१५ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा विद्रोहकालीन योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
क्यान्सर रोगबाट पीडित बस्नेतको उपचारका क्रममा निधन भएको र अध्यक्ष ओलीले दुवाकोटस्थित अस्पताल प्राङ्गणमा पुगेर कम्युनिष्ट नेता बस्नेतको पार्थिव शरीरमा पुष्पागुच्छा अर्पण गरी भावपूर्ण विदाई गर्नुभयो ।
स्व. बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीका महासचिव शंकर पोखरेल लगायत नेताहरु अस्पताल र पशुपति आर्यघाट जानुभएको थियो । दुवाकोटस्थित अस्पतालमा स्व.बस्नेतप्रति सम्मान प्रकट गर्र्दै एकमिनेट मौन धारण गरिएको थियो ।
अध्यक्ष ओलीले नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा झापा आन्दोलनका योद्धा बस्नेतको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले बस्नेतको निधनपछि श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नुभएको छ–
झापा आन्दोलनका योद्धा कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनु भएको दुःखद खबर सुनेँ । नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविष्मरणीय छ । लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गरेर आजको समाजले उपभोग गरिरहेको लोकतान्त्रिक अधिकार प्राप्त भएको हो । म ती कष्टपूर्ण दिनहरू सम्झिरहेको छु । कमरेड घनेन्द्र बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारजन, आफन्त र सहयोद्धाहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।
उहाँको सङ्घर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक सम्झना भइरहने छ ।
झापा आन्दोलनका योद्धा स्व.बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली
सेयर गर्नुहोस्
