भूमिका
ठूला पहलहरूलाई व्यावहारिक नीतिमा रूपान्तरण गर्न स्वतन्त्र अनुसन्धान, इमानदार सम्वाद र तथ्यमा आधारित विचार आवश्यक पर्ने बताउँदै नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष रिमालले अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व र थिङ्क ट्याङ्कहरूले नीति निर्माण र जनताका वास्तविक आवश्यकताबीचको दूरी कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
तीन मार्गदर्शक सिद्धान्त
मन्तव्यको अन्त्यमा नेता रिमालले आगामी दिनको प्रयासलाई मार्गदर्शन गर्न तीनवटा सिद्धान्त अघि सार्नुभएको छ— हरेक योजना र विकासको केन्द्रमा मानिसलाई राख्ने, प्रविधि हस्तान्तरणमार्फत दीर्घकालीन स्थानीय आत्मनिर्भरता निर्माण गर्ने र दिगो साझेदारीका लागि सम्वादलाई खुला तथा पारदर्शी राख्ने ।
समुदायले गुणस्तरीय सेवा पाउँदा, युवाले अवसर पाउँदा र राष्ट्रहरू आफ्नो भविष्य आफैँ निर्धारण गर्न सक्षम हुँदा मात्र ‘मानवताका लागि प्रविधि’ को वास्तविक उद्देश्य पूरा हुने उहाँको निष्कर्ष थियो ।
सम्पर्क सञ्जालकोे सफलता मानिसको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनबाट मापन हुनुपर्छः नेता रिमाल
सेयर गर्नुहोस्
