detail-img

इटहरीलाई देशकै नमूना वनाउने सुब्बाको संकल्प

पूर्वकै एउटा महत्वपूर्ण केन्द्र मानिने इटहरीलाई देशकै नमूना वनाउने संकल्पका साथ एमाले इटहरीको तर्फबाट यामकुमार सुब्बा नगरप्रमुुख पदका उम्मेदवार हुनुहुन्छ । इमान्दार र स्वच्छ छविका सुव्वालाई एमालेभित्र मात्र होइन, इटहरीवासीले नै भावी मेयरका रुपमा हेरेका छन् । उहाँले इटहरीलाई डुवान, कटान र वाढीको समस्याबाट मुक्त वनाउने वताउनुभएको छ । ढल निकासका लागि एमाले नेतृत्वको स्थानीय सरकारले सुरु गरेको अर्ब भन्दा बढीको प्रोजेक्टलाई पूरा गर्ने वताउनुभयो । आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने उहाँको प्रतिवद्धता छ । मेयरसाव हैन जनताको सेवक बनेर जनताकै सल्लाह अनुसार इटहरीको विकास र समृद्धिको यात्रा अघि वढाउने सुब्बाको भनाई छ । उहाँ भन्नुहुन्छ “हामी इटहरीलाई सुशासनको नमूना वनाउछौ ।”
इटहरीको विकासका लागि दीर्घकालीन नीति वनाएर अघि वढ्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । सुविधा सम्पन्न सभाहल, आधुनिक क्रिकेटमैदान, विभिन्न ठाउँमा खुल्ला व्यायामशालासहितका पार्क बनाउने एमाले इटहरीको योजना छ । इटहरी अस्पताललाई ट्रमा सेन्टरसहितको सुविधासम्पन्न अस्पताल बनाइने प्रतिवद्धता गरिएको छ । मेयरका उम्मेदवार सुब्बा २०१५ साल भदौ २७ गते ताप्लेजुङ जिल्लाको सान्थाक्रामा जन्मनुभएको हो । उमेरले उहाँ अहिले साढे ६३ वर्ष पुग्नुभयो । पारिवारिक पृष्ठभूमि चिरपरिचित राजनीतिज्ञको रुपमा नभए पनि जुझारु स्वभावका सुब्बा कलिलै उमेरमा राजनीतितर्फ आकर्षित हुनुभएको थियो ।
के के पढ्नु भयो ?
यामकुमार सुब्बाले ताप्लेजुङको सदरमुकाम फुङ्गलिङस्थित अम्विटारमा रहेको भानुजन माध्यमिक विद्यालयबाट आधारभूत र माध्यमिक तहको अध्ययन पूरा गर्नुभयो । २०३३ सालतिर भानुस्कुलमा अध्यनरत रहँदै उहाँ कम्युनिष्ट राजनीतितर्फ आकर्षित हुनुभयो । १८ वर्षको उमेरमै सुब्बा भूमिगत राजनीतिमा संलग्न हुनुभयो । त्यसपछि उच्च शिक्षाका लागि उहाँ काठमाडौँ जानुभयो । उहाँले नेपाल ल क्याम्पसबाट वीएल गर्नुभएको छ । औपचारिक शिक्षाका समयमा मेधावि छात्रका रुपमा रहनुभएका सुब्वाले विद्यालय र पाठ्यक्रमका पुस्तक मात्रै नभएर अन्य पुस्तक पनि मिहिनढंगले अध्ययन गर्नुभएको छ । उहाँले विश्व कम्युनिष्ट आन्दोलनको प्रादुर्भाव, इतिहास, वर्तमान अवस्थाका विषयमा लेखिएका अनेकन पुस्तक, आर्थिक विकासका आयाममा परिवर्तनको खाका भएमा पुस्तक त्यहि वेला पढ्नुभयो । यति मात्रै होइन् उहाँ समसामयिक विषयमा पनि निक्कै दखल राख्नुहुन्छन् ।
४५ बर्ष लामो राजनीतिक यात्रा
उहाँको राजनीतिक यात्रा ४५ वर्ष भन्दा लामो छ । उहाँ २०३३ सालमा ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै राजनीतिमा होमिनुभएको हो । सोही विद्यालयमा हुँदा उहाँले कलिलो उमेरमा नै बामपन्थी राजनीति र राजनीतिज्ञसँग सम्बन्ध विस्तार गर्नुभयो । २०३४ सालमा काठमाडौँको नेपाल ल क्याम्पसमा अध्यनरत रहँदा अनेरास्ववियू इकाई कमिटी सदस्य हुनुभयो । त्यहाँ हुँदा उहाँले विद्यार्थी राजनीतिलाई झन् नजिकबाट नियाल्ने अवसर पाउनुभयो । जसले गर्दा उहाँलाई थप निखारता प्रदान ग¥यो । यसका साथै बामपन्थी विद्यार्थी आन्दोलनलाई पनि नजिकबाट उहाँले स्पर्श मात्रै गर्नु भएन त्यसमा भिज्ने अवसर पनि पाउनुभयो । त्यसको एक वर्षपछि अर्थात् २०३५ सालमा उहाँ नेकपा एमाले निकट जनसाँस्कृतिक उपत्यका मञ्चमा आवद्ध हुनुभयो । सोही सालमा नै उहाँले काठमाडौँको मालिगाउँमा एमाले सदस्यताको कसम खानुभएको थियो ।
