detail-img

उपाध्यक्ष पौडेल र सचिव विश्वकर्मा  प्रतिनिधि सभा सदस्य निर्वाचित 

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 
उपाध्यक्ष पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभयो । 

सचिव विश्वकर्मा विजयी
बुटवल । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा रुपन्देहीको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 
नेता विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गर्नुभयो । उहाँ सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका  घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।
नेता विश्वकर्मा रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणामपछि सञ्चारकर्मीसँंग नेता विश्वकर्माले विकास निर्माणका बाँकी रहेका कामलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आमनागरिकले दिएको मतको कदर गर्दै गुनासो नआउने गरी काम गर्ने बताउनुभयो । 

कास्की–१ बाट गुरुङ विजयी
पोखरा । कास्की निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ विजयी हुनुभएको छ । 
नेकपा (एमाले) कास्कीका अध्यक्ष गुरुङले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका किशोरदत्त बराललाई २ हजार ५१९ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । उहाँले २५ हजार ७०८ मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी बरालले २३ हजार १८९ मत पाउनु भयो ।