२५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको चरण लगभग सकिएको भन्दै अब राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्न पार्टीका जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ ।
आज जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै बाढी प्रभावित क्षेत्रमा खटिएका पार्टीका जनसंगठनहरू अब नियमित संगठनात्मक काममा फर्किनुपर्ने उहाँले बताउनुभयो । महासचिव पोखरेलले राहत र पुनर्स्थापनाको काम स्थानीय तहको संयोजनमा एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
भोटेकोशी बाढीले २०७२ सालको भूकम्पभन्दा पनि जटिल अवस्था सिर्जना गरेको उल्लेख गर्दै पुनर्स्थापनाको काम हचुवाका भरमा नभई योजनाबद्ध ढङ्गले अघि बढाउनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि क्षतिको वास्तविक विवरण, लागत अनुमान र आवश्यक स्रोतको सुनिश्चितता गरेर मात्रै पुनर्स्थापनाको योजना बनाउनुपर्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले एमालेका जनसंगठनका पदाधिकारी तथा सदस्यहरूले प्रभावित क्षेत्रको क्षतिको विवरण सङ्कलन गर्नुका साथै पीडित समुदायसँग प्रत्यक्ष संवाद र परामर्श गरी आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । वास्तविक पीडामा रहेका समुदायबीच पुगेर उनीहरूको दुःखमा भावनात्मक रूपमा जोडिनसमेत उहाँले आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले पार्टी पुनःनिर्माणको काममा समेत सहभागी हुने स्पष्ट पार्दै फिल्डमा प्रत्यक्ष रूपमा खटिन नसक्ने जनसंगठनहरूले पार्टीको कोषमा सहयोग रकम जम्मा गर्नुपर्ने बताउनुभयो ।
बैठकमा पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको पनि उपस्थिति थियो । जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईले बाढी प्रभावित क्षेत्रमा भइरहेका गतिविधि, संगठनात्मक गतिविधि तथा जनसंगठनको राजधानी प्रदेश गठनलगायत विषयमा जानकारी गराउनुभएको थियो ।
भट्टराईले एमालेका जनसंगठनहरू हालसम्म उद्धार तथा राहतमा केन्द्रित रहेको र अब पुनःनिर्माणको चरणमा प्रवेश गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