२०३५ सालले उहाँलाई यति मात्रै अवसर दिएन । उहाँ २०३५ सालमा नै ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बन्नुभयो । यसले उहाँलाई कर्म जिल्ला र गृह जिल्लासँग सम्पर्कमा रहन थप सहयोग पुग्यो । जसले उहाँको राजनीतिक ‘करियर’लाई थप परिस्कृत ग¥यो । इमान्दार तर जुझारु स्वभावका सुब्बा २०३६ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय हुनुभयो ।
‘अस्कल काण्डमा’ परेर १७ दिनसम्म उहाँले प्रहरी हिरासतमा बस्नुपर्यो । पञ्चायती कालरात्रीका समयमा हिरासतमा बस्नुपर्दा उहाँले देश र जनताको मुक्तिका लागि जीवनभर लड्ने कसम खानुभयो । त्यसको दश वर्षपछि २०४६ सालको जनआन्दोलनमा नवीन जोश र उत्साहका साथ सहभागी हुनुभयो । प्रजातन्त्र स्थापनापछि २०५६ सालमा उहाँले तत्कालीन इटहरी वडा नम्बर १ को ३ नम्बर टोल कमिटीको सचिव पदमा रहेर जिम्मेवारी वहन गर्नुभयो ।
यस्तै २०५७ सालमा नै उहाँ १ नम्बर वडा कमिटी सदस्य बन्नुभयो । २०५८ सालमा उहाँ १ नम्बर वडा कमिटिको सचिव पदमा पुग्नुभयो । उहाँले यो बीचमा पार्टी र इटहरी नगरका लागि थुप्रै योगदान गर्नुभयो । उहाँले यही योगदानको उच्च कदर गर्दै पार्टीले २०६१ सालमा नगर सदस्य पद दियो । त्यसको एक वर्षमा २०६२ सालमा नै उहाँ नेकपा (एमाले) इटहरी नगर कमिटिको सचिव बन्नुभयो ।
जनआन्दोलनका कमाण्डर
कर्तब्यपथमा कहिल्यै नझुक्ने र नचुक्ने छवि वनाएका याम सुब्बा २०६२÷०६३ को जनआन्दोलनको एकजना कमाण्डर हुनुहुन्थ्यो । उहाँले संयुक्त संघर्ष समितिको सचिवको रुपमा रहेर जनआन्दोलनको नेतृत्व गर्नुभयो । सो संघर्ष समितिबाट सक्रिय रुपमा जनआन्दोलनको नेतृत्व गर्दै गर्दा उहाँ १४ दिन प्रहरी हिरासतमा पर्नुभयो । पटक–पटक हिरासतमा पर्दा उहाँको निष्ठा झन् खारिँदै गयो । २०६६ साल नेकपा (एमाले) ले इटहरी नगरमा पाँचौँ नगर अधिवेशन ग¥यो । सो अधिवेशनबाट उहाँ एमाले इटहरीको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि २०६९ सालमा छैटौँ नगर अधिवेशनबाट पुनः उहाँ नगर कमिटी अध्यक्षमा निर्वाचित हुनुभयो । २०७१ सालमा इटहरी पनि नगरपालिकाबाट उपमहानगरपालिकामा परिणात भयो । इटहरी उपमहानगरपालिकाको उहाँ २०७१ सालमा पार्टीको संयोजक बन्नुभयो । त्यसको अर्को वर्ष अर्थात् २०७२ सालमा उहाँ नेकपा (एमाले) सुनसरीको सदस्य हुनुभयो । २०७७ सालमा इटहरी उपमहानगर कमिटिको अध्यक्ष हुनुभयो । त्यसपछि २०७८ साल कात्तिक ९ गते भएको पार्टी प्रथम इटहरी उपमहानगर अधिवेशनबाट पुनः सर्वसम्मत रुपमा नगरअध्यक्षको जिम्मेवारी पाउनुभयो । उहाँ एमालेको आठौँ र नवौँ महाधिवेशन प्रतिनिधि पनि बन्नुभयो ।
सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय
आफ्नो पार्टीगत जीवनसँगै सामाजिक क्षेत्रमा पनि सुब्बाको उत्तिकै संलग्नता छ । विभिन्न संघ संस्थामा रहेर समाज सेवा गरिरहनुभएको छ । सुब्बा उद्योग वाणिज्य संघ इटहरीको सलाहकार हुनुहुन्छ । यसका साथै बुढी गंगाजमुना मुक्तिघाट समितिको पनि उहाँ सल्लाहकार हुनुहुन्छ । योसँगै उहाँ ताप्लेजुङ – सुनसरी मञ्चको हालसम्म चारकार्यकालसम्म अध्यक्ष बन्नुभएको छ । यस्तै उहाँको जन्मस्थलमा रहेको र उहाँले माध्यमिक तहसम्मको शिक्षा हासिल गरेको भानुजन माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चको सदस्य पनि हुनुहुन्छ । उहाँ अहिले स्थायी रुपमा बसोबास गरिरहेको सदावहार टोल विकास संस्थाको सल्लाहकारसमेत हुनुहुन्छ । यसका साथै उहाँ इटहरी, सुनसरी र ताप्लेजुङमा रहेका अन्य सामाजिक, परोपकारी संघ संस्थाको विभिन्न पदमा रहेर सेवा गरिरहनुभएको छ ।